संस्कृति संरक्षणमा थारु समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ,२९ पुस।
यहाँ पछिल्लो समय थारु जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।

जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै मेला, महोत्सवहरूमा थारु जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यहरूमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुट्नुभएको छ । माघ सांस्कृतिक कार्यक्रममा उहाँ आफ्नै मौलिक पोसाकमा भेटिनुभयो । उहाँले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताउनुहुन्छ ।
आफ्नो मौलिक पहिचानका रूपमा रहेका थारु वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले थारुको पहिचानका रूपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरू नाच्न पनि सिक्नुभएको छ । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उहाँले भन्नुभयो, “तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।”
नृत्यसँगै उहाँलाई थारु जातिका महिलाहरूले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उहाँ बताउनुहुन्छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको बताउनुभयो ।
उहाँ जस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरूमा थारु जातिसँग सम्बन्धित नाचहरूको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उपमहानगरपालिका–१४ का आशा चौधरी बताउनुहुन्छ । उहाँ पछिल्लो समय फुर्सदको समयमा थारु नृत्यहरू सिक्नेदेखि कार्यक्रमहरूमा सहभागी हुने गर्नुहुन्छ । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उहाँले भन्नुभयो, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रूपमा केही आम्दानीसमेत हुने गरेको छ ।” जसले गर्दा आफूलाई हौसला बढाउने काम गरिरहेको उहाँको भनाइ छ ।
थारु बस्ती बाक्लो भएको गाउँहरूबाट पछिल्लो समय थारु समुदायका युवायुवतीहरू आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रमहरूमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारु अगुवाहरूको भनाइ छ ।
घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उहाँ बताउनुहुन्छ । “थारु समुदायको मौलिक संस्कृतिका रूपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचहरूमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भन्नुभयो, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुर्‍याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

थारु जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीबिरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । चौधरीले थारु कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । थारु समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । बाबुबाजेले जोगाउँदै आएको थारु जातिको कला, संस्कृति संरक्षण र संवर्द्धनमा राज्यको सहयोग पनि आवश्यक रहेको चौधरी बताउनुहुन्छ ।

 

 

 

 

 

 

 

संस्कृति संरक्षणमा थारु समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र

Leave a comment

Your email address will not be published. Required fields are marked *