सम्पादकीय : ओली अहंकारले खस्केको जनमत !

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस पहिलो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो दल बनेका छन् । कांग्रेसले पाँच र नेकपाले चार निर्वाचन क्षेत्रको नतिजा आफ्‌नो पक्षमा पारेका छन् । आफुलाई कर्णालीमा बलियो संगठन र मत रहेको दावी गर्ने नेकपा एमाले एक सिटमा सीमित भएको छ । देशभर बढारिदा कर्णालीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साख जोगाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्‌नो पहिलो जित निकालेको छ । कर्णालीमा गएका दुई निर्वाचनबाट एमालेका पक्षमा बलियो जनाधार देखिन्थ्यो । २०७४ मा तत्कालिन माओवादी केन्द्रसँग गठवन्धन गरेको एमालेले प्रतिनिधिसभामा कांग्रेसलाई क्लिनस्वीप गरेको थियो । २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा एक लाख ८२ हजार आठ सय ४३ र प्रदेशभारमा एक लाख ६९ लाख सात सय ५६ मत प्राप्त गरेको थियो । यो मत कांग्रेस र तत्कालिन माओवादी केन्द्रको तुलनामा निकै लोकप्रिय थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १२ मध्ये ६ सिट र प्रदेशसभामा ४० सिटमध्ये २० सिट जितेर कर्णालीमा पहिलो दल बनेको थियो एमाले । माओवादीले आधार इलाका दाबी गर्ने प्रदेशमा एमालेको यो सांगठनिक अवस्थालाई कमजोर भन्न सकिने अवस्था थिएन ।

२०७९ को आमनिर्वाचन परिणामलाई हेर्ने हो भने पनि एमालेले कर्णालीबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा एक लाख ८३ हजार एक सय ३३ र प्रदेशसभामा एक सय लाख ८३ हजार नौ सय ५० मत पाएको थियो । उक्त निर्वाचनमा कांग्रेस–माओवादी र समाजवादी लगायतका पाँच दलिय गठवन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको एमालेले सन्तोषजनक मत प्राप्त गरेपनि प्रतिनिधिसभातर्फका सबै सिट गुमाएको थियो । तर समानुपातिकमा कांग्रेस, माओवादी केन्द्रभन्दा बढी मत एमालेले नै पाएको थियो । २०७९ को निर्वाचनमा कर्णालीमा शून्य भएको एमालेले यसपटक कम्तिमा पाँच वटा सिट जित्ने अपेक्षा गरेको थियो । तर उसको पक्षमा एउटा सिट मात्र आएको छ । एमालेले दैलेख क्षेत्र नम्बर २ मात्रै जित निकाल्न सफल भयो ।  एमालेका लक्ष्मीप्रसाद पोखरेल यो क्षेत्रबाट निर्वाचित भएका छन् । अघिल्लो पटक उनैलाइ हराएका काँग्रेसका दिक्पालकुमार शाही यो पटक पराजित भएका छन् । कर्णालीमा एमाले कमजोर हुनुको कारण एमाले विभाजन र प्रभाव जमाउने व्यक्तिले पार्टी परित्याग देखिन्छ । जसका कारण आफुलाई सांगठनिक मतमा बलियो ठान्ने एमाले यस पटक दलहरु एक्ला एक्लै लड्दा पनि पुछारमा पुगेको छ ।

यस पटक एमालेको देशभर मत घट्नुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली जोडिएका छन् । २३–२४ भदौको जेन–जी आन्दोलनमा मच्चिएको रक्तपातको साइड इफेक्ट एमालेको जनमतमा परेको छ । सरकारको नेतृत्वमा रहेका ओलीकै कारण युवाहरु मारिएको रोष मतदाताले ब्यालेट बक्समा पोखेका छन् । एमाले कमजोर हुनुमा यति विषय मात्र जोडिएका छैनन् । अहंकारी नेतृत्वले गर्ने हरेक गलत कामको बचाउ गर्ने नेताहरुका कारण पनि एमाले इतिहासमै कमजोर बनेको हो । लामो कम्युनिष्ट आन्दोलनको विरासत बोकेको एमालेमा देखिएको ओली अहंकार एक दिन घातक गोलमा परिणत हुन्छ भन्ने तत्थबाट उनका किचेन क्याविनेटका नेताले बुझेको भए यो अवस्था आउदैन थियो । अब उनै ओलीसँगै  गर्विलो इतिहास बोकेको पार्टी एमालेलाई इतिहासको गर्तमा विलय गराउने वा वैचारिक धारलाई अझै तिखो बनाउँदै मुलुकमा समयअनुकूल नागरिकको भरोसायोग्य राष्ट्रिय शक्ति बनाउने ? एमालेभित्रका कैयौँ नवजवानहरूले जवाफ दिनुपर्ने बेला भएको छ । खस्किएको एमालेलाई प्राणवायु दिन समयको मागअनुसारको नेतृत्व आवश्यक छ । यसर्थ, एमाले अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि गरेका हरेक कामहरु इतिहासको पानामा दर्ज गर्न लायक छन्, र हुन्छने पनि । तर उनको पछिल्लो अहंकारले एमाले सक्किने निश्चित भएकाले उनको विकल्प खोज्न एमालेजनहरुले ढिला नगरुन ।

सम्पादकीय : ओली अहंकारले खस्केको जनमत !

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे

सम्पादकीय : ओली अहंकारले खस्केको जनमत !

जुम्लाको अस्पतालमै एक्स–रे सेवा ठप्प : बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds