कर्णालीको ब्यालेटमा दलिय शक्ति :कांग्रेस र नेकपाले प्रतिष्ठा जोगाउँदा कमजोर बन्यो एमाले

ओम शाही
सुर्खेत, २५ फागुन ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस पहिलो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो दल बनेका छन् । कांग्रेसले पाँच र नेकपाले चार निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पारेका छन् ।
आफुलाई कर्णालीमा बलियो संगठन र मत रहेको दावी गर्ने नेकपा एमाले एक सिटमा सीमित भएको छ । देशभर बढारिदा कर्णालीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साख जोगाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो जित निकालेको छ । नेपाली कांग्रेसले हुम्ला, मुगु, दैलेख–१, जाजरकोट र सुर्खेत–१ जितेको छ । हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग शाही, दैलेख–१ मा वासना थापा, जाजरकोटमा खडकबहादुर विसी र सुर्खेत–१ मा विष्णु बहादुर खड्का निर्वाचित भएका छन् ।
काँग्रेसका सुर्खेत–२ बाट लडेका नारायणकुमार कोइराला रास्वपासँग पराजित भए । सल्यानबाट लडेका जिल्ला सभापति केशबहादुर विष्ट, रुकुमपश्चिमबाट चुनावमा होमिएका राजु केसी, डोल्पाबाट पार्टीका सहमहामन्त्री कर्णबहादुर बुढा, कालीकोटबाट हर्ष बम नेकपासँग पराजित भएका छन् । जुम्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका दीपबहादुर शाही राप्रपासँग पराजित भए ।

दैलेख–२ बाट चुनावी मैदानमा होमिएका दिक्पालकुमार शाही एमालेसँग पराजित भए । २०७९ मा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरमा पराजित गरेका शाहीलाई यो चुनावमा उनैसँग हार व्यहोर्नु परेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले सल्यान, रुकुम पश्चिम, कालीकोट, डोल्पामा जितेको छ । डोल्पामा पूर्वसमाजवादीका नेता धनबहादुर बुढा निर्वाचित भएका छन् । बुढाको यो चौथो जित हो । उनी २०७० यताका सम्पन्न सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । विगतमा नेकपा एमालेबाट चुनाव लड्दै आएका उनी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा थिए ।
माधवकुमार नेपालले पार्टी विभाजन गर्दा उनी आफ्नै गुटको नेतृत्वकर्तासँग आएर समाजवादी भएका हुन् । दुई पटक एमालेबाट सांसद बनेका उनी एक पटक समाजवादीबाट र अहिले पुनर्गठित नेकपाबाट सांसद बनेका छन् । डोल्पामा चार पटक सांसद बन्न सफल भएका धनबहादुर र कर्णबहादुरबीच योपटक प्रतिस्पर्धा थियो ।
धनबहादुर र कर्णबहादुर सहोदर दाजुभाई हुन् । दाजु कर्णबहादुर नेपाली काँग्रेसबाट लडेका थिए । उनी काँग्रेसका सहमहामन्त्री पनि हुन् । भाइसँग चुनाव लडेका उनी तेस्रो भए । यस्तै, नेकपाबाट कालीकोटमा महेन्द्रबहादुर शाही विजयी भएका छन् । प्रतिनिधिसभामा शाहीको यो तेस्रो जित हो । उनी २०७४ मा कर्णाली प्रदेशसभामा विजयी पहिलो मुख्यमन्त्रीसमेत बनेका थिए ।

नेकपाबाट रुकुम पश्चिममा गोपाल शर्मा र सल्यानमा रमेश मल्ल निर्वाचित भए । यी तीनै जना पूर्वमाओवादीका नेता हुन् । नेकपाबाट जाजरकोटमा शक्तिबहादुर बस्नेत, सुर्खेत १ मा जीतबहादुर राना, हुम्लामा डा. दीपेन्द्र रोकाया, दैलेखमा अम्मरबहादुर थापा, मुगुमा चन्द्रबहादुर शाही नेपाली काँग्रेससँग पराजित भए । जाजरकोटका बस्नेत २०७० यताका सबै निर्वाचनमा विजयी भएका थिए । यस पटक उनको सांसद बन्ने तेस्रो प्रयास असफ भएको छ ।
सुर्खेत २ मा झकबहादुर मल्ल रास्वपा र जुम्लामा नरेश भण्डारी राप्रपासँग पराजित भए । दैलेख–२ मा योगेन्द्रबहादुर शाही एमालेसँग पराजित भए । अहिलेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि कर्णालीबाटै साख जोखिएको छ । राजावादी दल राप्रपाले देशभर एउटा मात्र सिट जितेको छ ।
जुम्लाबाट सांसद दोहोरिएका राप्रपाका ज्ञानबहादुर शाहीले राप्रपाको साख जोगाएका हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनले राप्रपाबाटै लडेर जुम्लामा जितेका थिए । त्यतिबेला काँग्रेस–माओवादीको गठबन्धनलाई हायलकायल पारेर पहिलो प्रयासमै शाही सांसद बनेका थिए ।
देशभर रास्वपाको लहर चलेका बेला कर्णाली केही जिल्लामा खासै मत पाउन सकेन । सुर्खेत–२ रास्वपा जिल्ला सभापति रमेशकुमार सापकोटाले काँग्रेस, एमाले र नेकपालाई पछि पारेर जित निकाले । उनले १४ हजार बढी मतान्तरले जित निकालेका छन् ।

सल्यान, सुर्खेत, दैलेखमा रास्वपाले सन्तोषजनक मत पाएको छ । यी बाहेक अन्य क्षेत्रमा रास्वपाका उम्मेदवारले अपेक्षाकृत मत प्राप्त गर्न सकेनन् । सल्यानमा उपविजेता बनेका रास्वपाका ललितकुमार चन्दले २० हजार नौ सय चार मत ल्याएका छन् ।
सुर्खेत १ मा टेकबहादुर सिंहले १४ हजार सात सय २९ मत प्राप्त गरे । दैलेख–१ मा उम्मेदवार रहेको नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१, दैलेख–२ मा बखतबहादुर शाहीले ६ हजार सात सय ९७ र कालीकोटका उम्मेदवारले तीन हजार एक सय एक मत पाए ।
जुम्लाबाट गएको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी विनिता कठायतले पनि अपेक्षाकृत मत प्राप्त गर्न सकिनन् । उनले चार सय २१ प्राप्त गर्दा डोल्पामा एक सय ८१, हुम्लामा एक हजार ६४, मुगुमा पाँच सय ३० रुकुम पश्चिममा चार हजार ७६ र जाजरकोटमा दुई हजार चार ७१ मत रास्वापका उम्मेदवारले पाएका छन् ।
किन कमजोर बन्यो एमाले ?
कर्णालीमा गएका दुई निर्वाचनबाट एमालेका पक्षमा बलियो जनाधार देखिन्थ्यो । २०७४ मा तत्कालिन माओवादी केन्द्रसँग गठवन्धन गरेको एमालेले प्रतिनिधिसभामा कांग्रेसलाई क्लिनस्वीप गरेको थियो । २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा एक लाख ८२ हजार आठ सय ४३ र प्रदेशभारमा एक लाख ६९ लाख सात सय ५६ मत प्राप्त गरेको थियो ।
यो मत कांग्रेस र तत्कालिन माओवादी केन्द्रको तुलनामा निकै लोकप्रिय थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १२ मध्ये ६ सिट र प्रदेशसभामा ४० सिटमध्ये २० सिट जितेर कर्णालीमा पहिलो दल बनेको थियो एमाले । माओवादीले आधार इलाका दाबी गर्ने प्रदेशमा एमालेको यो सांगठनिक अवस्थालाई कमजोर भन्न सकिने अवस्था थिएन ।
२०७९ को आमनिर्वाचन परिणामलाई हेर्ने हो भने पनि एमालेले कर्णालीबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा एक लाख ८३ हजार एक सय ३३ र प्रदेशसभामा एक सय लाख ८३ हजार नौ सय ५० मत पाएको थियो ।
उक्त निर्वाचनमा कांग्रेस–माओवादी र समाजवादी लगायतका पाँच दलिय गठवन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको एमालेले सन्तोषजनक मत प्राप्त गरेपनि प्रतिनिधिसभातर्फका सबै सिट गुमाएको थियो । तर समानुपातिकमा कांग्रेस, माओवादी केन्द्रभन्दा बढी मत एमालेले नै पाएको थियो । २०७९ को निर्वाचनमा कर्णालीमा शून्य भएको एमालेले यसपटक कम्तिमा पाँच वटा सिट जित्ने अपेक्षा गरेको थियो । तर उसको पक्षमा एउटा सिट मात्र आएको छ । एमालेले दैलेख क्षेत्र नम्बर २ मात्रै जित निकाल्न सफल भयो ।
एमालेका लक्ष्मीप्रसाद पोखरेल यो क्षेत्रबाट निर्वाचित भएका छन् । अघिल्लो पटक उनैलाइ हराएका काँग्रेसका दिक्पालकुमार शाही यो पटक पराजित भएका छन् । कर्णालीमा एमाले कमजोर हुनुको कारण एमाले विभाजन र प्रभाव जमाउने व्यक्तिले पार्टी परित्याग देखिन्छ । एमाले स्रोतका अनुसार सुर्खेत, दैलेखका दुई, सल्यान, डोल्पा र मुगुमा जित निकाल्न सकिने आकलन थियो । तर एमाले विभाजनपछि माओवादीमा मिसिएको समाजवादीका कारण नतिजा उल्टिएको छ ।
सुर्खेत–२ र दैलेख–१ मा एमाले छाडेर रास्वपामा लागेका नेताले नतिजा फेरबदल गरेका छन् । जसका कारण आफुलाई सांगठनिक मतमा बलियो ठान्ने एमाले यस पटक दलहरु एक्ला एक्लै लड्दा पनि पुछारमा पुगेको छ ।






