किसानका हातमा डिजिटल प्रविधि: एनसेल र सुपर कृषकबीच सहकार्य, आधुनिक कृषि सेवा मोबाइलमै

काठमाडौं ,२९ माघ।
देशभरका किसानहरूलाई डिजिटल तथा प्रिमियम कृषि सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र डिजिटल कृषि प्लेटफर्म ‘सुपर कृषक’बीच सहकार्य भएको छ। मोबाइल फोनमार्फत सहज र प्रभावकारी रूपमा आधुनिक कृषि सेवा किसानसम्म पुर्याउने लक्ष्यका साथ गरिएको यो सहकार्यलाई नेपालको कृषि क्षेत्र डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यो सहकार्यले कृषि क्षेत्रमा विद्यमान डिजिटल असमानता घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। हालसम्म देशभरका ३० हजारभन्दा बढी किसानहरू सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन्। यस प्लेटफर्ममार्फत किसानहरूले अनलाइन कृषि तालिम, कृषि डाक्टर सेवा तथा स्याटेलाइटमार्फत बाली अनुगमन (कृषि चीना) जस्ता आधुनिक डिजिटल सेवा प्राप्त गर्न सक्नेछन्।
सुपर कृषक प्लेटफर्मले किसानहरूलाई आफ्नै मोबाइल फोनबाट वास्तविक समयमै कृषि परामर्श उपलब्ध गराउनेछ। यसमार्फत किसानहरूले रोग–कीरा तथा बाली समस्या पहिचान, बालीको अवस्थाबारे जानकारी र स्वमूल्यांकन गर्न सक्ने सुविधा पाउनेछन्। सहकार्य लागू भएसँगै देशका सबै जिल्लाका किसानहरूले आफ्नो आवश्यकता अनुसार उन्नत, सुलभ र स्थानीय परिवेशअनुकूल कृषि परामर्श प्राप्त गर्न सक्नेछन्। उच्च हिमाली क्षेत्रदेखि तराईसम्मका किसानहरू अब विशेषज्ञको सुझाव तथा आधुनिक प्रविधिसँग जोडिन सक्ने भएका छन्।
एनसेलको व्यापक नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहकहरूको आधारले सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानसम्म ‘भ्यालु एडेड’ दूरसञ्चार सेवाका रूपमा उपलब्ध हुनेछन्। नेपालमै पहिलो पटक किसानहरूले भ्वाइस, डेटा वा एसएमएस सेवा लिएजस्तै आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
किसानहरूले सुपर कृषक एप डाउनलोड गरी सेवा लिन सक्नेछन्। एपमा विभिन्न सदस्यता प्याकेज उपलब्ध गराइएको छ। एक वर्षको प्याकेज किस्ताबन्दीमा लिन चाहने किसानहरूले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १ हजार ५६० रुपैयाँ खर्च गर्नुपर्नेछ। त्यस्तै, छ महिनाको प्याकेजका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ तिर्दै कुल ८४० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।
एकमुष्ट भुक्तानी गर्ने किसानहरूले भने छ महिनाको सेवा ७५६ रुपैयाँ र एक वर्षको सेवा १ हजार २४८ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। सेवा सक्रिय भएपछि शुल्क प्रयोगकर्ताको मुख्य मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ।
प्रिमियम सेवा अन्तर्गत किसानहरूले आधुनिक कृषि प्रविधिबारे चरणबद्ध सिकाइ सामग्रीसहितका तालिम मोड्युलहरूको लाभ लिन सक्नेछन्। साथै ‘कृषि डाक्टर’ सुविधामार्फत ८०० भन्दा बढी बालीमा लाग्ने रोग–कीरा तथा अन्य समस्याको पहिचान कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत गर्न सकिनेछ। बाली समस्या पहिचान भएपछि आवश्यक समाधानका उपायहरू पनि सुझाइने व्यवस्था गरिएको छ। यसका साथै किसानहरूले स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत कृषि परामर्श आवश्यक परेको समयमा प्राप्त गर्न सक्नेछन्।
एनसेल र सुपर कृषकले आगामी एक वर्षभित्र यो सेवा १ लाख २० हजारभन्दा बढी किसानसम्म विस्तार गर्ने लक्ष्य राखेका छन्। यो पहलले कृषि ज्ञान अभिवृद्धि गर्न, किसान र कृषि विशेषज्ञबीचको दूरी घटाउन तथा ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






