हिमाली डोल्पामा घट्यो : बदर मत

गाेल्डेन बुढा
जुम्ला,२७ फाल्गुन ।
डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ। अघिल्लो निर्वाचनको तुलनामा झन्डै १ हजार ५ सय मतले बदर मत घटेको देखिनु मतदाता सचेतना र मतदान प्रक्रियाबारे बढ्दो बुझाइको संकेतका रूपमा लिइएको छ।जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्ष) तर्फ कुल १६ हजार १९ मत खसेको थियो। तीमध्ये १५ हजार ५ सय ६ मत सदर भएका छन्, भने ५ सय १३ मत बदर भएका छन्।समानुपातिकतर्फ भने १६ हजार ५ सय ४४ मत खसेको थियो। त्यसमध्ये १६ हजार १ सय ३ मत सदर भएका छन्, भने ४ सय ४१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोल्पामा कुल १९ हजार ८ सय ३७ मत खसेको थियो। तीमध्ये १७ हजार ५ सय २१ मत सदर भएका थिए।भने १ हजार ९ सय ९९ मत बदर भएका थिए। दुई निर्वाचनबीचको तुलना गर्दा २०८२ सालमा बदर मत १ हजार ४ सय ८६ ले घटेको देखिन्छ।जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठका अनुसार मतदाता शिक्षा कार्यक्रमको प्रभाव, मतदान प्रक्रियाबारे बढ्दो जनचेतना तथा मतदान केन्द्रमा गरिएको सहजीकरणका कारण बदर मत घट्न सहयोग पुगेको हो। उनका अनुसार दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदातामा मतदान प्रक्रियाबारेको बुझाइ विस्तार हुँदै गएको संकेत यस तथ्यांकले दिएको छ।
यसैबीच डोल्पाबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले निर्वाचन खर्च विवरण पनि सार्वजनिक गर्न थालेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।नवनिर्वाचित सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले जिप भाडामा ५ लाख, खाना तथा खाजामा १ लाख ९२ हजार, मतदाता प्रशिक्षणमा ९१ हजार, नमुना मतपत्र छपाइमा ९४ हजार, मनोनयन दर्तामा १० हजार र मतदाता नामावली प्रिन्टमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले भने सबैभन्दा बढी १८ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनका अनुसार सवारीसाधन (जिप भाडा) मा ६ लाख २० हजार, नमुना मतपत्र, पोस्टर तथा झण्डामा १ लाख ५० हजार, मतदाता नामावली फोटोकपिमा १० हजार, होटल, खाना, नास्ता तथा बासमा ४ लाख, पेट्रोलमा ५ लाख, मनोनयन दर्तामा १० हजार, मतदाता नामावली प्रिन्टमा ३ हजार तथा होटल त्रिपुराकोटमा खाना, नास्ता र लजमा २ लाख ६ हजार रुपैयाँ खर्च भएको छ।स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले भने सबैभन्दा कम ३९ हजार रुपैयाँ खर्च भएको विवरण दिएका छन्। उनले मनोनयन दर्तामा १० हजार, पेट्रोलमा ४ हजार, पर्चा–पम्पलेट तथा घोषणापत्र छपाइमा १५ हजार र नास्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले निर्वाचन अवधिमा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले जिप भाडामा १ लाख ५० हजार, पेट्रोलमा १ लाख ५० हजार, होटल त्रिपुरासुन्दरीमा खाना, नास्ता तथा लजमा १ लाख, नमुना मतपत्रमा ५ हजार, नामावली फोटोकपीमा ५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको बताएका छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले निर्वाचन अवधिभर २ लाख ७४ हजार ९ सय ५० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
उनका अनुसार होटल खानामा १९ हजार ५ सय, कोठा भाडामा १९ हजार, खाजामा १७ हजार ९ सय ५०, नमुना मतपत्र छपाइमा ९० हजार, मतदाता नामावली फोटोकपिमा ६ हजार, मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, सवारीसाधन (जिप भाडा) मा ७४ हजार र पेट्रोलमा ५ हजार रुपैयाँ खर्च भएको छ।जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्य उम्मेदवारहरूले पनि खर्च विवरण पेस गर्ने क्रम जारी छ।




