जैविक चौतारीबाट संरक्षणका सवाल, चुनौती र अवसरबारे बहस, ६ बुँदे प्रतिबद्धता जारी

 बाँके ,७ माघ।
जैविक चौतारीको माध्यमबाट जैविक विविधता संरक्षणका सवाल, चुनौती तथा अवसरबारे छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको आयोजनामा तथा डिभिजन वन कार्यालय नेपालगन्जको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका–२० राझाँमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम जैविक चौतारीमार्फत जैविक विविधताका विषयमा सरोकारवाला निकाय र स्थानीय समुदायबीच छलफल गराउने, संरक्षणका चुनौती पहिचान गर्ने तथा अवसर खोज्ने उद्देश्यले आयोजना गरिएको थियो। साथै, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका कारण देखिएका समस्या समाधानका उपायहरू खोज्न संवाद केन्द्रित गरिएको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय नेपालगन्जका वरिष्ठ वन अधिकृत सुशील सुवेदी, सब–डिभिजन वन कार्यालय राझाँका प्रमुख तोरणदेव गिरी, सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशकी सदस्य अमृता नेपाल, जिल्ला प्रतिनिधि तथा डुडुवा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
संवादपछि सहभागीहरूले जैविक विविधता संरक्षणका लागि ६ बुँदे प्रतिबद्धता जारी गरेका छन्। जारी प्रतिबद्धताअनुसार सामुदायिक वन आसपास बसोबास गर्ने व्यक्ति तथा परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन एकीकृत कोष स्थापना गर्ने पहल गर्ने, वनमा हुने आगलागी नियन्त्रणका लागि सब–डिभिजन वन कार्यालयमार्फत अग्नि नियन्त्रण सामग्री (वन बाकस) वितरण गर्ने, काठ दाउरा चोरी, अवैध निकासी तथा पैठारी रोक्न सचेतना र गस्ती बढाउने निर्णय गरिएको छ।
यस्तै, गुराँस सामुदायिक वनमा अवस्थित पर्यटकीय स्थलको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने, गुराँसपुर सामुदायिक वन अन्तर्गत नदी कटान रोक्न सम्बन्धित सामुदायिक वन समितिबाट प्रस्ताव प्राप्त भएमा आवश्यक पहल गर्ने, विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वन जमिन संरक्षणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गर्ने प्रतिबद्धता गरिएको छ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यबारे डिभिजन वन कार्यालय नेपालगन्जका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले प्रकाश पार्नुभएको थियो। झण्डै दुई घण्टासम्म चलेको संवाद कार्यक्रमको सहजीकरण बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो भने सञ्चालन बास नेपालकी सहजकर्ता ज्योती बुढाले गर्नुभएको थियो। कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो।
जैविक चौतारीबाट संरक्षणका सवाल, चुनौती र अवसरबारे बहस, ६ बुँदे प्रतिबद्धता जारी

आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी

Leave a comment

Your email address will not be published. Required fields are marked *