बाँकेमा ५६ उम्मेदवारमध्ये आठ जनाले मात्रै खोले छुट्टै बैंक खाता, आचारसंहिता अनुगमन समितिको चासो

बाँके ,३ फाल्गुन ।
बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवारी दिएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेको पाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनअनुसार निर्वाचन क्षेत्र नं. १ मा चार जना, क्षेत्र नं. २ मा दुई जना र क्षेत्र नं. ३ मा दुई जना उम्मेदवारले मात्र अलग बैंक खाता सञ्चालनमा ल्याएका छन्।
निर्वाचन आचारसंहिताअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आम्दानी तथा खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ। व्यक्तिगत वा अन्य कुनै खाताबाट निर्वाचन खर्च गर्न नपाइने स्पष्ट प्रावधान भए पनि अधिकांश उम्मेदवारले हालसम्म सो व्यवस्था कार्यान्वयन नगरेको देखिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेको जानकारी दिनुभयो। “बैंकमा खाता नखोलेका उम्मेदवारलाई पटक–पटक आग्रह र ताकेता गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार उम्मेदवारको नाम, सम्बन्धित राजनीतिक दल, निर्वाचन क्षेत्र तथा बैंक र शाखाको विवरणसहितको प्रतिवेदन तयार गरी निर्वाचन आयोग मा पठाइएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए–नभएको विषयमा नियमित अनुगमन भइरहेको उहाँले बताउनुभयो।
अनुगमन समितिले निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न र सही लेखाजोखा राख्न छुट्टै बैंक खाता अनिवार्य गरिएको जनाएको छ। यस व्यवस्थाले निर्वाचन खर्चलाई व्यवस्थित बनाउन, कालोधनको प्रयोग न्यूनीकरण गर्न तथा स्वच्छ र समान प्रतिस्पर्धा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय सरोकारवालाहरूले पनि आचारसंहिताको कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार निर्वाचन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन उम्मेदवार स्वयं जिम्मेवार बन्न आवश्यक छ।
निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताको पालना र वित्तीय अनुशासनबारे सरोकारवालाको ध्यान केन्द्रित भएको छ। बाँकेमा अधिकांश उम्मेदवारले अझै छुट्टै खाता नखोलेको अवस्थाले निर्वाचन व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठाएको छ। अब बाँकी उम्मेदवारले तोकिएको नियमअनुसार छिट्टै खाता खोल्ने कि नखोल्ने भन्ने विषयमा चासो बढेको छ।





