मतदाता फकाउन गाउँ छिरे उम्मेदवार

ओम शाही
सुर्खेत, २७ माघ ।
आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिँदै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको छ भने राजनीतिक दलहरू पनि प्रचार–प्रसारमा सक्रिय देखिएका छन् ।
विशेषगरी दुई निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्नो चुनावी अभियानलाई आक्रामक बनाएका छन् । २०७९ को निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा लगायतका दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारलाई गाउँ केन्द्रित बनाएका छन् ।
अहिले दलका उम्मेदवारहरु मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन् । सुर्खेत निर्वाचन क्षेत्र नं. १ र २ मा उम्मेदवारहरूले घरदैलो तथा विभिन्न भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएका छन् । सुर्खेतबाट दुई पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी ३० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
अहिलेको निर्वाचनमा पुराना राजनीतिक शक्तिहरुलाई आफुलाई नयाँ र वैकल्पिक शक्ति ठान्ने दलले चुनौती थपेका छन् । यसअघिका दुई निर्वाचनको मतपरिणामलाई विश्लेषण गर्ने हो भने सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले छन् । यद्यपी यस पटक रास्वपामा देखिएको जनलहरले मतपरिणाम विगतको जस्तो नहुने विश्लेषण छ ।
सुर्खेत–१ बाट नेपाली कांग्रेसले विष्णुबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । २०४८ यता एक बाहेक सबै निर्वाचनमा जित निकालेका पूर्णबहादुर खड्का यस पटक ब्याक भएपछि विष्णुले टिकट पाएका थिए । उनी पूर्णबहादुरका सहोदर भाइ हुन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले नेतृत्व गरेको २७–२९ पुसमा काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का धर्म संकटमा परेका थिए ।
जेन–जी आन्दोलनपछिको असहज परिस्थितिमा देउवाले खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि टिकट वितरणको अधिकार पनि देउवाबाट गगनको हातमा पुग्यो ।
उक्त निर्णयविरुद्ध कार्यवाहक सभापतिका हैसियले खड्काले सर्वोच्च अदालतमा रिट दायर गरे । मुद्दा विचाराधीन अवस्थामा रहेकाले नैतिकताको आधारमा चुनाव नलड्ने घोषणा गरेका थिए । यस्तै, एमालेले धु्रवकुमार शाहीलाई अघि सारेको छ । शाही उनै व्यक्ति हुन्, जसले खड्कालाई २०७४ मा प्रतिनिधिसभा सदस्यमा पहिलो पटक हराएका थिए ।
रास्वपाले सुर्खेत–१ बाट टेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह पूर्वकांग्रेस हुन् । कांग्रेसमा लामो समय काम गरेका सिंह रास्वपामा लागेपछि खड्कालाई सहज जित निकाल्न चुनौती छ । नेकपाले जितबहादुर रानालाई उम्मेदवार बनाउदा राप्रपाले रविकिरण हमाल र उज्यालो नेपालबाट ठम्मबरबहादुर विष्ठसहित १३ जना उम्मेदवार छन् ।
त्यस्तै, सुर्खेत–२ बाट १७ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा कांग्रेसका नारायण कोइराला, एमालेका कुलमणी देवकोटा, नेकपाका झकबहादुर मल्ल, रास्वपाका रमेश सापकोटा, राप्रपाका कविराम पुरी लगायत उम्मेदवार चुनावी मैदानमा छन् । चुनावको मिति नजिकिएसँगै दलका शीर्ष नेतादेखि स्थानीय कार्यकर्तासम्म मतदाता भेट्न व्यस्त देखिन्छन् ।
विकास, समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण जस्ता मुद्दा सबै दलका साझा एजेन्डा बनेका छन् । तर, विगतका अधुरा योजना र कार्यान्वयन नहुँदा मतदातामा केही असन्तुष्टि पनि देखिन्छ । नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र समावेशी विकासलाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियान अघि बढाएको छ ।
कांग्रेसका उम्मेदवारहरू संघीयताको मजबुती, स्थानीय तह सुदृढीकरण र कर्णालीको समग्र विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै आएका छन् । कांग्रेसले जनताको अधिकार संरक्षण र सामाजिक न्यायलाई आफ्नो प्रमुख नाराका रूपमा अघि सारेको छ ।
त्यस्तै, नेकपा एमालेले स्थायित्व, विकास र सुशासनलाई केन्द्रमा राखेर प्रचार गरिरहेको छ । एमालेका उम्मेदवारहरू आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामको चर्चा गर्दै पुनः जनताको समर्थन मागिरहेका छन् । सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा एमाले नेतृत्वमा भएका कामलाई उपलब्धिको रूपमा प्रस्तुत गर्दै आगामी दिनमा औद्योगिक विकास र रोजगारी सिर्जनामा जोड दिने बताएका छन् ।
नेकपाले परिवर्तन, सामाजिक न्याय र जनमुखी शासन प्रणालीलाई आफ्नो मूल एजेन्डा बनाएको छ । नेकपाका उम्मेदवारहरू ग्रामीण भेगमा पुगेर जनताको समस्या सुन्दै समाधानको प्रतिबद्धता जनाइरहेका छन् । द्वन्द्वपछिको परिवर्तनलाई संस्थागत गर्दै कर्णालीको पिछडिएको अवस्था अन्त्य गर्ने उनीहरूको दाबी छ । यस्तै, रास्वपाले पुरान दलबाट देशको समृद्धि सम्भव नहुने दावि गर्दै चुनावी प्रचारलाई तीव्र बनाएको छ ।
चुनावी सरगर्मी बढेसँगै सुर्खेतका बजार क्षेत्रदेखि गाउँ–बस्तीमा राजनीतिक बहस पनि चुलिँदै गएको छ । चिया पसल, चौतारी र सामाजिक सञ्जालमा समेत उम्मेदवार र दलका विषयमा चर्चा परिचर्चा भइरहेका छन् । सुरक्षाका दृष्टिले जिल्ला प्रशासन र सुरक्षा निकायले आवश्यक तयारी थालेका छन् ।
शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रतिबद्धता प्रशासनले जनाएको छ । मतदाता भने यसपटक आश्वासनभन्दा पनि कार्यान्वयन हुने योजनामा जोड दिनुपर्ने बताउँछन् । ‘हरेक चुनावमा विकासका कुरा धेरै सुनिन्छ, तर परिणाम कम देखिन्छ,’ बराहताल गाउँपालिका–४, का लक्ष्मण थापा भन्छन्, ‘अब काम गर्ने प्रतिनिधि चाहिएको छ ।’ उनले अबका सांसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।






