माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो

गाेल्डेन बुढा

जुम्ला ,२६ माघ।
जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर,घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ । जहाँ हिजोसम्म आमाको स्वर थियो, आज त्यहीँ मौनता बसेको छ । एउटी आमाको असमयिक मृत्युसँगै पाँच बालबालिकाको जीवन एकाएक अनिश्चितताको भिरालोमा उभिएको छ ।गत बिहीबार (अर्थात)माघ १५ गते अन्दाजी ३७ वर्षीया हाँसु वि.क दैनिकीका लागि आवश्यक माटो कोर्न घर पारिको करिब एक किलोमिटर टाढाको डाँडातिर गइन् । त्यो यात्रा कहिल्यै नफर्किने हुने कल्पना उनले गरेकी थिइनन् । माटीखान कोर्दै गर्दा अचानक भत्किएको ढिस्कोले उनलाई पुर्‍यो, र क्षणभरमै पाँच सन्तानको आमाको सास रोकियो ।त्यही क्षणदेखि बड्की गाउँ शोकको छायाँमा छ । हाँसुको मृत्युपछि उनका श्रीमान् ददिमल वि.क एकैचोटि दुई बोझ बोकेर बाँचिरहेका छन्।एकातिर धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यता, अर्कोतिर आमाविहीन भएका पाँच सन्तानको भविष्य। “श्रीमती गइन्, सबै काम ठप्प भयो,” ददिमल भन्छन्, “कमाएर बच्चा पाल्ने मान्छे म, आज घरमै थन्किनुपरेको छ ।”ती पाँच सन्तानमध्ये तीन वर्षका समिर कामी अझै आमाको काख खोज्छन्। उनी बुझ्दैनन्।आमा किन फर्किनन् । १३ वर्षका शंकर, १५ वर्षका सुनिल कामी, १७ वर्षकी छोरी सुर्जा र १९ वर्षकी सृजनाले बुझिसकेका छन्।आमाको मृत्युको अर्थ । तर बुझ्नु र सहनु एउटै हुँदैन ।ददिमलका काका वलि सुनारका अनुसार माटो कोर्न गएका बेला माटीखान भत्किँदा हाँसु पुरिइन् । स्थानीयका अनुसार दिउँसो श्रीमतीसहित दुई जना महिला करिब एक किलोमिटर टाढाको किनडाडाँमा माटो कोर्न गएका थिए । माटो कोर्दै गर्दा अचानक भत्किएर हाँसु पुरिइन् । अर्की महिला गाउँमा मान्छे बोलाउन दौडिइन्, तर माटोले पूरै छोपिसकेकाले उद्धार गर्न जाँदाजाँदै उनलाई बचाउन नसकिएको स्थानीयले बताए ।घटनालगत्तै उपचारका लागि नजिकैको कालिकाखेत्तु प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रेम वलीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि माटोको ढिस्कोले पुरिएर मृत्यु भएको पुष्टि गरेको छ ।हाँसुको मृत्यु केवल एउटा दुर्घटना मात्र होइन, यो गरिबी र जोखिमसँग जोडिएको ग्रामीण यथार्थको कठोर चित्र पनि हो। जीवन चलाउन माटो कोर्नुपरेको बाध्यता, र त्यही माटोले जीवन खोसिदिएको विडम्बना।आज ती पाँच बालबालिकाको भविष्य यही प्रश्नमा अडिएको छ।पढाइ, पालनपोषण र भोलिको जिम्मा कसले लिने ?स्थानीयवासीहरूले पाँच बालबालिकाको शिक्षा–दीक्षा तथा जीवनयापनमा गम्भीर समस्या आउने भन्दै सहयोगी निकाय र सरोकारवाला संस्थालाई सहयोगका लागि आग्रह गरेका छन् । आमाको काख हराएपछि यहाँ केवल एउटा परिवार मात्र होइन, समाजकै संवेदनशीलता पनि परीक्षा दिइरहेको छ ।माटोले आमालाई लियो, तर ती पाँच सन्तानलाई अब कसले थाम्ने ?यो प्रश्न आज बड्की गाउँमा मात्र होइन, सिंगो समाजको आँगनमा गुञ्जिरहेको छ ।

माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो

बाँकेमा ७५ थान हातहतियार बुझाइयो: गाउँगाउँमा मतदाता

Leave a comment

Your email address will not be published. Required fields are marked *