कर्णालीलाई समताको बजेट अपरिहार्य छ: स्वास्थ्य मन्त्री सुधा शर्मा

गाेल्डेन बुढा
जुम्ला,२७ माघ।
जुम्लाको कठोर भूगोल, महँगो ढुवानी र सीमित पूर्वाधारबीच पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको झण्डा उचाल्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले फेरि एकपटक राज्यको ध्यान तानेको छ। वर्षौंदेखि उपेक्षा, असमान बजेट र संरचनागत अभावको मार खेप्दै आएको कर्णालीका लागि यो ध्यान आफैंमा राजनीतिक र नीतिगत सन्देश बोकेको छ।मंगलबार जुम्ला पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा (शर्मा) गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘समानता होइन, समताको आधारमा’ सहयोग गरिने बताइन्। राज्यको विकास दर्शनमा ‘बराबरी’ र ‘न्याय’बीचको फरक स्पष्ट पार्ने यो अभिव्यक्ति कर्णालीको सन्दर्भमा विशेष अर्थ राख्छ।देशका अन्य स्वास्थ्य प्रतिष्ठानसँग कागजी रूपमा समान व्यवहार गरिए पनि व्यवहारिक रूपमा कर्णाली सधैं पछि पर्दै आएको यथार्थ स्वीकार गर्दै मन्त्री शर्माले दुर्गम भूगोल र ढुवानी खर्चलाई आधार मानेर बजेट प्राथमिकता तय गरिने बताइन्।

यो स्वीकारोक्ति कर्णालीले लामो समयदेखि उठाउँदै आएको आवाजप्रति राज्यको औपचारिक मान्यताका रूपमा पनि हेरिएको छ। यो भनाइ केवल बजेट घोषणामात्र नभई कर्णालीप्रति राज्यको दृष्टिकोण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।जुम्लाको उच्च भेग चेरे चौरमा डिपिआर तयार गरी अगाडि बढाइएको बेसिक हेल्थ साइन्स अध्ययन भवन तथा अन्य भौतिक संरचनाहरू निर्माणका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले एकैपटक ठूलो संरचना सम्भव नभए पनि चरणबद्ध रूपमा पाँच वर्षभित्र चेरे चौरका सम्पूर्ण संरचना पूरा हुने विश्वास व्यक्त गरिन्।
कर्णालीजस्तो भूगोलमा चरणबद्ध विकास नै यथार्थपरक मोडेल भएको सन्देश पनि यसबाट प्रस्ट हुन्छ। उनका अनुसार एक–दुई भवन गर्दै अघि बढ्ने यो योजना कर्णाली स्वास्थ्य शिक्षाको दीर्घकालीन आधार बन्नेछ।मन्त्री शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवामात्र नभई स्वास्थ्य शिक्षामा पनि कर्णालीको अनुहार परिवर्तन गर्न थालेको बताउँदै अब स्वास्थ्य शिक्षा र सरसफाइलाई थप प्राथमिकतामा राख्न सुझाव दिइन। यो सुझावले कर्णालीको स्वास्थ्य समस्या उपचारमा मात्र सीमित नराखी रोकथाम र चेतनासँग जोड्नुपर्ने संकेत गर्छ। कर्णालीजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठानले खेलेको भूमिकालाई ‘रणनीतिक महत्व’को रूपमा व्याख्या गर्दै उहाँले यसको थप स्तरवृद्धि अपरिहार्य छ।

स्वास्थ्य बीमाको भुक्तानी बाँकी रहेको विषयमा उठेका सुझावप्रति गम्भीर हुँदै मन्त्री शर्माले भुक्तानी प्रक्रियाको अन्तिम तयारी भइरहेको बताउँछिन्। बीमा भुक्तानीको ढिलाइले सेवा प्रवाहमा परेको असरप्रति मन्त्रालय गम्भीर रहेको सन्देश पनि यसले दिन्छ। केही समयअघि सम्पन्न प्रतिष्ठानको सभाबाट कर्णाली प्रतिष्ठानको सम्भावना र चुनौती नजिकबाट बुझ्न पाउँदा खुशी लागेको उनको भनाइ छ।स्वास्थ्य सचिव डा. विकास देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राष्ट्रिय स्वास्थ्य सूचकांकमा उल्लेखनीय योगदान पुर्याएको बताउँदै यसलाई कर्णाली मात्र होइन, समग्र देशकै स्वास्थ्य प्रणालीको आधारस्तम्भका रूपमा व्याख्या गरे। यसले कर्णालीलाई ‘सेवा लिने मात्र होइन, देशलाई सेवा दिने क्षेत्र’का रूपमा स्थापित गरेको संकेत गर्छ। प्रतिष्ठानले केन्द्रको रूपमा सेवा दिइरहेको उल्लेख गर्दै उनले स्वास्थ्यसँगै सडक, खानेपानीजस्ता पूर्वाधार विकास पनि सँगसँगै आवश्यक रहेको धारणा राखे। सीमित स्रोतसाधनका बीच पनि बिरामीलाई गुणस्तरीय सेवा दिएर सन्तुष्ट बनाउने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजन रोकायाले मन्त्री र सचिवद्वयको स्थलगत अवलोकनलाई ‘कर्णालीका लागि सकारात्मक संकेत’का रूपमा व्याख्या गरे। स्थलगत अवलोकनलाई नीति र बजेटमा परिणत गराउनुपर्ने अपेक्षा पनि यस अभिव्यक्तिमा झल्किन्छ। चेरे चौर क्षेत्रमा करिब ६ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना निर्माण आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारको ठोस सहयोग अपरिहार्य छ।उनले दैलेखको राकम कर्णालीमा सेटेलाइट अस्पताल स्थापना गर्ने विषयलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बताउँदै कर्णाली प्रतिष्ठानमा एमआरआई मेसिन र ठूलो क्षमताको सिटी स्क्यान मेसिन उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गरे।

यी उपकरणको अभावले अहिले पनि कर्णालीका बिरामीलाई महँगो उपचारका लागि बाहिर जान बाध्य बनाएको यथार्थ लुकेको छैन। सिनेट बैठकमा पटक–पटक उठाइएका विषयहरू आज भूगोलमै मन्त्री र सचिवलाई देखाउन पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ छ।हाल भौतिक संरचनाको अभावका कारण आवास समस्या जटिल बनेको उल्लेख गर्दै उपकुलपति रोकायाले देशका विभिन्न भागबाट आएका दक्ष जनशक्ति यहीँ बसेर काम गरिरहेको बताए।
तर संरचना, तलब र स्थायित्व नहुँदा जनशक्ति टिकाइराख्नु कर्णालीका लागि सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ। तर तलब वृद्धि र स्थायित्व नहुँदा जनशक्ति टिकाउन चुनौती थपिएको उनको भनाइ छ। कर्णाली प्रतिष्ठानलाई हेल्थ टुरिजमसँग जोड्दै कर्णालीमा आउने पर्यटकका लागि स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गर्नुपर्ने अवधारणा पनि उनले अघि सारे।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना आफैंमा ऐतिहासिक उपलब्धि भएको बताउँदै यसको थप स्तरवृद्धिका लागि संघीय सरकारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे। संघीय संरचनामा कर्णालीको स्वास्थ्य मेरुदण्डका रूपमा प्रतिष्ठानलाई हेर्नुपर्ने उनको जोड छ। प्रतिष्ठानले सेवा प्रवाहमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे।






