कर्णाली प्रदेश प्रहरीको १५ शय्याको अस्पताल सञ्चालनमा, नागरिकले पनि पाउने उपचार सेवा

सुर्खेत,३ माघ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पताल भवनको आज उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको संस्था भएकाले प्रहरीले सञ्चालन गरेको अस्पतालबाट प्रदान हुने सेवाले ठूलो अर्थ राख्ने बताउनुभयो।
मुख्यमन्त्री कँडेलले सुर्खेतमा पछिल्ला वर्षहरूमा जनघनत्व तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै त्यसको अनुपातमा स्वास्थ्य सेवाको विविधता र पहुँच बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपाल प्रहरीका अन्य संरचना नभए पनि स्वास्थ्यजस्तो संवेदनशील र जटिल विषयलाई ध्यानमा राखी सेवा सञ्चालन गरिएकोमा खुसी व्यक्त गर्नुभयो। यसले प्रहरीको भूमिकालाई सुरक्षामा मात्र सीमित नराखी जनस्वास्थ्यसम्म विस्तार गरेको सन्देश दिएको उहाँको भनाइ थियो।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाल प्रहरी संकटका बेला उद्धार र राहतमा मात्र नभई नागरिकको स्वास्थ्य उपचारमा समेत सक्रिय देखिनु सकारात्मक र प्रेरणादायी भएको बताउनुभयो। उहाँले प्रहरीजस्ता अनुशासित संस्थाले स्वास्थ्य सेवा क्षेत्रमा हात बढाउनु जनताको विश्वास बढाउने कार्य भएको उल्लेख गर्नुभयो।
प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधव श्रेष्ठले प्रदेश प्रहरी कार्यालय परिसरभित्र सञ्चालनमा आएको १५ शय्याको अस्पतालबाट प्रहरी कर्मचारीका साथै सर्वसाधारण नागरिकले पनि सहजै उपचार सेवा पाउने जानकारी दिनुभयो। अस्पतालमा अन्तरङ्ग विभाग, प्रयोगशाला (ल्याब), फार्मेसी, ओपिडी सेवा, माइनर अपरेसनजस्ता आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा सञ्चालन हुनेछन्।
उहाँका अनुसार यो अस्पताल कर्णाली प्रदेशका १० जिल्लामा कार्यरत बहालवाला प्रहरी, तिनका आश्रित परिवार, भूपू प्रहरी, अमर प्रहरी परिवार तथा सर्वसाधारण नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो। सीमित स्वास्थ्य पूर्वाधार रहेको कर्णालीमा प्रहरीद्वारा सञ्चालन गरिएको यो अस्पतालले नागरिकको स्वास्थ्य पहुँच सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउँदै स्वास्थ्य सेवामा समेत प्रहरीको सक्रियता देखिनुले कर्णालीमा जनसेवाको नयाँ आयाम थपिएको स्थानीयको भनाइ छ।






