बाँकेको पूर्वी क्षेत्रमा बाघ–चितुवाको आतंक, मानव बस्ती नजिकै देखिन थालेपछि जनजीवन त्रसित

बाँके ,४ माघ।

बाँकेको पूर्वी भेगमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ। विशेषगरी बाँकेको राप्ती सोनारी गाउँपालिका र छिमेकी जिल्ला दाङसँग जोडिएका सीमावर्ती क्षेत्रमा एकैसाथ पाटेबाघ र चितुवाको चहलपहल बढेपछि बासिन्दामा त्रास फैलिएको हो।
राप्ती सोनारी गाउँपालिका–१ अन्तर्गत पर्ने कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ आसपासका मानव बस्ती नजिकै बाघ र चितुवा दिनहुँजसो देखा पर्न थालेका छन्। जंगलमा मात्र होइन, घरआँगन र खेतबारीमै हिंस्रक जनावर देखिन थालेपछि स्थानीय बासिन्दाहरू अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन समेत डराउन थालेका छन्।
केही दिनअघि मात्र राप्ती सोनारी–१ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। उक्त घटनाले शोकाकुल बनेको क्षेत्र अझै सामान्य अवस्थामा फर्किन नपाउँदै छिमेकी जिल्लाहरूमा समेत बाघको आक्रमणका घटना दोहोरिएका छन्। भण्डारीको घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने सुर्खेतको सीमावर्ती क्षेत्रमा एक जना तथा बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र सल्यानको कालिमाटी गाउँपालिकामा दुई जनाको बाघ आक्रमणबाट मृत्यु भइसकेको छ।
राप्ती सोनारी–१ बर्दापुरका स्थानीय बासिन्दा रुद्र ओलीका अनुसार अहिले गाउँ नजिकैको वन र जंगलमा बाघ र चितुवाको उपस्थिति सामान्य जस्तै भइसकेको छ।
‘दिनहुँजसो बाघ र चितुवा देखिन थालेपछि हामी निकै त्रसित छौं,’ उनले भने, ‘गाउँमै बाघ डुलिरहेको देख्दा खेतबारीमा जान वा साँझपख बाहिर निस्कन समेत डर लाग्छ।’
सम्भावित खतराबाट बच्न र वन्यजन्तुलाई टाढैबाट देख्न सकियोस् भनेर स्थानीय बासिन्दाले गाउँ वरपरका झाडी र बुट्यान सफा गर्ने अभियानसमेत चलाएका छन्। यसैगरी, राप्ती सोनारी–१ खोकरीका स्थानीय कृष्ण चौधरीले शनिबार पनि पाटेबाघ देखिएको जानकारी दिए। उनका अनुसार दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँको उत्तरतर्फ पर्ने राप्ती बगरस्थित नर्सरी क्षेत्रमा बाघ लुकेर बसेको स्थानीयले प्रत्यक्ष देखेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमिलियादेखि राप्तीपारि पर्ने उक्त क्षेत्रमा बाघको उपस्थितिले यात्रु र स्थानीय थप त्रसित बनेका छन्।
वन्यजन्तुको आतंक बढेसँगै बाँके राष्ट्रिय निकुञ्जले निगरानी तीव्र बनाएको छ। निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले स्थानीयबाट सूचना प्राप्त हुनासाथ सम्बन्धित क्षेत्रमा गस्ती र निगरानी बढाइएको जानकारी दिए।
‘मरिचमान भण्डारीको मृत्यु भएको स्थानमा क्यामेरा राखेर निगरानी गरिरहेका छौं, यद्यपि अहिले त्यहाँ बाघ देखिएको छैन,’ उनले भने, ‘तर पूर्वी क्षेत्रमा बस्ती नजिक बाघ–चितुवा आएको सूचनापछि हामीले सुरक्षा सतर्कता अझ बढाएका छौं।’
बाघ र चितुवा मानव बस्ती नजिक आउनुमा मौसम र प्रजनन समय मुख्य कारण रहेको संरक्षण अधिकृत कँडेलको विश्लेषण छ। चिसो मौसममा बाघहरू घनाजंगलभन्दा न्यानो र खुला स्थानतर्फ आउने, साथै जंगलभित्र शिकार खोज्न अल्छी मान्ने भएकाले सजिलो शिकारको खोजीमा गाउँ नजिक आइपुग्ने उनको भनाइ छ। साथै अहिले बाघको प्रजनन समय भएकाले भाले बाघहरू बढी आक्रामक हुने र जुनसुकै गतिशील वस्तुमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको उनले बताए।

बस्ती नजिकै हिंस्रक वन्यजन्तुको बाक्लो उपस्थिति देखिएकाले निकुञ्ज कार्यालयले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बिहान र बेलुकाको समयमा एक्लै हिँडडुल नगर्न, जंगलतर्फ जाँदा समूहमा जान, होहल्ला गर्दै हिँड्न र अनावश्यक रूपमा जंगल क्षेत्रमा प्रवेश नगर्न सुझाव दिइएको छ। स्थानीयलाई सचेत गराउन माइकिङ, सूचना पाटी तथा सञ्चार माध्यममार्फत निरन्तर जानकारी प्रवाह गर्ने काम भइरहेको निकुञ्जले जनाएको छ।

बाँकेको पूर्वी क्षेत्रमा बाघ–चितुवाको आतंक, मानव बस्ती नजिकै देखिन थालेपछि जनजीवन त्रसित

मान्छे खाने बाघ पक्रन वा मार्न निकुञ्जलाई

बाँकेको पूर्वी क्षेत्रमा बाघ–चितुवाको आतंक, मानव बस्ती नजिकै देखिन थालेपछि जनजीवन त्रसित

कर्णाली सरकारको बजेट खर्च ६ महिनामा १३.७४

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds