बदर मत घटाउने लक्ष्यसहित बाँकेका सबै वडामा मतदाता शिक्षा अभियान सुरु

बाँके ,३ फाल्गुन।

।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका सबै स्थानीय तहमा मतदाता शिक्षा अभियान सुरु गरिएको छ। मतदाता सचेतना अभिवृद्धि र बदर मत न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका आठवटै स्थानीय तहका अधिकृत तहका कर्मचारीलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार प्रत्येक स्थानीय तहबाट एक–एक जना गरी आठ अधिकृत कर्मचारीलाई तालिम दिइएको हो। तालिम प्राप्त अधिकृतहरूले आफ्ना–आफ्ना पालिकामा स्वयंसेवकलाई प्रशिक्षण दिन सुरु गरिसकेका छन्। केही पालिकामा स्वयंसेवक तालिम सम्पन्न भइसकेको छ भने केहीमा आजै सम्पन्न हुने जानकारी उहाँले दिनुभयो। आइतबारदेखि औपचारिक रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
बाँके जिल्लामा रहेका ८१ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ। जिल्लाको नेपालगन्ज उपमहानगरपालिका मा २३ वडा, कोहलपुर नगरपालिका मा १५ वडा, राप्तीसोनारी गाउँपालिका मा ९ वडा, नरैनापुर गाउँपालिका मा ६ वडा, डुडुवा गाउँपालिका मा ६ वडा, जानकी गाउँपालिका मा ६ वडा, बैजनाथ गाउँपालिका मा ८ वडा र खजुरा गाउँपालिका मा ८ वडा रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्वयंसेवकहरूले गाउँ–बस्तीमा पुगेर नमूना मतपत्रमार्फत सही तरिकाले मत सङ्केत गर्ने, मतदान गर्दा आवश्यक कागजात मिलाएर लैजाने, मतपत्रमा हुने सामान्य त्रुटिबारे जानकारी दिने लगायतका विषयमा प्रशिक्षण दिनेछन्। “यस कार्यक्रमको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,” जिल्ला निर्वाचन अधिकारी शाहीले भन्नुभयो। मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ रहेको छ। जिल्लामा १३९ मतदान केन्द्र र ४०० मतदान स्थल निर्धारण गरिएको छ। साथै, हालसम्म दुई हजार ३३८ जना अस्थायी मतदाता दर्ता भइसकेका छन्।
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन मतदाता शिक्षा महत्त्वपूर्ण आधार मानिन्छ। विशेषगरी पछिल्ला निर्वाचनहरूमा बदर मतको सङ्ख्या उल्लेख्य देखिएपछि यसपटक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी गराएर सहभागिता र मतको वैधता दुवै सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

बदर मत घटाउने लक्ष्यसहित बाँकेका सबै वडामा मतदाता शिक्षा अभियान सुरु

बाँकेमा ५६ उम्मेदवारमध्ये आठ जनाले मात्रै खोले

Leave a comment

Your email address will not be published. Required fields are marked *