सात महिनामा बाँकेमा ६५३ सडक दुर्घटना : ३१ को मृत्यु, ट्राफिक कारबाहीबाट १ करोड १६ लाखभन्दा बढी जरिवाना सङ्कलन

बाँके,२८ माघ।

पश्चिम नेपालको प्रमुख केन्द्रका रूपमा चिनिने बाँके जिल्लामा पछिल्लो समय सडक दुर्घटनाको दर चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघ २५ गतेसम्मको सात महिनाको अवधिमा जिल्लाभर ६५३ वटा सवारी दुर्घटना भएका छन्।
उक्त दुर्घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् भने ६६ जना गम्भीर र एक हजार ३० जना सामान्य घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार मृत्यु हुनेमध्ये २१ जना पुरुष, ७ जना महिला र ३ जना बालक रहेका छन्। उहाँले जिल्लाका विभिन्न सडक खण्डमा हुने सवारी दुर्घटनाले जनधनको ठूलो क्षति गरिरहेको बताउनुभयो।
प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारणमा लापरबाहीपूर्वक सवारी सञ्चालन, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, तीव्र गतिमा सवारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घन तथा सडक अनुशासनको कमी प्रमुख रूपमा देखिएको छ। पछिल्लो समय जिल्लामा सवारी साधनको सङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा सडक सुरक्षाको चुनौती पनि बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या पनि उच्च देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सात महिनाको अवधिमा १४ हजार ३८५ सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको छ। सो कारबाहीबाट एक करोड १६ लाख ३१ हजार ५०० रुपियाँ जरिवाना सङ्कलन भएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी प्रमुख शाहीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४१३ जना चालक तथा तीव्र गतिमा सवारी चलाउने ५६४ जनालाई कारबाही गरिएको छ। उहाँले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित रूपमा निगरानी बढाउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न स्थानमा चालक, सहचालक तथा सर्वसाधारणलाई भेला गरी ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै आएको छ। यस क्रममा सुरक्षित यात्रा, सवारी सञ्चालनका मापदण्ड, नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाही तथा दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षतिबारे सचेतना फैलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, तोकिएको गति सीमा पालना गर्न, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग गर्न तथा सडक अनुशासन कायम गर्न आग्रह गरेको छ। साथै यात्रुहरूलाई पनि सुरक्षित यात्रामा सचेत हुन र चालकलाई ट्राफिक नियम पालना गर्न दबाब दिन अनुरोध गरिएको छ।
बढ्दो सडक दुर्घटनाले स्थानीयवासी, व्यवसायी तथा यात्रु सबैमा चिन्ता थपिएको छ। सडक सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय, सडक पूर्वाधार सुधार तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

सात महिनामा बाँकेमा ६५३ सडक दुर्घटना : ३१ को मृत्यु, ट्राफिक कारबाहीबाट १ करोड १६ लाखभन्दा बढी जरिवाना सङ्कलन

सात महिनामा बाँकेमा ६५३ सडक दुर्घटना :

Leave a comment

Your email address will not be published. Required fields are marked *