आठौँ उपमेयर छात्रा कपको उपाधिका लागि बालशिक्षा र त्रिभुवन भिड्ने

बाँके,९ माघ।
बाल शिक्षा माध्यमिक विद्यालय भरैया र त्रिभुवन माध्यमिक विद्यालय उपमेयर छात्रा कप अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । कोहलपुरस्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुत्रबार दुई खेल भएका थिए । सेमिफाइनल समीकरणको पहिलो खेलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षा मावि र सगरमाथा ज्ञानपुञ्ज स्कुललाई हराउँदै त्रिभुवन माध्यमिक विद्यालय फाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेल बाल शिक्षा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयबीच भएको थियो । उक्त खेलमा बाल शिक्षा मावि ६६ रनको विशाल जित निकाल्दै फाइनल प्रवेश गरेको हो । खेलमा लक्ष्मी माविले टस जितेर बालशिक्षालाई ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको बाल शिक्षाले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै १०२ रन बनायो । दोस्रो खेलमा त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा ज्ञानपुुञ्ज भिडेका थिए ।
टस जितेको सगरमाथाले पहिला ब्याटिङ गरेको थियो । जसमा सगरमाथाले १०.३ ओभरमा अलआउट हुँदै ५८ रन बनायो । त्रिभुवन माविले भने ११.१ ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनाउँदै सगरमाथालाई ६ विकेटले पराजित गरेर फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा अपराजित रहदै बाल शिक्षा मावि र त्रिभुवन माविले फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताका खेल संयोजक मदन विकका अनुसार अब प्रतियोगिताको समापन आइतबार विहान १० बजे कोहलपुर क्रिकेट मैदानमा हुनेछ ।






