प्रतिनिधिसभा सदस्य निर्वाचन सुर्खेत क्षेत्र नम्बर २ मा कस्ले मार्ला बाजी ?

ओम शाही
सुर्खेत, ३ फागुन ।
संघीयता अघिका संसदीय निर्वाचनहरूमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिष्पर्धा हुने गर्दथ्यो । ती निर्वाचनहरूमा थानी र कँडेलले पालैपालो जित–हार बेहोर्दै आएका थिए । जब मुलुक संघीय ढाँचामा रूपान्तरण भयो, कँडेलले प्रदेशसभा रोजे भने थानी प्रतिनिधिसभातर्फ केन्द्रित भए ।
यसरी २०५१ सालदेखि निरन्तर चल्दै आएको यी दुई नेताबीचको चुनावी प्रतिष्पर्धा २०७४ सालमा आएर रोकियो । संघीय पुनर्संरचनाका कारण यसअघिको सुर्खेत क्षेत्र नम्बर ३ पनि क्षेत्र नम्बर २ मै गाभियो । पुनर्संरचनापछि वीरेन्द्रनगर नगरपालिकाका (१५ र १६ बाहेक) १४ वडा, पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका क्षेत्र नम्बर २ मा समेटिए ।
२०५१ सालको प्रतिनिधिसभा र २०६४ सालको संविधानसभा निर्वाचनमा कँडेल तथा २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा थानीले जित हात पारेका थिए । प्रदेशसभा सुर्खेत २ (क) बाट २०७४ र २०७९ का दुवै निर्वाचनमा कँडेल विजयी बने । एमालेका केन्द्रीय सचिवसमेत रहेका कँडेल हाल कर्णाली प्रदेशको मुख्यमन्त्री छन् ।
उता, थानीले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नवराज रावतसँग पराजय भोग्नुपरेको थियो । २०७९ मा भने तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थानीले एमालेका अमृत बिसीलाई पराजित गर्दै पुनः राजनीतिक कमब्याक गरे ।
२०५१ सालदेखि यताका सबै निर्वाचनमा समान जित–हार बेहोर्दै आएका कांग्रेस नेता थानीले यसपटकको निर्वाचनमा विश्राम लिएका छन् । यही पुस २७–२९ मा सम्पन्न पार्टीको विशेष महाधिवेशनलगत्तै विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य प्रतिकूलताका कारण यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
उनी विशेष महाधिवेशनमा नेता शेखर कोइराला पक्षमा थिए । तर जिल्लामा थानी समूहमा रहेका नेताहरू भने महाधिवेशनमा सहभागी भएका थिए । पछिल्लोपटक थानी समूहका भनेर चिनिएका जानकी सिंह र तिर्थजंग शाही केन्द्रीय सदस्य बने । विशेष महाधिवेशनमा भाग लिएका नेता नारायण कोइराला अहिले सुर्खेत–२ मा थानीको उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । कोइराला जिल्लामा लामो समयसम्म थानीकै ‘कोर टिम’मा रहेर काम गरेका नेता हुन् ।
कर्णाली प्रदेशको राजधानी रहेको यो क्षेत्रमा यसपटक सबै नयाँ अनुहारहरू चुनावी मैदानमा देखिएका छन् । कांग्रेसका नारायण कोइरालासँगै एमालेका कुलमणि देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का झकबहादुर मल्ल (सुदीप), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीसहित १७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
राप्रपाका पुरीबाहेक आगामी निर्वाचनका लागि उम्मेदवार बनेकाहरु वीरेन्द्रनगरवासी हुन् । यस पटकको मात्र होइन यसअघिका सबै निर्वाचनमा निर्णायक मतदाता वीरेन्द्रनगरमा छन् । यसै कारण पनि सुर्खेत–२ को नतिजा वीरेन्द्रनगरवासीकै हातमा हुने बताइन्छ । यसका कारण पनि आगामी निर्वाचनमा वीरेन्द्रनगरबाट सर्वाधिक मत पाएर पश्चिमका बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिबाट सन्तोषजनक भोट पाउने उम्मेदवार नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित ।
कांग्रेस उम्मेदवार कोइराला वीरेन्द्रनगरस्थित रेडियो भेरीका अध्यक्ष हुन् । उनीसँग सुर्खेत उपत्यका विकास समितिको अध्यक्ष भएर काम गरेको अनुभव छ । पार्टी राजनीतिमा भने उनले क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेको अनुभव छ । एमाले उम्मेदवार देवकोटा पार्टीको जिल्ला अध्यक्ष हुन् । उनी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् ।
नेकपाका उम्मेदवार मल्ल पार्टीका केन्द्रीय सदस्य हुन् । उनी सशस्त्र युद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय थिए । त्यस्तै रास्वपा उम्मेदवार सापकोटा यातायात व्यवसायी हुन् । उनी काँक्रेविहार यातायात प्रालिका अध्यक्षसमेत हुन् । रास्वपामा आवद्ध हुनुअघि उनी कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए । राप्रपा उम्मेदवार पुरी पार्टीका जिल्ला अध्यक्ष हुन् ।
विगतका आम निर्वाचनहरूमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने गरेको छ । यहाँ कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । कांग्रेसले युवा अनुहार, बलियो संगठन र आन्तरिक एकतालाई देखाउँदै जित निकाल्ने दाउमा छ भने एमाले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाउँदै र सांगठनिक मत जोगाउँदै जित निकाल्ने रणनीतिमा छ ।
रास्वपाले भने पुराना दलप्रति आम जनतामा देखिएको असन्तुष्टिलाई आफ्नो आधार बनाउँदै ती दलहरूको मत तान्ने रणनीतिसहित मैदानमा उत्रिएको छ । उम्मेदवारहरु घरदैलो, कार्यकर्ता भेटघाटसहित चुनावी रणनीति बनाउन जुटेका छन् । प्रमुख दलहरुको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
गएको निर्वाचनमा कांग्रेस–माओवादी गठवन्धन हुँदा कांग्रेसका हृदयराम थानीसँग एमालेका अमृतबहादुर बुढाक्षेत्री पाँच हजार मतान्तरले पराजित बनेका थिए । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्दा एमालेका बुढाक्षेत्रीले २९ हजार पाँच सय ५८ मत पाएका थिए । त्यस्तै, गएको निर्वाचनबाट अस्तित्वमा आएको रास्वपाका टेकबहादुर चुनाराले चार हजार ६ सय एक मत प्राप्त गरेका थिए । गत निर्वाचनमा सुर्खेत–२ बाट २५ हजार ८६ समानुपातिक मतका साथ एमाले पहिलो स्थानमा छ ।
दोस्रोमा रहेका कांग्रेसले २३ हजार १० समानुपातिक मत प्राप्त गर्दा तत्कालिन नेकपा माओवादी केन्द्रको १० हजार ५९ समानुपाति मत छ । अघिल्लो निर्वाचनमा रास्वपाको समानुपातिक मत ६ हजार एक सय ४६ रहदा राप्रपाको तीन हजार नौ सय ७५ छ । रास्वपाले गएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ पाएको मतका आधारमा सुर्खेत–२ लाई जित निकाल्न सकिने क्षेत्रमा राखेको छ ।
कर्णालीका अन्य जिल्लामा सांगठनिकरुपमा कमजोर रहेको रास्वपाले सुर्खेतमा कांग्रेस–एमालेलाई ठुलो चुनौती दिने विश्लेषण भइरहेको छ । रास्वापा उम्मेदवार पूर्वकांग्रेस पृष्ठभूमिका रहदा आफ्ना सांगठनिक भोट जोगाउन सके एमालेलाई फाइदा हुने निश्चित छ । यस क्षेत्रमा ७२ हजार मतदाता छन् ।






