निष्प्रभावी कानूनले चुनावमा अनलाईन दुर्व्यवहार भोग्दै महिला उम्मेदवार

ओम शाही
सुर्खेत, ११ फागुन ।
कालीकोटको रास्कोट नगरपालिका–८, की यसोदा बराल यति बेला प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारमा छिन् । नेकपा एमालेकी नेतृ बराल आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छन् । चुनावको समय भएकाले बरालको फेसबुक फिडमा दिनहुँजसो राजनीतिक पोष्टहरु आइरहेका हुन्छन् ।
उनले फेसबुकमार्फत पार्टीका उम्मेदवारलाई भोट दिन आग्रह गरेकी हुन्छिन् । पार्टीले गरेका राम्रा कामको प्रचार गर्ने माध्यम उनले सामाजिक सञ्जाललाई बनाएकी छन् । बिडम्बना उनलाई फेसबुकको कमेन्ट बक्समा आउने नकरात्मक टिप्पणीले हैरानी व्यहोर्नुपर्ने बाध्यता छ । उनको वालमा आउने कमेन्ट यतिसम्मका घृणाजन्य छन्, जो परिवार तथा आफन्तले हेर्नै नसकिने खालका छन् ।
उनले स्टाटस फेसबुकमा राख्ने बित्तिकै नकरात्मक कमेन्टको वर्षा हुन थाल्छ । ‘चिन्दै नचिनेका त्यसमा पनि नक्कली एकाउण्टबाट चरित्र हत्या गर्ने, राजनीतिमा लागेकै भरमा पुरुषसँग जोडेर नानाभाती हिंसात्मक शब्दहरु प्रयोग हुने गरेका छन्, ’ उनी भन्छिन्, ‘कमेन्टमा दुर्व्यवहारजन्य शब्द लेख्नेलाई ब्लक गरेपनि फेरी अर्को नामबाट अश्लिल र नकरात्मक शब्दहरु कमेन्टमा आउँछन् ।’ परिवारका सदस्यका नजिक बसेर पढ्न नमिल्ने कमेन्टहरु आउने गरेको बताउँदै उनले कतिपय अवस्थामा परिवारका सदस्यहरुले डरको महशुस गरेर फेसबुकमा पोष्ट नगर्न दवाव दिने गरेको गुनासो गरिन ।
उनी भन्छिन्, ‘स्वतन्त्रता सबैको हुन्छ, तर सामाजिक सञ्जालमा अराजकता निकै छ । म जस्ता धेरै महिला दिदी बहिनीहरु छन् । मेरो पार्टीको अध्यक्षलाई सपोर्ट गर्न नपाइने भन्ने त हुँदैन होला नि ?’ अनावश्यक कमेन्टको बाढी आउन थालेपछि अहिले कसैलाई प्रतिक्रिया नदिने गरेको उनी बताउँछिन । नकरात्मक टिप्पणी गर्नेहरुको संख्या धेरै हुने र पहिचान गर्न झन्झट हुने हुँदा कानुनी प्रक्रियामा जानै नसकेको उनले बताइन ।
‘व्यक्तिगत विषय सामाजिक सञ्जालमै राख्न नपाउने भन्ने त हुँदैन होला नि ?’, उनि भन्छिन्, ‘बोल्ने स्वतन्त्रता छ भन्दैमा अर्काको प्रतष्ठिामाथि धावा बोल्न कसैलाई छुट छैन । उनीहरुलाई कानुन बमोजिम कारवाही हुनुर्छ ।’ उनलाई सामाजिक सञ्जालको कमेन्ट बक्समा फलानाकी श्रीमती लगायतका घृणास्पद र अपमानजन्य शब्दहरु बढी प्रयोग भएका छन् । उनले चुनाव र नेकपा एमालेलाई लक्षित गरेरका हरेक पोष्टहरुमा अधिकांशले दुर्व्यवहारजन्य शब्दहरु प्रयोग गरेको देखिन्छ । टिप्पणीकर्ताहरुले असान्दर्भिक तस्वीरसमेत व्यापक प्रयोग गरिरहेका छन् ।
यसोदा जस्तै सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ विनिता कठायत पनि छन् । जुम्लाबाट रास्वपा उम्मेदवार रहेकी कठायत एक्ली महिला उम्मेदवार हुन् । उनलाई चुनाव नजिकिदै गर्दा नकारात्मक टिप्पणीको चुनौती सामना गर्नु परेको छ । उनलाई कमेन्ट गर्नेहरुमा पुरुषको नाम भएका फेसबुक खाताहरु धेरै छन् । त्यसमा पनि नक्कली खाताहरु बढी छन् । केही समयअघि फरक सन्दर्भमा प्रयोग भएको विनिताको अभिव्यक्ति अहिले कमेन्ट बक्समा टिप्पणी गर्ने माध्यम बनेको छ ।
उनी भन्छिन्, ‘यति बेला म चुनावी प्रचारमा छु, मलाई मतदाताबाट सुभेच्छा प्राप्त भइरहेको छ । तर सामाजिक सञ्जालमा आउने नकरात्मक टिप्पणीले हैरान बनाएको छ । विहे नगरी बच्चा जन्माउनलाई केटा पठाइ दिउँ भन्दै कमेन्ट गर्छन । उनीहरुलाई लाग्छ होला तर म हतोत्साहित हुने मान्छे परिन ।’ चिनेजानेका र नक्कली एकाउण्टबाट बढी आक्रमणमा परेको गुनासो उनले गरिन ।
निर्वाचनका कारण दैनिक थेग्नै नसक्ने गरी नकरात्मक कमेन्ट आउन थालेपछि उनले स्कृनसर्ट गरेर चुनावपछि कानुनी उपचार खोज्ने बताइन । नेपाली कांग्रेसको तर्फबाट दैलेख क्षेत्र नम्बर १ को उम्मेदवार बनेकी बासना थापालाई भने अनलाईनमा खासै दुर्व्यवहार व्यहोर्नु परेको छैन । चुनावको प्रचारकै क्रममा रहेकी थापाले सामाजिक सञ्जालमा महिलामाथि अनावश्यक हिंसाजन्य शब्द प्रयोग गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारवाहीको दायरामा ल्याउन नियामक निकायले ठोस कदम चाल्नुपर्ने बताउँछिन् ।
प्रभावहिन कानुनले मौलाउँदो अराजकता
आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गएको ४ माघबाट निर्वाचन आचारसंहिता–२०८२ कार्यान्वयनमा ल्याएको छ । उक्त आचार संसिहतामा भनिएको छ, ‘सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता टिप्पणी गर्न वा गराउन हुँदैन ।’
आचारसंहितामा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख गरिएको छ । आयोगले जारी गरेको निर्वाचन आचार संहितामा महिला उम्मेदवारलाई अश्लील वा घृणित टिप्पणी गुर्न आचारसंहिताविपरित हुन्छ ।
आफुलाई निर्वाचन आचारसंहिताविपरितको व्यवहार भए निर्वाचन आयोगमा लिखित, मौखिक, सामाजिक सञ्जाल वा विद्युतीय माध्यमहरू प्रयोग गर्न सकिन्छ । त्यस्तै, आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय वा अनुगमन टोलीसमक्ष उजुरी दिन सकिने व्यवस्था छ । यसरी आएका उजुरीमा आचारसंहिता उल्लंघन भएको ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
महिलामाथि अश्लील वा घृणित टिप्पणी गर्ने कार्यमा उम्मेदवार संलग्न भए उसको उम्मेदवारी रद्द हुनुका साथै निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही हुने स्पष्ट व्यवस्था छ । तर प्रभावहिन आचारसंहिताका कारण सामाजिक सञ्जालमा अराजकता मौलाउँदै गएको छ ।
निर्वाचन आचारसंहिता मात्र होइन, साइबर अपराध र मानहानि सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन निष्प्रभावी हुँदा महिला उम्मेदवारमाथि साइबर आक्रमण छताछुल्ल बनिरहेको एमाले नेतृ बराल बताउँछिन । चुनावको समयमा होस् वा अन्य समयमा सामाजिक सञ्जाल वा प्रविधिको प्रयोग गरी महिलामाथि हुने प्रहारले उनीहरुको व्यक्तिगत, पारिवारिक र सामाजिक प्रतिष्ठामाथि गम्भीर आँच आइरहेको उनले बताइन ।
‘हामी कहाँ सामाजिक प्रयोगकर्ताहरुमा डिजिटल साक्षरता एकदमै कम देखिन्छ,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जाल सबैको साझा थलो हो, लेख्न र बोल्न पाए भन्दैमा जे पायो त्यही लेख्नेलाई कारवाही गर्ने संयत्रहरु कमजोर हुँदाको असर महिलालाई परेको छ ।’






