रास्वपाले कर्णालीबाट ‘वाचा पत्र’ सार्वजनिक गरेर दिन खोजेको सन्देश

ओम शाही
सुर्खेत, ८ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पाँच वर्षे चुनावी वाचा पत्र सार्वजनिक गरेको छ । बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाद्वरा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल र वरिष्ठ नेता बालेन्द्र साहले वाचा पत्र सार्वजनिक गरेका हुन् ।
सुदुरपश्चिम प्रदेशबाट सुरु भएको रास्वपाको चुनावी अभियानको दोस्रो दिन कर्णालीमा आएर वाचा पत्र सार्वजनिक गरिनुलाई राजनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ । २०७९ मा सञ्चारकर्म छोडेर रास्वपा जन्माएका पार्टी सभापति रवि लामिछाने वाचा पत्र सार्वजनिक समारोहमा कर्णालीका लागि बढ्ता रक्षात्मक देखिए ।
उनले पुराना दलको नाम लिएनन् तर खुलेर लोकतन्त्र जोगाउने लडाईँमा रास्वपा एक्लो उभिएको उद्घोष गरे । उनले सम्बोधनका क्रममा कर्णालीमा रोग, भोग, गरिवी र अशिक्षा व्याप्त हुनुको प्रमुख कारण नै पुराना दलको थाप्लोमा हाले । धेरै पटक अवसर पाएर पनि कर्णालीलाई आँखै अगाडि नर्क बनाउन खोजिएपछि रास्वपा जन्मिएको दावी पनि उनले गरे ।
लामिछानेले ठुला दलले लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गर्दै भने, ‘लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु पर्दैन । जनता जागेपछि लोकतन्त्र बलियो हुन्छ ।’ उनले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिए । ‘रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ, कर्णालीले हिंसात्मक द्वन्द्वको पीडा धेरै भोगिसकेको छ,’ उनले भने ।
उनले आगामी २१ फागुनको निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने अवसरका रूपमा चित्रण गरे । ‘निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो,’ उनले भने, ‘जनताले २१ गते अनुमोदन गरेर विश्वलाई देखाउनेछन् कि नेपाल अब अगाडि बढ्दैछ ।’ सभापति लामिछानेले बहुमतसहितको स्थिर सरकार आवश्यक रहेको बताउँदै रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे ।
पाँच वर्ष टिक्ने स्थायी सरकार नदिइए मुलुक फेरि अस्थिरतातर्फ जान सक्ने उनले औल्याए । उनले घण्टी चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै भने, ‘उत्तर धेरैले दिएका छन्, अब समाधान दिने समय आएको छ । पाँच वर्षको स्थिर सरकारमार्फत् देशलाई सही दिशामा लैजान हामी तयार छौँ ।’
रास्वापाले कर्णालीबाट किन वाचा पत्र सार्वजनिक गर्यो भन्ने विषयप्रति यति बेला सर्वत्र चासो बढेको छ । रास्वपाले आफ्नो वाचा पत्रको पहिलो बुँदामै राज्यको संरचना र नीतिका कारण पुस्तौंदेखि अन्याय र बहिष्करणमा परेका समुदायसँग औपचारिक रूपमा क्षमायाचना गर्ने उल्लेख गरेको छ ।
कर्णाली ऐतिहाँसिक रूपमै राज्यबाट सबैभन्दा बढी उपेक्षित र बहिष्करणमा परेको क्षेत्र भएकाले त्यहीबाट नयाँ थिति बसाल्ने सङ्कल्प गर्नुले गहिरो अर्थ राख्छ । कर्णालीबाट वाचा पत्र सार्वजनिक हुनुलाई कर्णालीमा रास्वपाको कमजोर उपस्थितीसँग पनि जोडिएको छ । गएको निर्वाचनमा रवि लामिछानेको राजनीतिक क्रेज अहिलेकै जस्तो थियो । तर, उसले कर्णालीबाट अपेक्षति मत पाउन नसकेको देखिन्छ ।
कर्णालीमा कमजोर सांगठनिक मत बढाउन रास्वपाले यो कदम लिएको हुनसक्ने बताइन्छ । कर्णालीका सहरी क्षेत्रमा रास्वपाको पक्षमा जति माहोल छ, त्यो ग्रामिण भेगमा देखिदैन । अन्य प्रदेशमा जनलहर राम्रो देखेको रास्वपाले मेहनत गरे कर्णालीबाट केही स्थानमा जित हाँसिल गर्न सकिने रणनीतिका साथ अघि बढेको देखिन्छ । रास्वपाले कर्णालीबाट जित निकाल्न सकिने क्षेत्रको रुपमा सुर्खेत–२ लाई राखेकाले पनि वाचा पत्र कर्णालीबाट सार्वजनिक भएको हुन सक्ने कतिपयको बुझाइ छ ।
प्राकृतिक सम्पदाले धनी कर्णाली सदिऔंदेखि पछाडि पारिएको तितो सत्यलाई ढाल बनाएर रास्वपाले परम्परागत राजनीतिक दलहरुको बर्चश्व तोडेर आफ्नो उपस्थिती बलियो बनाउन यस्तो रणनीति लिएको देखिन्छ । वाचा पत्र सार्वजनिक गर्ने स्थान कर्णाली रोजेपनि रास्वपाको पाँच वर्षे रोडम्यापमा भने कर्णालीको नाम कतै पनि समावेश छैन ।
कर्णालीको गहिराई रास्वपाले बुझ्छ : बालेन
वरिष्ठ नेता बालेद्र साहले आजसम्म कुनै पनि राजनीतिक नेतृत्वले कर्णालीको गहिराई बुझ्न नसकेको बताए । पार्टीद्वारा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै साहले भने, ‘देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेन,’ साहले भने, ‘त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो ।’
उनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु बिडम्बना भएको टिप्पणी गरे । कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने नीति लिइने ककउनले दावी गरे ।
सिंजा सभ्यताको संरक्षणमा जोड दिदै उनले भने, ‘सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा त्यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गरेर सभ्यता जोगाउनु भनेको इतिहास र पहिचान जोगाउनु हो ।’
उनले कर्णालीमा अझै पनि भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको विषय उठाए । कर्णालीमा गरिबीलाई भोग्ने जनता धेरै छन्, तर त्यसलाई सही रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको उनको दावी थियो । ‘कर्णालीका जनताको सपना अब हाम्रो सपना हो, रास्वपाले कर्णालीबाट परिवर्तनको यात्रा सुरु गरेको छ,’ साहले भने ।
कस्तो छ रास्वपाको वाचा पत्र ?
रास्वपाले आगामी २१ फागुनमा हुन लागेका प्रतिनिधिसभा निर्वाचनको पूवसन्ध्यामा नीतिगत रूपान्तरणका एक सय आधारहरू समेटिएको आफ्नो वाचा पत्रको नाम थिति बसाल्ने सङ्कल्प दिएको छ । दस्तावेजमा सुशासन, आर्थिक सुधार र डिजिटल क्रान्तिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
वाचा पत्रमार्फत राज्यका कारण पुस्तौंदेखि अन्याय र बहिष्करणमा परेका दलित समुदायसँग नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमार्फत औपचारिक रूपमा क्षमायाचना गरिने प्रतिबद्धता जनाइएको छ । उच्चस्तरीय भ्रष्टाचार छानबिन बनाएर २०४६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने कडा नीति लिइने रास्वापको वाचा पत्रमा उल्लेख छ ।
राज्यका निकायहरूमा दलीय भ्रातृ संगठन र ट्रेड युनियनको अन्त्य गर्ने रास्वपाको नीति छ । पार्टी प्रमुखको पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ । सरकारी सेवाहरू लाइनमा नभई अनलाइनमार्फत प्रवाह गरिने र १० वर्षभित्र सूचना प्रविधि निर्यातलाई ३० अर्ब डलर पुर्याउने लक्ष्य रास्वापको वाचा पत्रले राखेको छ ।
सात वटै प्रदेशमा डिजिटल पार्क निर्माण गरी पाँच लाख रोजगारी सिर्जना गर्ने योजना रास्वपाले अघि सारेको छ । यस्तै, आगामी पाँच वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्दै प्रतिव्यक्ति आय तीन हजार डलर नाघाउने संकल्प वाचा पत्रमा गरिएको छ ।
सहकारी र लघुवित्त क्षेत्रको समस्या समाधान गर्न एकीकृत बचत सुरक्षा कोष स्थापना गरी साना बचतकर्ताको रकम एक सय दिनभित्र फिर्ता गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री नहुने व्यवस्थाका लागि बहस पत्र तयार गरी राष्ट्रिय सहमति खोज्ने वाचा रास्वपाले गरेको छ । वाचा पत्रले नेपाललाई सम्मानजनक मध्यम–आय भएको मुलुक बनाउन जग बसाल्ने दाबी रास्वपाको छ ।






