कोहलपुरमा प्रजातन्त्र दिवसको अवसरमा जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

बाँके ,७ फाल्गुन ।
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु हुने प्रतियोगिता फागुन ११ गतेसम्म कोहलपुर खुलामञ्चमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको पुर्वसन्ध्यामा कोहलपुरको खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै कोहलपुर नगर खेलकुद विकास समिति का संयोजक चक्र चिमाला क्षेत्रीले जिल्लाभरका १३ वटा टिमबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता जिल्लास्तरमै पहिलो पटक आयोजना गरिएको हो।
संयोजक क्षेत्रीले कोहलपुरले क्रिकेट खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गरिसकेको उल्लेख गर्दै अब भलिबल खेलमार्फत पनि नयाँ पहिचान बनाउन खोजिएको बताउनुभयो। “कोहलपुरले क्रिकेटका खेलाडी उत्पादन गरेर आफ्नो छवि बनाइसकेको छ, अब भलिबलबाट पनि कोहलपुरलाई चिनाउने समय आएको छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार स्थानीय खेलाडी उत्पादन गर्ने, भलिबल खेलको विकास गर्ने र कोहलपुरलाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। आगामी दिनमा प्रदेश तथा संघस्तरीय प्रतियोगिता आयोजना गर्दै भलिबललाई अझ व्यापक बनाउने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
प्रतियोगिताका संयोजक निर्मल विष्टले खेलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जानकारी दिनुभयो। टिम सङ्ख्याका आधारमा नकआउट वा लिग कम नकआउट प्रणाली अपनाइने उहाँले बताउनुभयो।
पुरस्कारतर्फ प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। द्वितीय हुने टिमलाई ३० हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै, व्यक्तिगत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा ब्राइट लाइट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गीतापुर भलिबल क्लब कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज, रोयल ढकेरी राप्तीसोनारी, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ट्री गार्डेन रिसोर्ट बैजनाथ, राप्तीसोनारी भलिबल क्लब राप्तीसोनारी, ग्रीन पिस सेकेन्डेरी स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर, जन ज्ञान ज्योति मावि कोहलपुर, कोहलपुर नगरपालिका कर्मचारी टिम र खजुरा गाउँपालिका गरी जम्मा १३ टिमले नाम दर्ता गराएका छन्।
कोहलपुर नगरपालिका को आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समिति को सञ्चालन एवम् व्यवस्थापनमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताले कोहलपुरमा खेलकुद गतिविधि थप सक्रिय बनाउने र युवालाई खेलतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।





