नेपालगञ्ज भन्सारको ६ महिनामा ९ अर्ब ३४ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा अझै पछाडि

९, माघ २०८२
बाँके ।नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ९ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्मको अवधिमा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत मात्रै राजस्व उठेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्षका लागि भन्सारले रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । तर हालसम्म कुनै पनि महिनामा तोकिएको मासिक लक्ष्य हासिल हुन सकेको छैन । बाँकी छ महिनामा करिब ६२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती कार्यालयसामु रहेको छ ।
मासिक विवरणअनुसार साउन महिनामा रु १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् रु १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार राजस्व उठेको छ । भदौमा रु १ अर्ब ९३ करोड ६४ लाख ५४ हजार लक्ष्यमध्ये ६९.७७ प्रतिशत अर्थात् रु १ अर्ब ३५ करोड १० लाख ९ हजार सङ्कलन भएको छ । असोजमा रु १ अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्यमा ८७.८३ प्रतिशत (रु १ अर्ब ७४ करोड १६ लाख ५ हजार) राजस्व उठेको छ ।
यस्तै, कात्तिकमा रु २ अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्यमा ७२.३० प्रतिशत (रु १ अर्ब ५३ करोड ७० लाख ८२ हजार), मङ्सिरमा रु १ अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्यमा ८३.४५ प्रतिशत (रु १ अर्ब ६३ करोड ८५ लाख १० हजार) र पुसमा रु २ अर्ब ३ करोड ४५ लाख २१ हजार लक्ष्यमा रु १ अर्ब ६९ करोड ४४ लाख १३ हजार राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको थियो । त्यसबेला साउनमा ७३.६७, भदौमा ६६.६२, असोजमा ६६.९१, कात्तिकमा ७६.४४, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व उठेको थियो ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालगञ्ज भन्सारबाट रु ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार बराबरको आयात–निर्यात कारोबार भएको छ । यसमध्ये आयात रु ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार र निर्यात रु १ अर्ब ३५ करोड ८४ लाख २९ हजार बराबरको रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयात रु ३५ अर्ब २७ करोड ६५ लाख ८ हजार र निर्यात रु १ अर्ब १६ करोड ३९ लाख १२ हजार बराबरको थियो । छ महिनाको तुलनामा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र कुल व्यापार ६.९८ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
यद्यपि व्यापार घाटा भने झण्डै उस्तै अवस्थामा रहेको छ । अघिल्लो आवको पहिलो छ महिनामा ९६.७ प्रतिशत रहेको व्यापार घाटा चालु आवमा ९६.३८ प्रतिशतमा सीमित रहेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।






