सम्पादकीय : सभ्य, जिम्मेवार र मुद्दामुखी बन् !

आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले तयारीलाई व्यवस्थित बनाइरहँदा राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यो माहोल झन् व्यापक छ । प्रमुख दलदेखि नयाँ र वैकल्पिक शक्तिका दाबी गर्ने दल तथा स्वतन्त्र उम्मेदवारसम्म घरदैलो, भेटघाट र सभामार्फत मतदाता आकर्षित गर्न व्यस्त छन् । तर, चुनावी प्रतिस्पर्धा बढ्दै जाँदा प्रचारको भाषा, शैली र व्यवहार कस्तो हुनुपर्छ भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बन्दै गएको छ । लोकतान्त्रिक अभ्यासको मूल आत्मा भनेकै सभ्य, शान्त र मर्यादित निर्वाचन हो । दुर्भाग्यवश विगतका चुनावहरूमा व्यक्तिगत आरोप–प्रत्यारोप, चरित्र हत्या, उक्साहटपूर्ण अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहले चुनावी वातावरणलाई दूषित बनाएका उदाहरण प्रशस्त छन् ।

यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने हो भने त्यसले लोकतन्त्रप्रतिको जनविश्वास थप कमजोर बनाउनेछ । त्यसैले पनि सबै दल र उम्मेदवारले चुनावी प्रचारलाई सभ्य, जिम्मेवार र मुद्दामुखी बनाउनु आजको मुख्य आवश्यकता हो । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस, एमालेजस्ता परम्परागत शक्तिसँगै रास्वपा, राप्रपा, नेकपा तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । तर, प्रतिस्पर्धाको नाममा विरोधीलाई गाली गर्ने, विगतका व्यक्तिगत प्रसंग कोट्याउने वा भ्रम फैलाउने काम स्वीकार्य हुन सक्दैन । मतदाताले अब नाराभन्दा योजना खोजिरहेका छन् । विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका विषयमा कसको दृष्टिकोण स्पष्ट र कार्यान्वयनयोग्य छ भन्ने आधारमा निर्णय गर्ने चेतना मतदातामा बढ्दै गएको छ । निर्वाचनमा मतदातालाई स्वस्फुर्थरुपमा दल रोज्ने अधिकारको हनन् कसैले गर्नुहुँदैन । नयाँ शक्ति दाबी गर्ने दलहरूले पुराना दलको कमजोरी औँल्याउनु स्वाभाविक हो । तर, आलोचना तथ्यमा आधारित, संयमित र समाधानमुखी हुनुपर्छ । त्यस्तै, पुराना दलहरूले पनि विगतका अधुरा काम र जनअसन्तुष्टिलाई आत्मालोचना गर्दै आगामी योजनाबारे स्पष्ट प्रतिवद्धता जनाउनुपर्छ ।

एक–अर्कालाई दोषारोपण गर्ने प्रतिस्पर्धाले होइन, स्पष्ट नीति र कार्यक्रम प्रस्तुत गर्ने प्रतिस्पर्धाले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ । निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चार माध्यमको भूमिका पनि यहाँ महत्त्वपूर्ण छ । आचारसंहिता उल्लङ्घन गर्ने गतिविधिमा कडाइ, भ्रामक सूचना नियन्त्रण र तथ्यपरक सूचनाको प्रवाह अपरिहार्य छ । सञ्चार माध्यमले पनि सनसनीभन्दा जिम्मेवार रिपोर्टिङलाई प्राथमिकता दिनुपर्छ । निर्वाचन कुनै दल वा उम्मेदवारको जित–हारको मात्र विषय होइन । यो जनताको सार्वभौम अधिकारको प्रयोग हो । यसमा सबै राजनीतिक दल, उम्मेदवार र समर्थकले चुनावी प्रचारलाई सभ्य, शान्त र मुद्दामुखी बनाउँदै लोकतन्त्रको गरिमा जोगाउनु आजको साझा दायित्व हो । सभ्य प्रचार, सचेत मतदाता र निष्पक्ष निर्वाचन प्रक्रियाबाट मात्रै स्वस्थ लोकतन्त्रको निर्माण सम्भव हुन्छ ।

सम्पादकीय :  सभ्य, जिम्मेवार र मुद्दामुखी बन् !

निर्वाचन आउन २३ दिन बाँकी :  ४४

Leave a comment

Your email address will not be published. Required fields are marked *