कर्णालीको अन्तिम ब्यालेट नतिजा :प्रभावशाली र चर्चित निवर्तमान  माननियको संसद यात्रामा ब्रेक

ओम शाही

सुर्खेत, २६ फागुन । 

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बिहिबार सम्पन्न निर्वाचनबाट कर्णालीमा पाँच सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

चार निर्वाचन क्षेत्रमा जित निकालेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो  बन्दा सांगठनिकरुपमा आफुलाई बलियो ठान्ने नेकपा एमाले एक क्षेत्रमा सीमित भएको छ । २०७४ मा ६ सिट जितेको एमाले २०७९ को निर्वाचनमा कांग्रेस–माओवादीको गठवन्धनका कारण बढारिएको थियो । यस पटकको निर्वाचनमा दलहरु गठवन्धन बिना होमिएका थिए ।

जसले कांग्रेस, एमाले र नेकपाको वास्तविक हैसियत खुलासा गरेको छ । कर्णालीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इतिहास रचेका छन् । देशभर लहर चल्दा कर्णालीमा रास्वपाले एक सिटमा जित निकालेको छ । यस्तै, देशभर बढारिदा राप्रपाले कर्णालीबाट एक सिट जितेर आफ्‌नो साख जोगाएको छ ।

यस पटक २०७९ को निर्वाचनबाट अनुमोदन भएका अधिकांश र प्रभावशाली नेताले चुनाव हारेका छन् । २०६४ देखि निरन्तर रुकुम पश्चिमबाट प्रतिनिधिसभामा अविजित इतिहास बनाएका तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको संसदीय राजनीतिमा ब्रेक लागेको छ । जेन–जी आन्दोलनपछि माओवादीमा नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बनाएका शर्मा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकिकृत समाजवादी लगायतका दलहरुसँग वाम एकता गरेपछि प्रगतिशित लोकतान्त्रिक पार्टीमा लागेका थिए ।

शर्माका राजनीतिक चेला नेकपाका गोपाल शर्माले हारको पहिलो स्वाद चखाएका छन् । माओवादी राजनीतिमा लामो समय शक्ति केन्द्रमा रहेका शर्मा गृहमन्त्री हुँदा गोपाल स्वकीय सचिव थिए । माओवादी छाडेर प्रलोपामा लागेका शर्मालाई आफ्‌ना चेलाले हराएनन् मात्र, शर्माको यो हारले उनको राजनीतिक भविष्य नै अन्यौलतामा धकेलिएको छ ।

शर्माको पार्टी प्रलोपाले देशभर नराम्ररी हार व्यहोरेको छ । २०७० यताका सबै निर्वाचनमा जाजरकोटबाट जित निकालेका शक्तिबहादुर बस्नेत पनि आगामी संसदमा देखिने छैनन् । तत्कालिन माओवादी अध्यक्ष प्रचण्डबाट सबैभन्दा धेरै लाभ लिने नेताको लिष्टमा पर्ने बस्नेत धेरै पटक मन्त्रिसमेत भएका थिए । चौथो पटक पनि जित निकाल्ने दावाका साथ चुनावमा होमिएका बस्नेतलाई नेपाली कांग्रेस जाजरकोटका कार्यवहाक सभापति खड्कबहादुर बुढाले हारको स्वाद चखाएका छन् । दैलेख–२ बाट दोस्रो पटक सांसदमा दोहोरिने दाउमा रहेका कांग्रेसका दिक्पालकुमार शाहीको यात्रामा पनि ब्रेक लागेको छ ।

उनलाई एमालेका लक्ष्मीप्रसाद पोखरेलले पराजित गरे । २०७९ मा कांग्रेस–माओवादीको गठवन्धबाट उम्मेदवार बनेका शाहीले पोखरेललाई झिनो मतान्तरले पराजित गरेका थिए । यस पटक उनै पोखरेलसँग शाहीले हार व्यहोर्नु परेको छ । यस्तै, २०७० यताका दुई प्रतिनिधिसभा निर्वाचनमा जित निकालेर तेस्रो पटक संसद छिर्न खोजेका दैलेखका अमरबहादुर थापाको यात्रामा पनि ब्रेक लागेको छ ।

उनी २०७४ मा कर्णाली प्रदेशसभामा निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए । तत्कालिन माओवादीका महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेको ह्वीप उल्लघंन गरी फ्‌लोरक्रस गरेर थापाले विवादित छवि बनाएका थिए । एमाले विभाजनपछि समाजवादीमा लागेका थापा यस पटक नेकपाबाट उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसकी वासना थापाले लज्जास्पद हार दिलाइन । गएको निर्वाचनबाट समानुपातिक मतबाट सांसद बनेकी जुम्लाकी रास्वपा नेतृ विनिता कठायतले पनि लज्जास्पद हार व्यहोर्न पुगिन । देशभर रास्वापको लहरले विनितालाई भने छोएन । सम्मानजनक भोटसमेत प्राप्त गर्न नसकेकी कठायतलाई राप्रपाका ज्ञानबहादुर शाहीले पराजित गरेका छन् । शाहीको यो लगातार दोस्रो जित हो । उनी २०७९ मा पनि राप्रपाबाट विजयी भएका थिए ।

रास्वपाका सात उम्मेदवारको जमानत जफत

मतगणनाको नतिजालाई विश्लेषण गर्ने हो भने कर्णालीमा केही क्षेत्रमा बाहेक मतदाताको झुकाव पुरानै राजनीतिक दलतर्फ देखिएको छ । देशभर चलेको रास्वपाको लहरले सुर्खेत–२ मा मात्रै प्रभाव पारेको छ । यस क्षेत्रबाट रास्वपाका रमेशकुमार सापकोटाले मात्र जित निकाल्न सके । सल्यानमा उपविजेता बनेको रास्वपा दैलेख–१, दैलेख–२ र सुर्खेत–१ मा तेस्रो स्थानमा खुम्चियो ।

रास्वपाले प्रतिस्पर्धा देखाएका यी स्थानहरुमा पुरानै दल कांग्रेस, नेकपा र एमालेका उम्मेदवारहरुसँग रास्वपाका उम्मेदवारहरु पराजित हुन पुगे । यति मात्रै होइन रास्वपाले कर्णालीका सात निर्वाचन क्षेत्रमा उठाएका उम्मेदवारले आफ्‌नो जमानत जोगाउने गरी मत प्राप्त गर्न सकेनन् । हुम्ला, जुम्ला, कालीकोट, मुगु, डोल्पा, रुकुमपश्चिम, जाजरकोटमा रास्वपा उम्मेदवारहरुको जमानत नै जफत भएको छ ।

कुल खसेको मतमध्ये जम्मा सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा उनीहरुको जमानत नै जफत भएको हो । आफ्नो पक्षमा नतिजा कम आउनेमा विश्वस्त रहेको रास्वपाले चुनावी वाचापत्रसमेत कर्णालीबाटै सार्वजनिक गरेको थियो । यद्यपी, वाचापत्र सार्वजनिक भएको क्षेत्रबाट मात्रै रास्वपाका उम्मेदवार सापकोटाले नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउन सफल भए ।

सुर्खेत–१ मा टेकबहादुर सिंह, दैलेख–१ मा नन्दकिशोर बस्नेत, दैलेख–२ मा बखतबहादुर शाही, सल्यानमा ललितकुमार सिंहले भने सन्तोषजनक मत प्राप्त गरेपनि जित निकाल्न सकेनन् । जमानत जफत हुने रास्वपाका उम्मेदवारहरुमा हुम्लाकी टासी ल्हान्जोम, जुम्लाकी विनिता कठायत, मुगुका भुवन टमटा, डोल्पाका देवसिंह ऐडी, रुकुमपश्चिका मानबहादुर शाही, जाजरकोटका राघब कार्की र कालीकोटका प्रकाश न्यौपाने छन् ।

जमानत फिर्ता पाउन पाँच हजार नौ सय बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता पाउँदैन । त्यसैलाई जमानत जफत भनिन्छ ।

कर्णालीको अन्तिम ब्यालेट नतिजा  :प्रभावशाली र चर्चित निवर्तमान   माननियको संसद यात्रामा ब्रेक

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

कर्णालीको अन्तिम ब्यालेट नतिजा  :प्रभावशाली र चर्चित निवर्तमान   माननियको संसद यात्रामा ब्रेक

दाङमा साढे १० हजार बढी मत बदर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds