कर्णालीमा यस्तो छ रास्वपाको शक्ति सन्तुलन ?

ओम शाही
सुर्खेत, २९ माघ ।
आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब २१ दिन मात्र बाँकी छन् । २३–२४ भदौको जेन–जी आन्दोलनले देशलाई नियमित समयभन्दा दुई वर्ष अगावै निर्वाचनमा धकेलेको थियो । सरकारले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइसकेको छ । राजनीतिक दलहरुले पनि निर्वाचन तयारीलाई ब्यापक बनाएका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले मतदाता फकाउन विभिन्न रणनीति अङ्ग्िकार गरेका छन् । आगामी निर्वाचन पश्चात कुन दलको हैसियत कस्तो होला भन्ने विषय अहिले सर्वत्र चासो बनेको छ । विषेश गरी यस पटकको निर्वाचन परम्परागत दल र नयाँ दलबीच प्रतिस्पर्धा हुने आँकलन राजनीतिक वृत्तमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशव्यापी चुनावी मतपरिणामका बारेमा अड्कलबाजि हुन थालेका छन् । यो अड्कलबाजिबाट कर्णाली प्रदेश पनि अछुतो छैन ।
कर्णालीका १० जिल्लामा प्रत्यक्षतर्फ १२ निर्वाचन क्षेत्र छन् । गएको निर्वाचनमा संघीय संसदको चौथो दल बनेको रास्वपाले कर्णालीमा समानुपातिकतर्फ एक सिट जितेको थियो । प्रत्यक्षतर्फ ६ सिटमा उम्मेदवार उठाएको रास्वपाले २०७९ मा सुर्खेत र सल्यानका तीन निर्वाचन क्षेत्र बाहेक अन्यमा एक हजार मत कटाउन नसकेको देखिन्छ । गएको निर्वाचनमा पत्रकारिताबाट राजनीतिमा हामफालेका रवि लामिछानेको क्रेजका बीच पनि कर्णालीमा रास्वपाको उपस्थिती कमजोर रहेको निर्वाचन मतपरिणामले देखाउँछ ।
मतपरिणाम अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कर्णालीबाट प्रत्यक्षतर्फ दश हजार पाँच सय ८८ मत प्राप्त गर्दा समानुपातिकतर्फ २२ हजार दुई सय ७१ मत प्राप्त गरेको देखिन्छ । जिल्लागत तथ्यांक अनुसार रास्वपाले सबैभन्दा धेरै मत सुर्खेतबाट पाएको देखिन्छ ।
सुर्खेतका दुई निर्वाचन क्षेत्रबाट गएको निर्वाचनमा रास्वपाले आठ हजार नौ सय ६० मत समानुपातिकतर्फ पाएको छ । जसमा सुर्खेत–१ मा प्रत्यक्षतर्फका उम्मेदवार बनेका मोहम्मद अलीले आठ सय ९७ मत प्राप्त गर्दा समानुपातिकतर्फ दुई हजार आठ सय १४ मत रास्वपाले पाएको छ ।
त्यस्तै, सर्खेत–२ मा प्रत्यक्षतर्फका उम्मेदवार बनेका टेकबहादुर चुनाराले चार हजार ६ सय एक मत प्राप्त गरेका थिए । यस क्षेत्रबाट प्रत्यक्षभन्दा दुई हजार बढी समानुपातिकतर्फ घण्टी चिन्हले भोट पाएको देखिन्छ । सुर्खेत–२ मा गएको निर्वाचनबाट रास्वपाले ६ हजार एक सय ४६ मत पाएको छ । सल्यानमा प्रत्यक्षतर्फ पवनराज देवकोटाले तीन हजार ६ सय ९५ र समानुपातिकतर्फ चार हजार पाँच सय २२ मत रास्वपाको पक्षमा गएको देखिन्छ ।
त्यस्तै, दैलेखमा रास्वपाको समानुपातिक मत एक हजार सात सय ९२ छ । दुई निर्वाचत क्षेत्र रहेको दैलेख–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका ईन्द्रप्रसाद शर्माले तीन सय ८७ मत पाउँदा आठ सय ८७ मत समानुपातिकतर्फ छ ।
दैलेख–२ मा पनि रास्वपाको उपस्थिती कमजोर छ । प्रत्यक्षतर्फका उम्मेदवार बखतबहादुर भण्डारीले सात सय १३ मत पाउदा यस क्षेत्रबाट रास्वपालाई नौ सय पाँच मत प्राप्त भएको देखिन्छ । जाजरकोटमा राजबहादुर शाहीले प्रत्यक्षतर्फ दुई सय ९५ मत प्राप्त गरेका थिए । गएको निर्वाचनमा रास्वपालाई जाजरकोटबाट पाँच सय ९४ समानुपातिक मत आएको छ ।
गत निर्वाचनमा रास्वपाले रुकुम पश्चिम, कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा उम्मेदवार उठाएको थिएन । तर, यी जिल्लाबाट रास्वपालाई भने समानुपातिक मत आएको छ । जसअनुसार रुकुम पश्चिमबाट एक हजार आठ सय ६१, कालीकोटबाट नौ सय पाँच, जुम्लाबाट आठ सय ९९, मुगुबाट दुई सय १०, हुम्लाबाट एक सय ७१ र डोल्पाबाट पाँच सय ५७ मत घण्टी चुनाव चिन्हमा आएको छ ।
आसन्न निर्वाचनका लागि रास्वपाले १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । जसमा सल्यानबाट ललित कुमार चन्द, डोल्पाबाट देवसिहं ऐडी, मुगुबाट भुवन टमटा, जुम्लाबाट निवर्तमान समानुपातिक सांसद विनिता कठायत उम्मेदवार छन् ।
त्यस्तै, कालीकोटबाट प्रकाश न्यौपाने, हुम्लाबाट टासी ल्हान्जोम, जाजरकोटबाट राघब कार्की, दैलेख–१ बाट नन्दकिशोर बस्नेत, दैलेख–२ बाट बखतबहादुर शाही, सुर्खेत–१ बाट टेकबहादुर सिंह, सुर्खेत–२ बाट रमेशकुमार सापकोटा र रुकुम पश्चिमबाट मानबहादुर शाहीलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
पहाडी जिल्लामा कमजोर उपस्थिती
विगतको मतपरिणाम र आसन्न निर्वाचनको चुनावी गतिविधिलाई मसिनो गरी केलाउने हो भने रास्वपाको उपस्थिती कर्णालीका पहाडी जिल्लामा कमजोर छ । कर्णालीका पहाडी जिल्लामा रास्वपाको कमजोर उपस्थिति देखिनुको कारण के हो ? भन्ने प्रश्नमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवम् राजनीतिक विश्लेषक पीताम्बर ढकाल भन्छन्, ‘रास्वपाको उदय सहरी क्षेत्रबाट भएको हो ।
जहाँ प्रविधिले पनि उसको उपस्थिति बढेको हो कि भन्ने लाग्छ । खासगरी सामाजिक सञ्जालमा अभ्यस्त पछिल्ला समयका युवापुस्तामा रास्वपाप्रति झुकाव बढेको देखिन्छ । ग्रामीण भेगमा केही पुराना मतदाताहरु सहर वा विदेश रहेका सन्ततिका कारण भोट फेर्ने मनसायमा जस्तो देखिन्छन् ।’ यस्तो मतपरिणामले ब्यापक फेरबदल भने नहुने उनको तर्क छ ।
रास्वपाले आगामी निर्वाचनमा सुर्खेत–२ बाट जित निकाल्ने रणनीतिका साथ अघि बढिरहेको छ । गएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ पाएको भोटमा टेकेर रास्वपाले यस क्षेत्रमा जित निकाल्न सकिने एक मात्र क्षेत्र मानेको छ । यसको पुष्टि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी अभियानका क्रममा कर्णाली आउदा नै भइसकेको छ ।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका शाह कर्णाली आउदा तय भएका अधिकांश समर्थक तथा उम्मेदवार भेटघाट कार्यक्रम रद्द हुनुले रास्वपा कर्णालीबाट अपेक्षित नतिजा आउनेमा ढुक्क छैन । रास्वपाले सुर्खेत–२ बाट रमेशकुमार सापकोटालाई उम्मेदवार बनाएको छ । तर, सापकोटालाई सहज चुनावी नतिजा निकाल्न भने नेपाली कांग्रेस र नेकपा एमाले र नेकपाले दिने छैनन् । अघिल्ला निर्वाचनको मतपरिणाम अनुसार सुर्खेतमा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले नै हुन् ।
सापकोटा पनि पूर्वकांग्रेस पृष्ठभूमिका नेता हुन् । उनी रास्वपा प्रवेश गर्नुअघि वीरेन्द्रनगर नगर समितिका सचिव थिए । सापकोटाका सामु उनकै पूर्वसहकर्मी कांग्रेसका युवा नेता नारायण कोइराला चुनौती बनेका छन् । कांग्रेस पृष्ठभूमि भएका सापकोटालाई कांग्रेसको भोट काट्न सहज हुने आँकलन गरिएको छ ।
कांग्रेसका भोट काटेर मात्र सापकोटाको संसद यात्रा सम्भव छैन । सापकोटाका लागि नेकपा पनि चुनौती बनेर उभिएको छ । सापकोटाले कांग्रेस–एमालेका कम्तिमा १०/१० हजार भोट काट्न सके उनको संसद यात्रा निश्चित बन्नेछ । यस पटकको निर्वाचन दोलायमान मतदाताका कारण आँकलन गरेभन्दा फरक मतपरिणाम आउने निश्चित छ । यसो हुँदा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले हार्ने र हार्ने भनिएका रास्वपा वा नेकपाले बाजी मार्ने सम्भावना रहन सक्ने पनि विश्लेषण छ ।
त्यस्तै, सुर्खेत–१ मा रास्वपाले सोचेअनुसार मतपरिणाम आफ्नो पक्षमा पार्न सक्ने अवस्था नरहेको बताइन्छ । यस क्षेत्रबाट रास्वपाले टेकबहादुर सिंहलाई टिकट दिएको छ । उनी पनि पूर्वकांग्रेस पृष्ठभुमिका नेता हुन् । सुर्खेत–१ का मुख्य प्रतिस्पर्धी पनि कांग्रेस र एमाले नै रहदा रास्वपालाई जित निकाल्न सहज छैन । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा रास्वपाको माहोल खासै बनेको देखिँदैन ।
दैलेख–१ बाट उम्मेदवार बनेका रास्वपाका नन्दकिशोर बस्नेत हालै एमालेबाट आएका नेता हुन् । आगामी निर्वाचनमा एमालेबाट टिकट नपाउने देखेपछि बस्नेत रास्वपामा लागेका थिए । रास्वपामा प्रवेश गरेपनि एमालेका कार्यकर्तालाई पार्टीमा भित्र्याउन नसक्दा बस्नेतको चुनाव जित्ने माहोल तयार भइसकेको छैन । दैलेख–२ मा माओवादी पृष्ठभूमिका बखतबहादुर शाही रास्वपाका उम्मेदवार छन् ।
लामो समय सरकारी सेवामा काम गरेका शाहीको पनि चुनावी माहोल बनेको देखिदैन । जुम्लाबाट विघटित प्रतिनिधिसमा सदस्य रहेकी विनिता कठायतलाई पनि चुनावी नतिजा निकाल्न सहज छैन । कांग्रेस, एमाले, नेकपासँगै कठायतका अघि राप्रपाका निवर्तमान सांसद ज्ञानबहादुर शाही मुख्य चुनौती बनेर उभिएका छन् ।
कर्णालीका अन्य जिल्लामा रास्वपाका कमजोर उम्मेदवार र सांगठनिक मतका कारण ठुला दलसँगको प्रतिस्पर्धा सहज हुने देखिदैन । रास्वापाका कर्णाली प्रदेश सभापति मदन खड्काले अधिकत्म सिट जित्ने गरी पार्टी लागेको दावी गरे । उनले हालसम्म डोल्पा बाहेक अन्य जिल्लामा पार्टीप्रतिको आकर्षण बढेकाले नतिजा राम्रो निस्कने ठोकुवा गरे । तर, रास्वपाप्रतिको माहोल मतपेटिकासम्म पुग्छ वा पुग्दैन भन्ने विषयमा भने उनी चिन्तित छन् ।






