जुम्ला चुनावी मैदानमा हार्दिकता र सम्मान

गाेल्डेन बुढा
जुम्ला,११ फाल्गुन।
जुम्लाको हिमा गाउँपालिका–२ स्थित मोफ्ला गाउँमा साेमबार विहान नेकपाका उम्मेदवार नरेश भण्डारी र एमालेका उम्मेदवार शान्तिलाल महतले सोमबार बिहानको चिया सँगसँगै पिए । उनीहरूले चिया मात्रै पिएनन्, एकआपसमा हार्दिकता पनि बाँडे । चुनावी अनुभव आदानप्रदान गरे । उनीहरूले एकआसपमा भोट माग्नसमेत भ्याए । उनीहरूबीचको हार्दिकता देखेर यहाँका मतदाता उत्साहित छन् भने नेता–कार्यकर्ता चकित परेका छन् ।

यसअघिका कुनै पनि चुनावमा उम्मेदवारहरूबीच यस्ता भेटघाट र सामीप्य भएको र हार्दिकता बाँडेको नदेखेको स्थानीयहरु बताउँछन्।‘बिहानको चियाको चुस्कीसँगै मिठो गफगाफ भयो,’ नरेश भण्डारीसँगै चुनावी अभियानमा खटिएका युवा जयकृष्ण जैशीले भने, ‘फरक राजनीतिक यात्रा भए पनि उम्मेदवारबीच आपसी सम्मान र सद्भावको सुन्दर झल्को देखियो । लोकतन्त्रको सुन्दरता पनि यही हो । प्रतिस्पर्धा पनि, सम्मान पनि ।’ यस्तै शनिबार बेलुकी कांग्रेस उम्मेदवार दीपबहादुर शाहीको गाउँ हिमा–५ बुअ गाउँमा प्रचारप्रसारमा पुगेका एमालेका शान्तिलाल महतले फोन गरेर शाहीसँग मत मागेका थिए । उनले भने, ‘म तपाईंको गाउँमा मत माग्न आइरहेको छु । हजुरले मत मागिदिनुपर्यो ।’ महतको यो प्रस्तावमा कांग्रेस उम्मेदवार शाहीले भनेका थिए, ‘हार्दिकताका साथ स्वागत छ दाजु ।’ उनीहरूबीच पनि पटक–पटक चियापान भइरहेको नेता–कार्यकर्ताले बताए । यस्तै जुम्लाको तिला गाउँपालिका–९ को राँसा गाउँमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धिताल र कांग्रेस उम्मेदवार दीपबहादुर शाहीबीचमा पनि हार्दिकतापूर्वक भेटघाट भयो । उनीहरूले चुनावी गतिविधि र सन्चो बिसन्चोको खबर आदानप्रदान गरे । जुम्लामा अहिले १० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरूले एकआपसमा न गालीगलौजको भाषा प्रयोग गरेका छन्, न त कुनै उम्मेदवारलाई प्रतिस्पर्धी नै ठानेका छन् । चुनावमा फरक राजनीतिक आस्था र विचार राखेर चुनावी मैदानमा होमिए पनि चुनावपछि समग्र विकासका लागि हातेमालो गर्नुपर्ने भन्दै हार्दिकता प्रदर्शन गरिरहेको उम्मेदवारहरू बताउँछन्।यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार धितालले त एमालेका उम्मेदवार शान्तिलाल महतलाई समेत प्रचारप्रसारका क्रममा भेटेर एकआपसमा शुभकामना बाँडेका छन् ।

उम्मेदवारहरूबीच भेट भएर हार्दिकता देखाएका तस्बिरहरूले सामाजिक सञ्जालमा स्थान पाइरहेका छन् । यस्ता कुराले मतदाताको साथ समेत उत्तिकै पाइरहेको उनीहरूले बताए । जुम्लामा कुनै उम्मेदवारले वाचापत्र, कुनैले प्रतिज्ञापत्र, कुनैले संकल्पपत्र त कुनैले घोषणापत्र नै निकालेर मतदाताको घरदैलोमा छन् । उनीहरूले एकआपसमा विरोध गरेर भन्दा पनि जनताका आधारभूत आवश्यकता समाधानको खाका लिएर मत मागिरहेका छन् । पहिले घरदैलोमा मात्रै सीमित उनीहरूको प्रचार यसपटक सामाजिक सञ्जालमा व्यापक बनेको छ । फरक यत्ति मात्रै हो । स्थानीय गाेपाल बुढाले यो पटक उम्मेदवारहरूबीचको प्रचारप्रसार शैली भड्किलो भन्दा पनि असाध्यै नरम र मैत्रीपूर्ण देखिएको बताए । ‘पहिले उम्मेदवारलाई नै भेटघाट गर्न कठिन हुने गरेको थियो । उम्मेदवारका समर्थकहरूबीचमा विवाद भइरहन्थ्यो । अधिकांश समर्थक त चुनाव सकिएको एक/डेढ वर्षसम्म पनि एकआपसमा बोलचाल गर्दैनथे,’ उनले भने, ‘तर यसपटक उम्मेदवारहरूबीचमा समझदारी देखिएकाले समर्थकहरूबीचमा पनि खासै कुनै विभेद देखिएको छैन ।’जुम्लामा यस पटकको निर्वाचनमा ज्ञानबहादुर शाही र नरेश भण्डारी दोहोरिने प्रयास गरिरहेका छन् । तीबाहेक अन्य आठ जना उम्मेदवार कोही पार्टीको जित दोहोर्याउने दाउमा छन् त कोही धेरै वर्षपछि पार्टीको खाता खोलेर इतिहास रच्ने प्रयासमा छन् । जे भए पनि जुम्लाको यसपटकको चुनावमा उम्मेदवारहरूको हार्दिकता, समर्थकहरूको शालिनताले निकै शान्तिपूर्ण र निष्पक्ष चुनाव हुनेमा दुइमत छैन । पहिले उम्मेदवारले नै कडा प्रतिस्पर्धी ठान्ने र शत्रुको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको भए पनि यसपटक समग्र जुम्लाबासीको हितका लागि काम गर्ने एजेन्डासहित शान्तिपूर्ण प्रचारप्रसारमा लागेको देखिएको छ । अहिले जिल्लाका ८ स्थानीय तहका ६० वटै वडामा प्रचारप्रसारको काम भइरहेको छ । गाउँमा पनि मतदाताले सबै उम्मेदवारलाई समान व्यवहार गर्ने गरेका छन् । जुनसुकै विचार र आस्था बोकेको उम्मेदवार नै किन नहोस्– उसलाई गर्ने व्यवहार पनि मतदाताको समान देखिएको छ । ‘अहिले फरक राजनीतिक विचारका साथ मैदानमा आए पनि जितेपछि सबैको नेता हुने हो,’ स्थानीय मतदाता सन्तोष याेगी भने, ‘त्यसैले हामीले पनि समान रूपमा व्यवहार गर्ने गरेका छौं ।
यो राम्रो पक्ष हो ।’ जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ छ।३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष गरी ७१ हजार ७ सय ३९ मतदाता छन्।दुई अस्थायी मतदान केन्द्रसहित जिल्लाभर १ सय ८ वटा मतदान केन्द्र तोकिएको छ। भने ८५ मतदान स्थल छन्।उक्त केन्द्रमा ६ सय ४८ जना कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





