लेकवेशीमा कांग्रेस परित्याग गरी २५ घरपरिवार एमालेमा प्रवेश

सुर्खेत ,२९ माघ।
सुर्खेतको लेकवेशी नगरपालिकामा नेपाली कांग्रेस निकट २५ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सुर्खेत क्षेत्र नम्बर १ ले सञ्चालन गरेको घरदैलो अभियानअन्तर्गत लेकबेशी नगरपालिकाका विभिन्न वडाका उनीहरु एमाले प्रवेश गरेका हुन् । अभियानका क्रममा लेकबेशी–९ रातटाँडी टोलका ७, र लेकबेशी–१० बडिपार्टीका १८ गरी २५ घरपरिवारले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरूलाई क्षेत्र नम्बर १ का उम्मेदवार ध्रुवकुमार शाहीले स्वागत गर्दै पार्टीको नीति, कार्यक्रम र विकास एजेन्डाबारे जानकारी गराएका थिए ।

वर्षौंदेखि नेपाली कांग्रेससँग आबद्ध रहेका स्थानीयहरू एमालेमा प्रवेश गर्नु सकारात्मक रहेको शाहीले बताए । उनले आगामी निर्वाचनमा विकास र समृद्धिको एजेन्डा लिएर अघि बढेको एमालेप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे । घरदैलो अभियानका क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शाहीले लेकबेशी क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र कृषि तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । जनताको घरदैलोमै पुगेर समस्या, सुझाव र अपेक्षा संकलन गर्ने अभियानलाई तीव्र बनाइएको पनि जनाइएको छ । नवप्रवेशीहरूले देश र सुर्खेत क्षेत्र नम्बर १ विकासका लागि एमालेको नीति प्रभावकारी लागेको भन्दै पार्टीमा आबद्ध भएको बताएका छन् । कार्यक्रममा सहभागी नेताहरूले अभियान सफल बनाउन सहयोग गर्ने सबै कार्यकर्ता तथा समर्थकप्रति आभार व्यक्त गरेका थिए । एमालेले आगामी निर्वाचनमा ‘सूर्य’ चुनाव चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिल गर्दै घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *