सम्पादकीय : कस्तो आउला सुर्खेत–२ को नतिजा ?

आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन आउन अब १७ दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि हुन लागेको चुनावको सरगर्मी बढेको छ । दलहरुले मतपरिणाम आफ्‌नो पक्षमा पार्न मेहनत गरिरहेका छन् । यस पटकको निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–२ लाई विशेष महत्वका साथ हेरिएको छ । संघीयता अघिका संसदीय निर्वाचनहरूमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिष्पर्धा हुन्थ्यो । ती निर्वाचनहरूमा थानी र कँडेलले पालैपालो जित–हार बेहोर्दै आएका थिए ।

जब मुलुक संघीय ढाँचामा रूपान्तरण भयो, कँडेलले प्रदेशसभा रोजे भने थानी प्रतिनिधिसभातर्फ केन्द्रित भए । यसरी २०५१ सालदेखि निरन्तर चल्दै आएको यी दुई नेताबीचको चुनावी प्रतिष्पर्धा २०७४ सालमा आएर रोकियो । २०५१ सालको प्रतिनिधिसभा र २०६४ सालको संविधानसभा निर्वाचनमा कँडेल तथा २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा थानीले जित हात पारेका थिए । प्रदेशसभा सुर्खेत २ (क) बाट २०७४ र २०७९ का दुवै निर्वाचनमा कँडेल विजयी बने । एमालेका केन्द्रीय सचिवसमेत रहेका कँडेल हाल कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उता, थानीले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नवराज रावतसँग पराजय भोग्नुपरेको थियो ।

२०७९ मा भने तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थानीले एमालेका अमृत बिसीलाई पराजित गर्दै पुनः राजनीतिक कमब्याक गरे । २०५१ सालदेखि यताका सबै निर्वाचनमा समान जित–हार बेहोर्दै आएका कांग्रेस नेता थानीले यसपटकको निर्वाचनमा विश्राम लिएका छन् । यही पुस २७–२९ मा सम्पन्न पार्टीको विशेष महाधिवेशनलगत्तै विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य प्रतिकूलताका कारण यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए । विशेष महाधिवेशनमा भाग लिएका नेता नारायण कोइराला अहिले सुर्खेत–२ मा थानीको उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । कोइराला जिल्लामा लामो समयसम्म थानीकै ‘कोर टिम’मा रहेर काम गरेका नेता हुन् । कर्णाली प्रदेशको राजधानी रहेको यो क्षेत्रमा यसपटक सबै नयाँ अनुहारहरू चुनावी मैदानमा देखिएका छन् । एक पदका लागि १७ जना चुनावी मैदानमा छन् । १७ मध्य १६ जना वीरेन्द्रनगरवासी हुन् ।

यस पटकको मात्र होइन यसअघिका सबै निर्वाचनमा निर्णायक मतदाता वीरेन्द्रनगरमा छन् । यसै कारण पनि सुर्खेत–२ को नतिजा वीरेन्द्रनगरवासीकै हातमा हुने बताइन्छ । यसका कारण पनि आगामी निर्वाचनमा वीरेन्द्रनगरबाट सर्वाधिक मत पाएर पश्चिमका बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिबाट सन्तोषजनक भोट पाउने उम्मेदवार नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित । विगतका आम निर्वाचनहरूमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने गरेको छ । यहाँ कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । कांग्रेसले युवा अनुहार, बलियो संगठन र आन्तरिक एकतालाई देखाउँदै जित निकाल्ने दाउमा छ भने एमाले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाउँदै र सांगठनिक मत जोगाउँदै जित निकाल्ने रणनीतिमा छ । रास्वपाले भने पुराना दलप्रति आम जनतामा देखिएको असन्तुष्टिलाई आफ्नो आधार बनाउँदै ती दलहरूको मत तान्ने रणनीतिसहित मैदानमा उत्रिएको छ । प्रमुख दलहरुको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

सम्पादकीय : कस्तो आउला सुर्खेत–२ को नतिजा ?

जिल्ला सदरमुकाम जोडिन  तरंगावासीले पर्खिएको तीन दशक 

सम्पादकीय : कस्तो आउला सुर्खेत–२ को नतिजा ?

कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न,

Leave a comment

Your email address will not be published. Required fields are marked *