जुम्लाका १ सय ८ मतदान केन्द्रमा ६ सय ४८ कर्मचारी परिचालन

गाेल्डेन बुढा
जुम्ला ,३ फाल्गुन ।
जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने ६ सय ५४ जना कर्मचारीमध्ये ६ सय ४८ जनालाई आजै मतदान केन्द्रमा खटाइएको हो।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तका अनुसार जिल्लाका १ सय १० वटा मतदान केन्द्रमध्ये १ सय ८ वटा केन्द्रमा आज कर्मचारी खटाइएको छ। ती केन्द्रका लागि १ सय ८ जना मतदान अधिकृत, १ सय ८ जना सहायक मतदान अधिकृत, १ सय ८ जना सहयोगी तथा ३ सय २४ जना अन्य कर्मचारी खटाइएको उनले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत पन्तका अनुसार कर्मचारी खटन–पटन समानुपातिक र पारदर्शी ढंगले गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुईवटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको छ।
यस पटक मतदान केन्द्रमा १ सय १८ जना अर्थात् १८ दशमलव २० प्रतिशत महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत पन्तका अनुसार ७ जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृत तथा कार्यालय सहयोगीसहित अन्य ८५ जना महिला गरी कुल १ सय १८ जना महिला कर्मचारी खटिएका छन्।
जिल्लाको एक मतदान केन्द्र चन्दननाथ माध्यमिक विद्यालयमा रहेको केन्द्रमा भने पूर्ण रूपमा महिला कर्मचारीको टोली खटाइएको छ। सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार उक्त केन्द्रमा मतदान अधिकृत सुर्खेत–जुम्ला उच्च अदालतकी शाखा अधिकृत शुसिला पाण्डे र सहयोग मतदान अधिकृत डिभिजन वन कार्यालयकी बिस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटिएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय कर्मचारीलाई आफ्नै मतदान केन्द्रभन्दा टाढा खटाइएको छ। कर्मचारीलाई दुर्गम क्षेत्र र दूरी (किलोमिटर) का आधारमा सेवा सुविधा उपलब्ध गराइने जनाइएको छ। यसले न्यायोचित हुने मुख्य निर्वाचन अधिकृत कार्यालयको भनाइ छ।
यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले जानकारी दिए। कर्मचारी खटन–पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले १ हजार ४ सय ९९ जना कर्मचारी छनोट गरी पठाएको थियो, जसमा ६ सय ५४ जना कर्मचारी खटाइने छन्।






