मानसिक पीडादेखि पुनर्स्थापनासम्म  एक साहसी आमाको कथा

सुर्खेत, ७ फागुन ।

वीरेन्द्रनगरमा बसोबास गर्ने ३१ वर्षीया जुना २१ वर्षको उमेरमा प्रेम विवाह गरेर वैवाहिक जीवनमा बाँधिएकी थिइन् । विवाहका प्रारम्भिक वर्षहरू सामान्य रूपमा बिते पनि छोरी जन्मिएपछि सम्बन्धमा दरार देखिन थाल्यो ।

श्रीमान् घर देखि टाडा कार्यरत रहेकाले घरमा कम समय बस्ने गर्थे । छुट्टीमा घर आउँदा उनी जुनाप्रति बेवास्ता गर्ने, गालीगलौज गर्ने र कुटपिट गर्ने व्यवहार गर्न थाले । घर–गृहस्थी जोगाउने उद्देश्यले उनले धेरै कुरा सहेर सम्बन्धलाई निरन्तरता दिइरहेकी थिइन् । समयसँगै हिंसा दोहोरिँदै गयो ।

एक पटक घर आएको बेलामा  श्रीमान्ले कुटपिट गरी उनलाई बेहोस अवस्थामा छोडेर गए । सानी छोरीले छिमेकीको सहयोग मागेपछि उनलाई कर्णाली प्रदेश अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मार्फत सेवा प्रदान गरियो ।

शारीरिक चोटपटकको उपचारसँगै मनोपरामर्श गर्दा उनी गम्भीर डिप्रेसनबाट गुज्रिरहेको थाहा भयो । निरन्तर हिंसा, असुरक्षा, आर्थिक निर्भरता र सामाजिक दबाबका कारण उनी गहिरो मानसिक पीडामा थिइन् र एकपटक आत्महत्याको प्रयाससमेत गरिसकेकी थिइन् ।

अस्पतालमा सेवा लिन आएपछि पहिलो चरणमा उनको शारीरिक उपचारसँगै मनोवैज्ञानिक अवस्थाको मूल्याङ्कन गरियो । निरन्तर कुटपिट, अपमान र असुरक्षाले उनको आत्मसम्मान कमजोर बनाएको थियो । मनोपरामर्शको उद्देश्य उनको भावनात्मक स्थायित्व पुनःस्थापित गर्नु, आत्मविश्वास बढाउनु र जीवनप्रति आशा जगाउनु थियो ।

नियमित परामर्श सत्रहरूमा उनले आफ्नो पीडा खुलस्त रूपमा व्यक्त गर्न थालिन् । उनलाई मनोचिकित्सकीय सेवा प्रदान गरियो र आवश्यक औषधि तथा निरन्तर सुपरिवेक्षणमार्फत मानसिक स्वास्थ्यलाई स्थिर बनाउन सहयोग गरियो । त्यससँगै पारिवारिक परामर्शमार्फत हिंसाको प्रभाव, बालबालिकामाथिको असर र कानुनी अधिकारबारे जानकारी दिइयो ।

सम्बन्ध विच्छेद गर्न चाहना भए पनि प्रक्रियागत जटिलता र श्रीमान् सम्पर्कमा नआउने अवस्थाका कारण तत्काल निर्णय लिन कठिन थियो । त्यसैले उनको सुरक्षालाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जाल, छिमेकी र सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित वातावरण सुनिश्चित गर्ने प्रयास गरियो। यसले उनलाई एक्लोपन र असहायपनबाट केही हदसम्म मुक्त गर्‍यो। दीर्घकालीन पुनर्स्थापनाका लागि आर्थिक आत्मनिर्भरता अत्यन्त आवश्यक थियो ।

त्यसैले उनलाई आयआर्जनमूलक सीप विकासमा जोड्ने पहल गरियो । आठ दिने व्यवसाय सिकाइ तथा सञ्चालन तालिममा सहभागी गराउँदा उनको लक्ष्य स्पष्ट बन्यो आफ्नो खुट्टामा उभिने । तालिमले व्यवसाय कसरी सुरु गर्ने, बजार व्यवस्थापन, लागत नाफा गणना र ग्राहकसँग व्यवहार गर्ने सीप प्रदान गर्‍यो । यसले उनलाई ‘म पनि सक्छु’ भन्ने आत्मविश्वास दियो । त्यसपछि उन्नत सिलाइ–कटाइ तालिममार्फत प्राविधिक सीप थप सुदृढ गरियो ।

व्यवसाय सुरु गर्न आवश्यक सामग्री उपलब्ध गराइँदा उनले व्यवहारमै काम सुरु गर्न सकिन् । सुरुमा सानो स्तरबाट थालिएको काम विस्तार हुँदै गयो । आफ्नै प्रयासले आम्दानी गर्न थालेपछि उनको मानसिक अवस्था उल्लेखनीय रूपमा सुधार भयो । आर्थिक रूपमा आत्मनिर्भर बन्ने क्रमसँगै आत्मसम्मान र निर्णय क्षमतामा वृद्धि भयो । हाल उनी एक उद्यमीका रूपमा परिचित छिन् । आफ्नो व्यवसायमार्फत एक जनालाई रोजगारी दिन सफल भएकी छन् ।

यसले न केवल उनको परिवारको आर्थिक अवस्था सुधारिएको छ, बरु समाजमा उनको पहिचान र सम्मान पनि बढेको छ । उनी अब आफ्नो सानो व्यवसायलाई भविष्यमा तालिम केन्द्रका रूपमा विकास गर्ने सपना देखिरहेकी छन्, जसबाट अन्य महिलालाई पनि सीप र रोजगारीको अवसर दिन सकियोस् ।

जुनाको जीवनमा आएको परिवर्तन उल्लेखनीय छ । निरन्तर हिंसा, डिप्रेसन र आत्महत्या प्रयासको अवस्थाबाट उठेर उनी आज आत्मनिर्भर उद्यमी बनेकी छन् । उनी भन्छिन्, ‘पहिले म आफूलाई कमजोर ठान्थेँ, अहिले म आफ्ना बच्चाहरूका लागि बलियो आमा बनेकी छु ।’ लैङ्गिक हिंसा आज विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याको रूपमा रहेको छ ।

हिंसाको रोकथाम तथा प्रतिकार्यका क्षेत्रमा विभिन्न प्रयासहरू भइरहे पनि यसलाई जराबाटै उखेल्न अझै चुनौती कायम छ । यस्तो परिस्थितिमा लैङ्गिक हिंसा प्रतिकार्यको क्षेत्रमा ‘शसक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत सिएमसी नेपाल (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल) ले जुना जस्तै धेरै लैङ्गिक हिंसाबाट प्रभावित महिलाहरूलाई बहुपक्षीय सेवासँग जोडेर उनीहरूलाई आफ्नै समाजमा पुनर्स्थापित गराउँदै स्वइच्छा अनुसारको जीवन यापन गर्न सक्षम बनाउने उल्लेखनीय तथा उदाहरणीय कार्यहरू गर्दै आएको छ ।

यस केसबाट स्पष्ट हुन्छ कि बहुपक्षीय सेवा शारीरिक उपचार, मानसिक स्वास्थ्य सहयोग, सामाजिक सहजीकरण र आर्थिक सशक्तीकरण एकैसाथ जोडिँदा दिगो परिवर्तन सम्भव हुन्छ । केवल उपचारले मात्र होइन, आत्मनिर्भरता र आत्मविश्वासले जीवन रूपान्तरण हुन्छ भन्ने सन्देश यो कथाले दिन्छ । जुनाको यात्रा हामी सबैका लागि प्रेरणा हो सही समयमा समुचित सहयोग पाएमा हिंसाबाट प्रभावित महिला पनि आफ्नो जीवनलाई नयाँ दिशा दिन सक्षम हुन्छिन् ।

मानसिक पीडादेखि पुनर्स्थापनासम्म   एक साहसी आमाको कथा

बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए 

मानसिक पीडादेखि पुनर्स्थापनासम्म   एक साहसी आमाको कथा

नौ लाख उनान्चालिस हजार राजस्व असुली

Leave a comment

Your email address will not be published. Required fields are marked *