जुम्लामा सहयात्रीको चुनावी भिडन्त

गाेल्डेन बुढा
जुम्ला ,३ फाल्गुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक पहिलेका सहयात्री चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर एकसाथ राजनीतिक यात्रा गरेका व्यक्ति फरक–फरक दलबाट प्रतिस्पर्धी बनेका हुन् ।आसन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नरेश भण्डारी, मनऋषि धिताल, बिर्खबहादुर शाही र भक्तबहादुर रावल पहिले तत्कालीन नेकपा माआवादीमा आवद्ध थिए । भण्डारी नेपाल कम्युनिष्ट पार्टी, धिताल प्रगतिशील लोकतान्त्रिक पार्टी, शाही नेकपा माओवादी र भक्तबहादुर रावल स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । चारै जना तत्कालीन माओवादी सशस्त्र युद्धका बेला एउटै मोर्चामा रहेका थिए ।कुनै बेला एकबद्ध उनीहरु अहिले फरक दल र चिन्हका साथ निर्वाचनमा होमिदा जिल्लाको चुनावी माहोल रोचक बनेको छ । मुलुकमा सशस्त्र युद्धका बेला एउटै राजनीतिक लक्ष्य साथ ‘भूमिगत’ जीवन बिताएका उनीहरूबीच अहिले चर्को ध्रुवीकरण देखिएको छ ।
चारै जना अहिले जिल्लामा भोट माग्न व्यस्त छन् ।नरेश भण्डारीले सशस्त्र युद्धकालीन राजनीतिक अनुभव र आफूले गरेका विकासका कामको आधारमा चुनाव जित्ने दाबी गरेका छन । विकास र सुशासनको एजेण्डालाई प्राथमिकतामा राखेको उनले बताए । जनताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। ‘यो निर्वाचनमा हामी अत्यधिक बहुमतका साथ विजयी हुन्छौं,’ भण्डारीले भने, ‘जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्र प्रश्न हो।’ भण्डारीले आफू र आफ्नो पार्टीको भूमिका यहाँका नागरिकलाई राम्रोसँग थाहा रहेको दाबी गरे। ‘जुम्लाका जनता गफ होइन, काम गर्ने उम्मेदवार खोजिरहेका छन्,’ उनले थपे।राेगी पठाउने जुम्लाले डाक्टर उत्पादन गरिरहेको छ। हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्याेैँ, जुम्लाको दुर्गम पातारासीमा चुकेनी जलविद्युत आयोजनाबाट उत्पादन भएको ९ सय ९८ किलोवाट बिजुलीले सदरमुकामसहित धेरै गाउँहरूमा बत्ती बलेका छन्। उनलेे भने, कर्णाली खस संस्कृतिको मुहान र नेपाली भाषाको उद्गमस्थल भएकाले सांस्कृतिक राजधानीको बहस सुरु गर्नुपर्नेमा उनी जोड दिन्छन्। सिंजा सभ्यता विकास प्रतिष्ठान सम्बन्धी विधेयक अघि बढाउने प्रतिबद्धता, तिला नदीमा प्रस्तावित ७२ मेघावाट जलविद्युत आयोजना, कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ अघि बढिरहेको छ। कर्णाली केन्द्रित संरचनागत विकास, यी सबै उनका राजनीतिक दाबी हुन्।अरु उम्मेदवार भन्दा नरेश जुम्लाका जनताको लागि बिकास प्रेमी र राजनीतिज्ञ मानिन्छन्। २०७४ मा उनी कर्णाली प्रदेशका कानुन मन्त्री बनेका थिए।मनऋषी धितालले परिवर्तनका अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई वैकल्पिक शक्तिका रुपमा हेर्न आग्रह गरिरहेका छन् । नीति निर्माणदेखि विकासका काममा दत्तचित्त भएर लाग्ने प्रर घरदैलोमा छन् ।असली माओवादी विचारधाराको प्रतिनिधि आफू भएको दाबी गर्दै नेकपा माओवादीका शाही भोट माग्न व्यस्त छन् । तत्कालीन सशस्त्र युद्धका सहिद, घाइते र बेपत्ता परिवारको मन जीत्ने कसरतमा उनी देखिन्छन् । सशस्त्र बिद्रोहका आदर्श, त्याग र बलिदानलाई संस्थागत गर्नुपर्ने भन्दै विगतका उपलब्धि संरक्षण गर्दै जनतामुखी कार्यक्रममार्फत पुनः संगठनलाई मजबुत बनाउने अभियान खाँचो रहेको बताइरहेका छन् ।स्वतन्त्र उम्मेदवार रावल सशस्त्र बिद्रोहको पृष्ठभूमि भए पनि कुनै दलसँग आबद्ध छैनन् । दलगत स्वार्थभन्दा माथि उठेर विकास र सुशासनका मुद्दा उठाउने वाचा गरिरहेका छन् । कृषि र विकास निर्माण र रोजगार प्राथमिकतामा रहेको उनले बताए ।२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा भण्डारी विजयी भएका थिए । बाँकी तीन जनाले भण्डारीलाई जिताउन भूमिका खेलेका थिए । २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र युद्धले मुलुकको राजनीतिक संरचनामा ठूलो परिवर्तन ल्याएको उनीहरुको भनाई छ । शान्ति प्रक्रिया हुँदै माओवादी मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको थियो ।यसपटक जिल्लामा २०७९ मा विजयी राप्रपाका ज्ञानबहादुर शाही फेरि उम्मेदवार बनेका छन् । कांग्रेसका दीपबहादुर शाही, एमालेका शान्तिलाल महत पनि चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायत मतदाता रिझाउने प्रयास गरिरहेकी छन् । नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही उम्मेदवार छन्।२०७९ काे संघीय निर्वाचनकाे मत परिणाम हेर्दा जुम्लामा प्रत्यक्षतर्फ राप्रपाका ज्ञानेन्द्र बहादुर (ज्ञानेन्द्र )शाहीले २२ हजार ८ सय १९ मत, यस्तै तत्कालीन माओवादी केन्द्र पार्टीका गाेमा गाैतम (कुँवर) ले ११ हजार ९ सय ५९, माओवादी, काङ्ग्रेस र समाजबादीकाे गठबन्धन थियो। नेकपा एमाले रतननाथ याेगीले ६ हजार ५ सय २९, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९ सय ५५ र स्वतन्त्र उम्मेदवार डाक्टर कल बहादुर राेकायाले ५ सय ४५ मत प्राप्त गरेका थिए। भने समानुपातिकतर्फ एमाले १० हजार ५ सय ४८, नेपाली काङ्ग्रेस १० हजार ४ सय ७६, माओवादी ८ हजार ९ सय ६०, राप्रपा ५ हजार ७ सय ९६, एकीकृत समाजबादी २ हजार ६ सय ४८, नेमकिपा २ हजार ७३ र रास्वपाले ८ सय ९९ मत छ।यता जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा ७१ हजार ७ सय ३९ जना मतदाता रहेका छज् । जसमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ जना पुरुष मतदाता रहेका छन् । जसमध्ये हिमा गाउँपालिकामा कुल ६ हजार ६ सय ९५ मतदाता रहेका छन्। जसमध्ये ३ हजार ५ सय ९ पुरुष र ३ हजार १ सय ८६ महिला छन्। सिंजा गाउँपालिकामा कुल ८ हजार ४ सय ७७ मतदाता छन्।
जसमध्ये ४ हजार ५ सय ३८ पुरुष र ३ हजार ९ सय ३९ महिला मतदाता रहेका छन्। कनकासुन्दरी गाउँपालिकामा कुल मतदाता संख्या ९ हजार ४ सय ४१ रहेको छ। जसमा महिला ४ हजार ३ सय ७६ र पुरुष ५ हजार ६५ जना छन्। गुठिचौर गाउँपालिकामा कुल ६ हजार ९ सय ४३ मतदाता रहेका छन्। जसमध्ये महिला ३ हजार ३ सय २७ र पुरुष ३ हजार ६ सय १६ जना छन्। एक मात्र चन्दननाथ नगरपालिकामा कुल मतदाता संख्या १२ हजार ९ सय ४१ जना छ।






