नेपाल पत्रकार महासंघको आग्रह: निर्वाचन रिपोर्टिङमा आचारसंहिता र स्वनियमन अनिवार्य

बाँके ,११ फाल्गुन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारहरूले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा स्वनियमनलाई उच्च प्राथमिकतामा राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभएको छ।
सितगंगा नगरपालिका–८, सातमारास्थित होटल इभरल्याणमा सोमबार आयोजित “निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता” विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बागचन्दले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको संवेदनशील चरणका रूपमा उल्लेख गर्नुभयो। उहाँले जिम्मेवार, सन्तुलित र प्रमाणमा आधारित पत्रकारिताको आवश्यकता औंल्याउँदै तथ्य पुष्टि र स्रोतको विश्वसनीयतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो।
“निर्वाचनको समयमा सूचना प्रवाह तीव्र हुन्छ, तर त्यससँगै भ्रम र दुष्प्रचार फैलिने जोखिम पनि बढ्छ,” उहाँले भन्नुभयो, “पत्रकारले तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र सन्तुलित प्रस्तुतीकरणमा कुनै सम्झौता गर्नु हुँदैन। आचारसंहिताको पालना केवल नियमको कुरा मात्र होइन, जनविश्वास जोगाउने मूल आधार हो।”

उहाँका अनुसार पछिल्ला दिनमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आएका अपुष्ट वा उत्तेजनात्मक सामग्रीले समाजलाई विभाजनतर्फ धकेल्ने खतरा बढेको देखिएको छ। “पत्रकारिता समाजलाई जोड्ने सेतु हो, फुटाउने औजार होइन,” उहाँले थप्नुभयो, “हामीले भाषा, सन्दर्भ र शीर्षक चयनमै संयम अपनाउनुपर्छ, ताकि सूचनाले शान्ति र सहअस्तित्वलाई सुदृढ बनाओस्।”
कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले वर्तमान सामाजिक–राजनीतिक परिवेशमा जेनेरेसन ‘जेन्जी’ले उठाएका सवालहरूलाई नीतिगत बहसको केन्द्रमा ल्याउन मिडियाको खबरदारी अपरिहार्य रहेको बताउनुभयो। उहाँले समावेशी र मनोवैज्ञानिक रूपमा संवेदनशील संसद निर्माणका लागि तथ्य र तर्कमा आधारित बहस आवश्यक रहेको धारणा राख्नुभयो।
“युवाको आकांक्षा र चुनौतीलाई समेट्ने विमर्शलाई सुदृढ बनाउनु नै जिम्मेवार पत्रकारिताको मार्ग हो,” पोख्रेलले भन्नुभयो, “निर्वाचन रिपोर्टिङमा प्रतिस्पर्धी राजनीतिक शक्ति र उम्मेदवारबारे समाचार तयार गर्दा समान अवसर, सन्तुलन र पारदर्शिता कायम गर्नुपर्छ।” उहाँले समाचारको ढाँचा, फोटो–भिडियोको प्रयोग र शीर्षकको भाषासमेत निष्पक्षताको कसौटीमा उभिनुपर्नेमा जोड दिँदै पत्रकारिताको विश्वसनीयता जोगाउन विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा सामाजिक सञ्जालमा फैलिने अफवाह, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट सामग्रीको व्यवस्थापनमा मिडियाको भूमिकाबारे अनुभव आदान–प्रदान गरेका थिए। सहभागीहरूले तथ्य जाँच (फ्याक्ट–चेकिङ), स्रोत प्रमाणीकरण, डिजिटल सुरक्षालगायत विषयमा व्यावहारिक अभ्यास र चुनौतीहरूबारे छलफल गरेका थिए।
कार्यक्रम उमिद बागचन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू रामराज पोख्रेल र लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन रामप्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका पदाधिकारी, १२ वटा जिल्लाका अध्यक्ष तथा स्थानीय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहजीकरण केन्द्रीय उपाध्यक्ष उमिद बागचन्द र निवर्तमान अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले गर्नुभएको थियो।
कार्यक्रमका वक्ताहरूले निष्पक्ष, सन्तुलित र जिम्मेवार पत्रकारिताले मात्र निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्न सक्ने निष्कर्ष निकाल्दै आगामी निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन सञ्चारकर्मीको भूमिका अझ जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।






