बाँकेमा भाइरल फ्लुका बिरामीको चाप बढ्दै

बाँके, २६ माघ ।
बाँके जिल्लामा पछिल्ला केही दिनयता अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । गत साता परेको वर्षा तथा पहाडी र हिमाली जिल्लामा भएको हिमपातका कारण तराई क्षेत्रमा समेत चिसोको प्रभाव बढेको हो । माघको दोस्रो सातामा केही कम भएको चिसो फेरि बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवन, व्यापार–व्यवसाय तथा स्वास्थ्य क्षेत्रमा समेत असर देखिन थालेको छ ।
चिसो बढेसँगै बिहान र साँझको समयमा बाहिर निस्कन नै कठिन हुन थालेको स्थानीय बताउँछन् । नेपालगन्ज–२ का स्थानीय रामप्रसाद  श्रेष्ठले पछिल्लो समय चिसोका कारण दैनिक कामकाजमा समस्या भइरहेको बताए ।
“अघिल्लो साता चिसो अलि कम भएको जस्तो लागेको थियो, तर अहिले फेरि अत्यधिक बढेको छ। बिहान घरबाट निस्कनै गाह्रो हुन्छ । चिसोका कारण स्वास्थ्यमा पनि असर परेको महसुस भइरहेको छ,” श्रेष्ठले भने । त्यस्तै, नेपालगन्ज त्रिभुवन चोकका व्यापारी अतुल गुप्ताले चिसोका कारण बजारको गतिविधि नै सुस्त भएको बताए । उनका अनुसार चिसो बढेसँगै बजारमा मानिसको चहलपहल घटेको छ ।
“चिसोले गर्दा मानिसहरू अनावश्यक रूपमा बाहिर निस्कन चाहँदैनन् । ग्राहकको संख्या घटेको छ । विशेषगरी बिहान र बेलुका व्यापार झन् कम भएको छ । दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न वर्गलाई काम पाउन निकै गाह्रो भइरहेको छ,” गुप्ताले बताए । उनले चिसोका कारण रिक्सा बाहेक अन्य सवारी साधनको सञ्चालन समेत घटेको उल्लेख गरे ।
चिसो बढेसँगै जिल्लामा मौसमी भाइरल फ्लुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ज्वरो, रुघाखोकी, निमोनिया तथा कोल्ड डायरियालगायत रोगका बिरामी बढिरहेका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज–१२ का ६५ वर्षीय बिरामी रामलाल यादवले चिसोका कारण स्वास्थ्य अवस्था बिग्रिएको बताए । “दुई दिनदेखि ज्वरो, रुघाखोकी र सास फेर्न गाह्रो भएपछि अस्पताल आउनुपर्‍यो । चिसो बढेपछि पुरानो दमको समस्या झन् बल्झिएको छ। न्यानो व्यवस्था गर्न नसक्दा झन् समस्या भइरहेको छ,” यादवले भने ।
यसैगरी, नेपालगन्ज–७ की ८ वर्षीया बालिकाकी आमा मीना थापाले छोरीमा देखिएको भाइरल फ्लुका कारण चिन्ता बढेको बताइन् । “छोरीलाई एक्कासि ज्वरो आयो, घाँटी दुख्ने र नाकबाट सिँगान बग्ने समस्या देखियो । चिसोका कारण बच्चाहरू बढी प्रभावित भएका छन् । अस्पतालमा बिरामीको संख्या पनि धेरै देखियो,” थापाले भनिन् ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले चिसो बढेसँगै जिल्लाका विभिन्न स्थानमा भाइरल फ्लु देखिन थालेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेकी छन् । उनले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने बताइन् ।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार पछिल्लो समय उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान बग्ने तथा पखालाजस्ता लक्षण भएका बिरामीको संख्या बढ्दै गएको छ । उनले मौसम परिवर्तनसँगै यस्ता समस्या बढ्ने भएकाले लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन सुझाव दिए ।
यसैगरी सञ्जिविनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले पनि पछिल्लो समय भाइरल फ्लुका बिरामीको चाप पुनः बढेको जानकारी दिए । उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये अधिकांश बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । उनले चिसोबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरे ।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न न्यानो कपडा लगाउने, तातो तथा पोषिलो खानेकुरा सेवन गर्ने, अत्याधिक चिसोमा अनावश्यक रूपमा बाहिर ननिस्कने, सरसफाइमा ध्यान दिने र पर्याप्त पानी पिउने सुझाव दिएका छन् । साथै ज्वरो, रुघाखोकी, सास फेर्न गाह्रो हुने वा अन्य स्वास्थ्य समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकहरूले आग्रह गरेका छन् । चिसोको प्रभाव अझ केही दिन रहने मौसमविद्को अनुमानसँगै सर्वसाधारणलाई सावधानी अपनाउन स्वास्थ्यकर्मी तथा सरोकारवालाले आग्रह गरेका छन् ।
बाँकेमा भाइरल फ्लुका बिरामीको चाप बढ्दै

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *