सुर्खेतमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या: दोषीलाई कडा कारबाहीको माग गर्दै सिसिआर कर्णाली

सुर्खेत ,२७ फाल्गुन ।
सुर्खेतमा एक किशोरीमाथि बलात्कारपछि हत्या गरिएको घटनाप्रति बाल अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश (सीसीआर कर्णाली) ले जारी गरेको प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन २३ गते वीरेन्द्रनगरस्थित सहिदपार्क नजिकको जंगलमा गुर्वाकोट नगरपालिका निवासी १६ वर्षीया बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा समाजमा पछिल्ला समयहरूमा बालबालिकामाथि यौन शोषण, दुर्व्यवहार तथा हत्या जस्ता जघन्य अपराधहरू बढ्दै गएको उल्लेख गरिएको छ। घरपरिवार, समाज, स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा नागरिक समाजले विभिन्न प्रयासहरू गरिरहे पनि समाज सुधार तथा बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धनमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
उक्त घटनामा संलग्न रहेको आशंकामा रहेका व्यक्तिहरू प्रहरीको नियन्त्रणमा रहेको र नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको विज्ञप्तिमा जनाइएको छ। अभियानले घटनाको सूक्ष्म अध्ययन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा मृतक बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै बालबालिका सबैका साझा सम्पत्ति भएकाले उनीहरूको अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु समाजका सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ।
अभियानले अभिभावक, शिक्षक तथा सरोकारवाला सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै बालबालिकासँग निरन्तर संवाद गर्ने, उनीहरूसँगै बसेर भविष्यको योजना बनाउने तथा सकारात्मक अभिभावक शिक्षा प्रवर्द्धन गर्न अनुरोध गरेको छ।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्य र महासचिव विष्णु प्रसाद शर्माद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति मिति २०८२ फागुन २५ गते सार्वजनिक गरिएको हो।





