घरदैलोलाई सशक्त बनाउँदै कमरुद्दिन राई

बाँके २९, माघ।
चुनावी माहोल तातिँदै जाँदा बाँके–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसैबीच, कमरुद्दिन राईले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै जनताको विश्वास जित्ने प्रयास जारी राखेका छन्।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राई यतिबेला बाँके क्षेत्र नम्बर २ मा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका राईले चुनावी अभियानलाई जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत अघि बढाइरहेका छन्। आज उनले नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र बुल्बुलिया १३ का विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरे । घर–घर पुगेर उनले स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे चासोपूर्वक सुने।

रोजगारी, स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत विषयहरु स्थानीयले प्रमुख मुद्दाका रुपमा उठाएका थिए। घरदैलोको क्रममा राईले आफू निर्वाचित भए स्थानीय मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास नै मेरो शक्ति हो।

यहाँका समस्याहरुलाई संघीय संसदसम्म पुर्याएर समाधानका लागि पहल गर्नेछु,” उनले भने। स्थानीय बासिन्दाहरुले पनि राईको सरल व्यवहार र प्रत्यक्ष संवाद शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। कतिपयले विकास र समावेशीताको मुद्दा उठाउने उम्मेदवार आवश्यक रहेको बताउँदै सहयोग र समर्थनको विश्वास दिलाएका छन्।










