कोहलपुर प्राइड लिग टी–२० को रोमाञ्चक सुरुवात, युनाइटेड भिजन र कोहलपुर स्पोर्ट्स एकेडेमीको शानदार जीत

बाँके ,२८ फाल्गुन ।
बाँकेको कोहलपुरमा सुरु भएको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई टिमले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। शुक्रबार कोहलपुर–११ स्थित क्रिकेट रंगशालामा भएको उद्घाटन दिनका खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्ट्स एकेडेमीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन्।
प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटल्याण्ड स्कुललाई २२ रनले पराजित गर्दै पहिलो जित दर्ता गर्यो। टस जितेर पहिले बलिङ रोजेको युनाइटेडले ब्राइटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो। सुरुमा ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।
युनाइटेडले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको ब्राइटल्याण्ड स्कुल भने दबाबमा पर्यो। ब्राइटल्याण्डको इनिङ्स लामो समय टिक्न सकेन र टोली १६.१ ओभरमा अलआउट हुँदै १ सय १ रनमै समेटियो। यससँगै युनाइटेड भिजन क्रिकेट क्लबले २२ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भयो।
युनाइटेडको जितमा सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनको प्रभावशाली प्रदर्शनका कारण उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको दोस्रो खेल कोहलपुर स्पोर्ट्स एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच भएको थियो। यस खेलमा टस जितेको कोहलपुर स्पोर्ट्स एकेडेमीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको कोहलपुर स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रनको बलियो स्कोर बनायो। टिमका लागि अर्जुन घर्तीले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ६५ रनको उत्कृष्ट पारी खेले। त्यस्तै भिम सार्कीले पनि ३७ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरे। यी दुई ब्याटरको प्रभावशाली प्रदर्शनका कारण कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको थियो।
ठूलो लक्ष्य पछ्याउँदै मैदान उत्रिएको हिमालयन क्रिकेट एकेडेमीको ब्याटिङ भने कमजोर रह्यो। टोलीका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्। कोहलपुर स्पोर्ट्स एकेडेमीका बलरहरूको दबाबपूर्ण बलिङका कारण हिमालयनका ब्याटरहरू निरीह देखिए। अन्ततः हिमालयन क्रिकेट एकेडेमी १६.३ ओभरमा अलआउट हुँदै मात्र ७५ रनमै समेटियो।
यससँगै कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई १ सय २२ रनको फराकिलो अन्तरले पराजित गर्यो। कोहलपुर स्पोर्ट्स एकेडेमीको जितमा शिदान्तराज शाहीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो।
प्रतियोगितामा देशका विभिन्न क्रिकेट क्लब र एकेडेमीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
कोहलपुर स्पोर्ट्स एकेडेमीको आयोजना, कोहलपुर नगरपालिकाको संरक्षकत्व तथा बाँके जिल्ला क्रिकेट संघको समन्वयमा सुरु भएको यो प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकाससँगै युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।






