फागुन २१ को निर्वाचन लक्षित मतदाता शिक्षा अभियान सुरु, गाउँगाउँमा स्वयंसेवक परिचालन गरिँदै

बाँके ,२९ माघ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा मतदाता शिक्षा अभियान सुरु गर्ने तयारी गरिएको छ। मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनुका साथै मतदानमा सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा अधिकृतस्तरका कर्मचारीलाई सम्पर्क व्यक्तिका रूपमा तोकी मतदाता शिक्षा कार्यक्रम गाउँ–टोलसम्म पुर्‍याउने तयारी गरिएको छ। उहाँले मतदाता शिक्षा प्रभावकारी बनाउन स्थानीय तहहरूलाई स्वयंसेवक परिचालन गर्न पत्राचार गरिएको जानकारी दिनुभयो।
“मतदाता शिक्षाका लागि जिल्लाका ८१ वटै वडामा ८१ जना स्वयंसेवक परिचालन गरिने योजना बनाइएको छ,” प्रमुख निर्वाचन अधिकारी शाहीले भन्नुभयो, “निर्वाचन आयोगबाट कार्यक्रम प्राप्त भइसकेको छ। केही प्राविधिक काम बाँकी छ, त्यसपछि मतदाता शिक्षा अभियान सुरु गरिन्छ।”
उहाँका अनुसार स्थानीय तहमा तोकिने सम्पर्क व्यक्तिहरूलाई पहिलो चरणमा तालिम प्रदान गरिनेछ। त्यसपछि उनीहरूले वडास्तरमा छनोट भएका स्वयंसेवकलाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रम गाउँ–टोलसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। यस अभियानमार्फत मतदातालाई मतपत्र प्रयोग गर्ने तरिका, मतदान प्रक्रिया तथा बदर मत घटाउने उपायबारे जानकारी दिइने बताइएको छ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि जिल्लाभर १३९ मतदान स्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन कार्यालयका अनुसार यसपटक मत बदरको सङ्ख्या न्यून बनाउन विशेष ध्यान दिएर मतदाता शिक्षा कार्यक्रम तयार गरिएको छ।
निर्वाचन कार्यालयले विगतका निर्वाचनहरूमा मतपत्र सही रूपमा प्रयोग गर्न नसक्दा उल्लेख्य सङ्ख्यामा मत बदर हुने समस्या देखिएको उल्लेख गर्दै यसपटक मतदाता शिक्षा अभियानलाई थप प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ। मतदाता शिक्षामार्फत मतदातालाई मतदान प्रक्रिया स्पष्ट रूपमा बुझाइ मताधिकार प्रयोगमा सहजता ल्याउने विश्वास गरिएको छ।
यसैबीच, नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सहरी क्षेत्रको तुलनामा ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले मतदाता शिक्षा कार्यक्रम औपचारिकतामा सीमित नभई प्रभावकारी र व्यवहारिक रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“विशेष गरी दुर्गम ग्रामीण क्षेत्रमा मतदाताले मतदान प्रक्रिया राम्रोसँग नबुझ्दा बदर मतको समस्या बढी देखिन्छ,” श्रेष्ठले भन्नुभयो, “त्यसैले मतदाता शिक्षा कार्यक्रमलाई गम्भीरतापूर्वक सञ्चालन गर्न आवश्यक छ।”
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन मतदाता शिक्षा अभियानलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायको समन्वयमा सञ्चालन हुने उक्त अभियानले मतदातामा सचेतना वृद्धि गर्दै निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

फागुन २१ को निर्वाचन लक्षित मतदाता शिक्षा अभियान सुरु, गाउँगाउँमा स्वयंसेवक परिचालन गरिँदै

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *