कर्णाली हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणका लागि जुम्लामा निःशुल्क जग्गा प्राप्ति प्रक्रिया अगाडि बढ्यो

जुम्ला,११ फाल्गुन।
कर्णाली प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वतयारी केन्द्र निर्माणको लक्ष्यसहित जुम्लामा कर्णाली हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना हुने प्रक्रिया तीव्र बनेको छ। उक्त सेन्टर निर्माणका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने निर्णयसहित प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो।


जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ लोठचौर क्षेत्रमा निर्माण प्रस्तावित सेन्टरका लागि स्थानीय तीन जना जग्गाधनीले आफ्नो स्वामित्वको जग्गा निःशुल्क प्रदान गर्न मञ्जुरी दिएका छन्। प्राप्त विवरणअनुसार कुम्मर बोहोराको कि.नं. १८७ (क्षेत्रफल ०३०२० वर्गमिटर), गोरबहादुर बोहोराको कि.नं. १८४ (क्षेत्रफल ०१८५० वर्गमिटर) र लाउरो बोहोराको कि.नं. १८२ (क्षेत्रफल ०१२५० वर्गमिटर) जग्गा सेन्टर निर्माणका लागि उपलब्ध गराइने भएको हो।


जिल्ला खेलकुद विकास समिति, जुम्लाले पठाएको पत्रको आधारमा राष्ट्रिय खेलकुद परिषद्ले उक्त जग्गा परिषद्को नाममा प्राप्त गर्ने प्रक्रिया सुरु गरेको छ। परिषद्ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४ (३) अनुसार चल–अचल सम्पत्ति प्राप्त गर्न सक्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवस्तरीय निर्णय (मिति २०८२/११/०४) अनुसार आवश्यक सिफारिसका लागि युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पठाइएको थियो। मन्त्रालयले समेत मिति २०८२/११/१० को पत्रमार्फत पातारासी गाउँपालिकाको गाउँ कार्यपालिकाले निःशुल्क जग्गा उपलब्ध गराउने मञ्जुरी दिएको निर्णय संलग्न गरी स्वीकृति प्रदान गरेको छ।


यसअघि पातारासी गाउँपालिकाले च.नं. ४९४ (मिति २०८२/०८/१६) को पत्रमार्फत तथा जिल्ला खेलकुद विकास समिति, जुम्लाले च.नं. ४४ (मिति २०८२/१०/२३) को पत्रमार्फत जग्गा प्राप्तिका लागि आवश्यक सिफारिस गरिसकेका थिए। अब नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी उक्त जग्गा राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौँको नाममा पास गर्ने अन्तिम प्रक्रिया अगाडि बढ्नेछ।
कर्णालीको उच्च भू–भागमा निर्माण हुने यस हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई उच्च उचाइमा अभ्यास गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। यसले कर्णाली प्रदेशको खेलकुद विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


स्थानीय तह, जिल्ला खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा अगाडि बढेको यस पहललाई कर्णाली क्षेत्रका खेलप्रेमीहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

कर्णाली हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणका लागि जुम्लामा निःशुल्क जग्गा प्राप्ति प्रक्रिया अगाडि बढ्यो

जुम्ला चुनावी मैदानमा हार्दिकता र सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *