समानुपातिकबाट हटाइएकी टासी ल्हाजोम: हुम्लाबाट प्रत्यक्ष उम्मेदवार, जलवायु संकटको आवाज संसदसम्म लैजाने अठोट

हुम्ला ,८ माघ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा जलवायु अभियन्ता टासी ल्हाजोम हुम्लाबाट प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्ष उम्मेदवार बनेकी छन्। पार्टीको समानुपातिक बन्दसूचीबाट नाम हटाइएपछि उनले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन्।
समानुपातिक सूचीबाट हटाइएपछि पार्टी नेतृत्वको निर्णयविरुद्ध हुम्लाका कार्यकर्ताहरू आन्दोलित बनेका थिए। उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन माग गर्दै पार्टी पंक्तिले धर्नासमेत दिएको थियो। स्थानीय दबाबकै कारण उम्मेदवारी दर्ताको दिन मात्रै पार्टीले उनलाई टिकट दिएको हो।

जलवायु परिवर्तनको मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर उठाउँदै आएकी टासी यसअघि मन्त्री बन्ने चर्चामा समेत थिइन्। तर पार्टीको आन्तरिक प्रतिस्पर्धापछि उनी समानुपातिक बन्दसूचीमा परे पनि अन्ततः सूचीबाट हटाइएकी थिइन्। त्यसपछि उनले हुम्लाबाट प्रत्यक्ष निर्वाचन लड्ने निर्णय गरेकी हुन्।
टासी ल्हाजोमको राजनीतिक यात्रा व्यक्तिगत पीडासँग गाँसिएको छ। सन् २०११ र २०१३ मा हुम्लाको हल्जी गाउँमा आएको हिमबाढी, हिमपहिरो र भेलबाढीका घटनाले उनको जीवनको बाटो नै परिवर्तन गर्‍यो। आफ्नै गाउँमा विपत्ति आए पनि राज्य र मिडियाको ध्यान नपुगेको देखेपछि उनी जलवायु अभियन्ता बनेकी थिइन्। हिमाली भेगले भोग्दै आएको जलवायु संकटलाई राज्यको मूलधारमा ल्याउने उनको अठोट हो।
लिमी उपत्यकामा जन्मिएकी टासी बाल्यकालमै शिक्षाका लागि काठमाडौं आएकी थिइन्। दिल्ली विश्वविद्यालयबाट स्नातक अध्ययन गरेकी उनले वृत्तचित्र ‘नो मोनास्ट्री, नो भिलेज’ निर्माण गर्दै हिमाली सभ्यता, संस्कृति र जलवायु संकटको कथा विश्वसामु पस्किएकी छन्। उनका अनुसार गुम्बा मात्र धार्मिक स्थल नभई हिमाली समुदायको जीवनचक्र र सभ्यताको केन्द्र हो, तर जलवायु परिवर्तनले त्यसैको अस्तित्व संकटमा परेको छ।

हिमताल विस्फोट, हिमपहिरो, बाढी र वर्षा प्रणालीको परिवर्तनले माथिल्लो हुम्ला अत्यन्त जोखिममा परेको भन्दै टासी अब संसदमार्फत नै आफ्नो भूगोलको आवाज उठाउने अठोटमा छिन्
“हिमाली भेगका मानिसहरू पीडा भोगिरहेका छन्, तर बोल्ने मञ्च छैन। अब त्यो आवाज संसदमा पुर्‍याउने समय आएकोछ,” टासीले बताइन्।
प्रत्यक्ष उम्मेदवारीसँगै टासी ल्हाजोमको अभियान अब आन्दोलनबाट प्रतिनिधित्वतर्फ मोडिएको छ। जलवायु संकट, दुर्गमको उपेक्षा र हिमाली समुदायको अस्तित्व जोगाउने मुद्दा बोकेर उनी हुम्लाबाट संघीय संसद प्रवेशको तयारीमा छिन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *