कर्णालीका १२ निर्वाचन क्षेत्रमा चुनाव: खोस्न र जोगाउँन  दलहरुबीच कडा प्रतिपर्स्धा

दिनेश बुढा

सुर्खेत, ६ फागुन । 

कर्णाली प्रदेशमा २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गर्दै चुनावमा होमिए । जसका कारण १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा २०७४ मा नेपाली कांग्रेस र २०७९ मा नेकपा एमाले बढारिए । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा २/२ र बाँकी आठ जिल्लामा १/१ वटा निर्वाचन क्षेत्र छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि २०७४ मा भएको चुनावमा १२ मध्ये ११ सिटमा उनीहरूका उम्मेदवार विजयी भएका थिए । नेपाली कांग्रेस खाली हात भएको थियो । २०७९ को निर्वाचनमा चाहिँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा कर्णालीमा एमाले बढारिएको थियो । २०७४ को चुनावमा कर्णालीमा कांग्रेसको जित शून्य हुँदा नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले समेत हार बेहोर्नुपरेको थियो । त्यस निर्वाचनमा एमालेतर्फका ६ र माओवादी केन्द्रतर्फका पाँच तथा स्वतन्त्र एक उम्मेदवारले विजयी भएका थिए । तर, माओवादीसँगको एकता भङ्ग भएपछि २०७९ को निर्वाचनमा कर्णालीमा एमालेको जित शून्य बन्यो । उक्त चुनावमा माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनसँग तालमेल गरेर अघिल्लो चुनावमा पत्तासाफ भएको कांग्रेसले पुनरागमन गर्‍यो । गत प्रतिनिधि सभा निर्वाचनमा कर्णालीका १२ सिटमध्ये गठबन्धनले ११ वटा आफ्नो पोल्टामा पर्‍यो । माओवादीले पाँच, कांग्रेसले चार र एकीकृत समाजवादीका तीन उम्मेदवारले चुनाव जिते । जुम्लामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार गोम कुँवर गौतम मात्र हारिन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले हराए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण त्यस चुनावबाट गठित प्रतिनिधि सभा विघटन भएकाले करिब २ वर्षअगावै फागुन २१ गते फेरि निर्वाचन हुँदै छ । जुन निर्वाचन कर्णालीमा रोचक हुने देखिएको छ । किनकि यसपटक विगतमा जस्तो कुनै पनि दलले गठनबन्धन गरेका छैनन् । अर्थात् एकल रूपमा चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा यसपालिको निर्वाचन विगतमा गठबन्धनबाट चुनाव जितेका नेताहरूको शक्ति परीक्षण हुने भएको छ । १२ सिटका लागि एक सय ३८ उम्मेदवार मैदानमा छन् । यी मध्ये केही उम्मेदवारहरुले अन्य दलका उम्मेदवारलाई सघाएर प्रचार–प्रसारमा जुटेका छन् ।

दलका आ–आफ्‌नै दाबी 

यस्तै, फागुन २१ गते हुने निर्वाचनमा कर्णालीमा विभिन्न क्षेत्रहरुमा फरक–फरक दलहरुबीच मुख्यप्रस्तिर्धा हुने भएको छ । आगामी निर्वाचनमा दलहरु एक्ला–एक्लै मैदानमा हुँदा कसले बाजी मार्छ यसै भन्ने सक्ने अवस्था छैन् । तर, गत निर्वाचनमा कर्णालीका १२ निर्वाचन मध्ये केही ठाउँमा मात्रै उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । जसले गर्दा एमाले, कांग्रेस र नेकपाको विगतको समिकरणमा फेरबदल गर्नेछ । रास्वपाले आफ्‌नो प्रचार शैलीलाई आक्रमण तरिकाले अगाडी बढाउँदा पुराना दलहरुलाई आफ्‌ना मत जोगाउँन मुस्किल बनिरहेको छ । त्यसैमा एमाले, कांग्रेस र नेकपा लगायतका दलमा रहेका नेताहरुले दल परिर्वतन गरेर चुनावमा होमिदा त्यसको प्रभाव पनि पुरानै दललाई पर्ने देखिन्छ । तर, नेपाली कांग्रेस र नेकपा एमाले भने १२ वटै निर्वाचन क्षेत्र जित्ने दाबी गर्छन् ।

नेपाली कांग्रेसका कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजंग शाही र नेकपा एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलाबजंग शाहले आफ्‌नो दलका उम्मेदवारले जित्ने दाबी गरे । कांग्रेस सभापति शाही कांग्रेसप्रतिको जनातको आकर्षण र जनआधार बलियो भएको बताउँछन् । ‘नेपाली कांग्रेस पुरानो, विश्वासिलो र भरिलो पार्टी हो’, सभापति शाहीले भने, ‘कर्णालीका जनताले हामीलाई अन्यको तुलनामा बढी मत दिन्छन्। नेपाली कांग्रेस कर्णालीमा सबै भन्दा बढी सिट ल्याएर पहिलो दल बन्छ ।’ नेपाली कांग्रेसले २०७९ मा बाम लोकतान्त्रि गठबन्धनको बलका जितेका चार वटा सिट जोगाउन मुस्किल पर्ने नेताहरु बताउँछन्। सुर्खेत–१ बाट पूर्णबहादुर खड्का, दुई बाट हृदयराम थानी, दैलेख–२ बाट दिक्पालकुमार शाही र मुगुबाट ऐनबहादुर शाही निर्वाचित भएका थिए ।

तर, अन्य क्षेत्रबाट कांग्रेसलाई जनताले सरप्राइज दिनेमा उम्मेदवार ढुक्क छन् । कांग्रेस स्रोतका अनुसार कर्णालीमा कममा ६ र बढीमा १० सिट जित्न सकिने आकंलन कांग्रेसको छ । सुर्खेत–१, २, दैलेख–२, डोल्पा, मुगु र हुम्ला सहज रुपमा लिएको छ भने जाजरकोट, सल्यान, दैलेख–१ र जुम्लालाई प्रतिस्पर्धाका रुपमा राखेको छ । एमाले अध्यक्ष शाहले कर्णालीमा एमालेको संगठन बलियो भएको र त्यसैमा दलहरु एक्ला–एक्लै चुनावमा होमिएको हुँदा निर्वाचन जित्न सहज हुने दाबी गरे । तर, एमाले स्रोतका अनुसार थोरैमा चार र बढीमा आठ सिट मात्रै जित्न सक्ने आकलन गरिएको छ । जसमा सुर्खेत र दैलेखका दुबै निर्वाचन क्षेत्र र कालीकोट तथा सल्यान छन् । साथै जाजरकोट, जुम्ला, मुगु र हुम्ला प्रतिस्पर्धाका रुपमा हेरिएको छ । रुकुमपश्चिमा भने एमालेले प्रगतिशील लोकतान्त्रि पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाएको छ । एमाले कर्णाली प्रदेश कमिटी प्रचार विभाग प्रमुख रमेशकुमार शाहीले कर्णाली एमालेको जनआधार बलियो भएकाले अधिकांश निर्वाचन क्षेत्रमा एमालेले जित निकाल्ने दाबी गरे । ‘हाम्रो प्रतिस्पर्धा कांग्रेस र नेकपासँग हो’, शाहीले भने ‘१० जिल्ला मध्ये १/२ बाहेक अन्यमा समानुपातिक मतमा एमाले पहिलो हो ।’ नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वनेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले १२ वटै निर्वाचन क्षेत्रहरु मध्ये नौ वटा निर्वाचन क्षेत्रमा जित सुनिश्चत भएको दाबी गरे। ‘पूर्वमाओवादीका सहकर्मी नेताहरुले कुनै असर पर्दैन । १२ मध्ये नौ निर्वाचन क्षेत्रमा नेकपाको जित हुन्छ’, मल्लले भने, ‘अन्यमा संघर्ष गरिरहेका छौँ ।’ नेकपा स्रोतका अनुसार रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दैलेख–१ र २ चुनाव जित्ने आकंलन नेकपाको छ ।

यस्तै, पछिल्लो समय कर्णाली प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको रास्वपाका कर्णाली प्रदेश समिति प्रवक्ता हरिप्रसाद अधिकारीले बताए । ‘१२ वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार मजबुत छन् । जनताले पनि मत परिर्वतन गर्न चाहेका छन्‌’, प्रवक्ता अधिकारीले भने, ‘सबै निर्वाचन क्षेत्रमा हाम्रा नेताहरु रवि लामिछाने र बालेन शाह जाने कार्यक्रम छ । यसले थप उर्जा थप्नेछ ।’ यस्तै, रास्वपा स्रोतका अनुसार कर्णालीबाट ८ निर्वाचन क्षेत्रमा चुनाव जितिने आन्तरिक आकंलन छ। त्यसमा कुन–कुन क्षेत्र भन्ने खुल्न बाँकी छ। तर, रास्वपाले सुर्खेत र दैलेखका दुई वटै निर्वाचन क्षेत्र, हुम्ला र सल्यान लगायतमा चुनाव जित्नसक्ने लिस्टमा छन्। तर, सहज भने देखिएको छैन् ।

यस्तै, यसपटक जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीचको गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गोमा गौतम (कँवर)लाई भारी मतले पराजित गरेका थिए । शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गरेका थिए । अहिले उनि पुरानै नारा लिएर चुनावी मैदानमा छन् । यसपटक पनि चुनाव जित्नेमा ढुक्क रहेको शाही निकट स्रोत बताउँछ । प्रवक्ता शाहीले कर्णालीमा तीन वटा सिटमा जित हासिल गर्न सकिने बताए । ‘जुम्लामा विगत भन्दा यसपटक मेरो पक्षमा जनआधार उर्लिएको छ । राप्रपाले कर्णालीका जुम्ला, सुर्खेत निर्वाचन क्षेत्रनम्बर–१ र सल्यान जित्ने सुचिमा छ’, शाहीले भने, ‘दैलेख–१ मा पनि हाम्रो उपस्थिति बलियो छ । सबै ठाउँमा युवा उम्मेदवारहरु हुनुहुन्छ ।’ यस्तै, रुकुमपश्चिमा प्रगतिशील लोकतान्त्रिबाट उम्मेदवार बनेका जनार्दन शर्माले विगतदेखिको जितलाई कायम राख्ने दाउमा छन् । त्यसैमा नेकपा एमालेले उनलाई सहयोग गरेको छ । यता कालीकोटमा यसपटक जनद्धयुकालका लडाकु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी मैदानमा छन् । यस पार्टीको अन्य क्षेत्रमा खासै प्रभाव नभएपनि कालीकोटमा भने पूर्वसहकर्मी नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई टक्कर दिइरकेका छन् ।

‘कर्णालीमा पूरानै दलको दबदबा’ 

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन तथा राजिनितिक विश्लेषक पीताम्बर ढकालले कर्णालीमा हालसम्मको सिनारी हेर्दा पुरानै दलको दबदबा रहेको बताए । ‘म केही समय अघि पूवी नेपालका केही जिल्लाहरुमा कामको शिलशिलामा पुगेको थिए । प्रायः सहरी क्षेत्रहरुमा रास्वपा, राप्रपा लगायतका दलहरुले प्रचार–प्रसार गरेको देखिन्छ’, ढकालले भने, ‘कर्णाली प्रदेशको सुर्खेत जिल्ला बाहेक अन्य जिल्लामा हालसम्म त्यस्तो देखिएको छैन् । कर्णालीका हिमाली जिल्लाहरुमा त पुरानै दलबरुबीच प्रतिस्पर्धा हुनेदेखिन्छ ।’ ढकालले सुर्खेत जिल्लाका दुवैवटा निर्वाचन क्षेत्रमा नेकपा एमाले, कांग्रेस, नेकपा, रास्वपा र राप्रपाबीच नै प्रस्पिर्धा हुने देखिएको बताए । उनले भने, ‘पछिल्लो समय सुर्खेतको जिल्ला चुनावी सरगर्मी हेर्दा नयाँमा उत्साह तर, पुरानै दलहरुको प्रभाव देखिन्छ ।’ साथै उनले नयाँ पिढीहरु रास्वपा भन्दै हिड्ने गरेको बताए। ‘नयाँ पिढीहरु घण्टी, रास्वापा–रास्वपा भन्ने गरेको सुनिन्छ । तर, ती भन्नेहरु कतिजनासँग मतदाता नामावलीमा नाम नभएका पनि छन् ।’ विश्लेषक ढकालले फागुन ७ गते चुनावी सभा लिएर रास्वपा नेताहरु द्धय रबि लामिछाने र बालेन शाह कर्णाली आएपछि देखिने प्रभावले थप सिनारियो बुझिने बताए । ढकालले पछिल्लो समय नागरिकमा राजनितिक चेतनाको विकास बढेको बताए। तर, उनले नेपालको विगतकोदेखिको राजनीति हेर्दा एकै दलको सदस्यले बारम्बार चुनाव जितिरहने परिस्थितिले कर्णालीमा पुनः उनै दलहरुले प्रभाव देखिनसक्ने बताए ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमा चुनाव:  खोस्न र जोगाउँन   दलहरुबीच कडा प्रतिपर्स्धा

सम्पादकीय : चुनावी सुरक्षालाई चुस्त बनाऊ !

कर्णालीका १२ निर्वाचन क्षेत्रमा चुनाव:  खोस्न र जोगाउँन   दलहरुबीच कडा प्रतिपर्स्धा

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन

Leave a comment

Your email address will not be published. Required fields are marked *