नरैनापुर गाउँपालिकाको आफ्नै लोगो सार्वजनिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान झल्काउने प्रयास

बाँके,२६ माघ ।

बाँकेको पूर्वी क्षेत्रमा अवस्थित नरैनापुर गाउँपालिकाले आफ्नै सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान झल्कने आधिकारिक लोगो तयार गरी कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको बैठकबाट लोगो पारित भएसँगै यसलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो। स्थानीय तह स्थापना भएको झण्डै नौ वर्षपछि गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गर्नु स्थानीय पहिचान निर्माणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।
अध्यक्ष शाहका अनुसार लोगो निर्माण गर्दा नरैनापुरको बहुसांस्कृतिक पहिचान, धार्मिक सहिष्णुता, प्राकृतिक सम्पदा तथा स्थानीय जनजीवनलाई प्राथमिकतामा राखिएको छ। उहाँले लोगोले गाउँपालिकाको मौलिक विशेषता उजागर गर्दै आगामी दिनमा नरैनापुरलाई छुट्टै पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “हाम्रो पालिकामा विभिन्न धर्म, संस्कृति र समुदायका मानिसहरू सहअस्तित्वमा बसोबास गर्दै आएका छन्। त्यही सहिष्णुता, विविधता र मौलिकतालाई समेटेर लोगो तयार गरिएको हो,” अध्यक्ष शाहले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार लोगोमा नेपालको राष्ट्रिय झण्डालाई समेटेर राष्ट्रियता र एकताको सन्देश दिइएको छ। त्यस्तै, वनजंगल तथा हरियाली क्षेत्रलाई समावेश गरेर पालिकाको प्राकृतिक सम्पदालाई उजागर गरिएको छ। लोगोमा हिन्दु तथा मुस्लिम समुदायका धार्मिक स्थलहरूको चित्रण गरिनुले यहाँको धार्मिक सद्भाव र सामाजिक एकतालाई प्रतिनिधित्व गरेको उहाँको भनाइ छ। साथै गाई–भैँसी जस्ता पशुपालनसँग सम्बन्धित प्रतीकहरू राखेर कृषि र पशुपालनमा आधारित स्थानीय जीवनशैलीलाई झल्काइएको छ। गाउँपालिकाको नक्सा समावेश गरिएकोले भौगोलिक पहिचानलाई समेत स्पष्ट बनाएको वलीले जानकारी दिनुभयो।
यसैगरी वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले लोगोमा रैथाने बाली तथा गहुँलाई समेटिएको बताउँदै यसले कृषि उत्पादन र स्थानीय अर्थतन्त्रमा कृषिको महत्वलाई देखाउने उल्लेख गर्नुभयो। उहाँका अनुसार विकास र पूर्वाधार विस्तारको प्रतीकका रूपमा सडकको संकेत समेत लोगोमा समावेश गरिएको छ। “लोगोले नरैनापुरको वर्तमान अवस्था मात्र होइन, भविष्यको विकास यात्रालाई समेत संकेत गर्छ,” बस्नेतले भन्नुभयो। उहाँले लोगो कार्यान्वयनपछि गाउँपालिकाको पहिचान अझ स्पष्ट, व्यवस्थित र संस्थागत रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
लोगो निर्माण प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउन खुला प्रतिस्पर्धामार्फत इच्छुक सर्जकहरूबाट डिजाइन संकलन गरिएको गाउँपालिकाले जनाएको छ। प्राप्त डिजाइनहरू मध्ये उत्कृष्ट डिजाइन छनोट गरी पालिकाका इन्जिनियर प्रबिन श्रेष्ठको नेतृत्वमा अन्तिम रूप दिइएको थियो। श्रेष्ठका अनुसार लोगो तयार गर्दा स्थानीय समुदायको भावना, ऐतिहासिक पृष्ठभूमि र प्राकृतिक संरचनालाई गहिरो अध्ययन गरी समावेश गरिएको हो। लोगो जनमुखी र अर्थपूर्ण बनेको भन्दै स्थानीयवासीहरूले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।

स्थानीयवासीहरूले लोगो सार्वजनिक भएपछि नरैनापुरको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीय सामाजिक अगुवा तथा बुद्धिजीवीहरूले लोगोले पालिकाको सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता र प्राकृतिक सम्पदाको संरक्षणमा सकारात्मक सन्देश दिने बताएका छन्। साथै सरकारी तथा गैरसरकारी कामकाज, कागजात, सूचना तथा प्रचार सामग्रीमा लोगो प्रयोग भएपछि नरैनापुरको संस्थागत छवि बलियो बन्ने अपेक्षा गरिएको छ।
स्थानीय तह गठनपछि विकास र सेवा प्रवाहमा सक्रिय रूपमा अघि बढ्दै आएको नरैनापुर गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गर्नु प्रशासनिक तथा सांस्कृतिक पहिचान निर्माणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। गाउँपालिकाले आगामी दिनमा स्थानीय कला, संस्कृति, पर्यटन तथा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै समग्र विकासलाई थप तीव्रता दिने लक्ष्य लिएको जनाएको छ।

नरैनापुर गाउँपालिकाको आफ्नै लोगो सार्वजनिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान झल्काउने प्रयास

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’

नरैनापुर गाउँपालिकाको आफ्नै लोगो सार्वजनिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान झल्काउने प्रयास

माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो

Leave a comment

Your email address will not be published. Required fields are marked *