बाँके –१ मा मानव–वन्यजन्तु द्वन्द्व र राप्ती कटान प्रमुख चुनावी मुद्दा

बाँके ,२३ माघ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातासँग भेटघाट तथा घरदैलो अभियानमा व्यस्त भएका छन्। उम्मेदवारहरूले विभिन्न वाचा र प्रतिबद्धता व्यक्त गरिरहेका बेला मतदाताहरूले पनि आफ्नो क्षेत्रका दीर्घकालीन समस्यालाई प्राथमिकतासहित उठाउन थालेका छन्। यस क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र राप्ती नदीको कटान तथा डुबान प्रमुख चुनावी मुद्दाका रूपमा देखिएका छन्।
कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्जको प्रभावका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दो क्रममा छ। साथै, राप्ती नदीको कटान र बाढीजन्य डुबानले प्रत्येक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको छ।
राप्तीसोनारी गाउँपालिका–९, तल्लो महादेवा निवासी हेम चापागाईंले जङ्गली जनावर बस्तीमा दिनहुँजसो पस्ने समस्या गम्भीर बन्दै गएको बताउनुभयो। हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुने घटना बढ्दै गएकाले यस समस्याको दीर्घकालीन समाधान ल्याउने उम्मेदवारलाई मात्र समर्थन गर्ने उहाँको भनाइ छ। निकुञ्ज आसपासका क्षेत्रका खेतीपाती जङ्गली जनावरले नोक्सान पुर्‍याउने र बाघको आक्रमणबाट पशु तथा मानवले ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिँदै आएकाले राजनीतिक दल तथा उम्मेदवारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षको पहिलो छ महिनामै राप्तीसोनारी गाउँपालिका–९, गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्री र राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरीका मरिचमान भण्डारीले बाघको आक्रमणबाट ज्यान गुमाएका घटनाले स्थानीयलाई थप त्रसित बनाएको छ। सो क्षेत्रमा यस्ता घटना निरन्तर भइरहेकाले मतदाताले प्रभावकारी व्यवस्थापनको माग गरिरहेका छन्।
राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बाघलगायत जङ्गली जनावरको आक्रमणबाट मानव जीवनसँगै पशुचौपाया र खेतीपातीमा ठूलो क्षति भइरहेको बताउनुभयो। मतदाताले अब मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्पष्ट योजना र कार्यान्वयनको माग गरिरहेको उहाँको भनाइ छ।
यसैगरी, राप्तीसोनारी गाउँपालिका–७ का अरुण यादवले राप्ती नदीको कटान र बाढीका कारण स्थानीयवासी वर्षेनी समस्यामा पर्ने गरेको बताउनुभयो। यस क्षेत्रका लागि नदी नियन्त्रण सबैभन्दा ठूलो आवश्यकता भएकाले यस पटक मतदाताले यसलाई चुनावी मुद्दाका रूपमा उठाएको उहाँले बताउनुभयो। वडा नम्बर–७ का वडाध्यक्ष रामलखन थारूले पनि राप्ती नदीको कटान र डुबान रोक्न स्पष्ट योजना ल्याउने उम्मेदवारलाई मात्र स्थानीय समर्थन मिल्ने जनचाहना रहेको जानकारी दिनुभयो।
निर्वाचन क्षेत्र बाँके–१ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवारहरूले पनि मतदाताको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपाका उम्मेदवार नरेन्द्र पाण्डेले जनतासँगको भेटघाटमा वन्यजन्तु व्यवस्थापनका लागि प्रभावकारी योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेलले पनि मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउने बताउनुभएको छ।
यसैगरी, नेकपा (एमाले) बाट अघिल्लो निर्वाचनमा विजयी भई पुनः उम्मेदवार बनेका सूर्य ढकालले विगतमा निकुञ्ज क्षेत्रमा तारबार गर्ने योजना सुरु गरिएको उल्लेख गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम अघि बढाउने दाबी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश चौधरी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार कृष्णा केसी नमुनाले पनि मानव–वन्यजन्तु द्वन्द्व समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरेका छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके–१ बाट नेकपा (एमाले) का सूर्य ढकाल २५ हजार २६ मतसहित विजयी भएका थिए। उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र) का महेश्वर गहतराजले १९ हजार ६३२ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा स्थानीय समस्याको समाधानका लागि उम्मेदवारहरूले कति प्रभावकारी योजना ल्याउँछन् र कार्यान्वयनको सुनिश्चितता कसरी दिन्छन् भन्ने विषय मतदाताको प्रमुख चासोको विषय बनेको छ।

बाँके –१ मा मानव–वन्यजन्तु द्वन्द्व र राप्ती कटान प्रमुख चुनावी मुद्दा

सुर्खेतमा प्रिमियम विद्युतीय सवारी ‘iCAUR V23’ सार्वजनिक,

बाँके –१ मा मानव–वन्यजन्तु द्वन्द्व र राप्ती कटान प्रमुख चुनावी मुद्दा

घुयँत्राे: “स्वास्थ्य विमा : भोट बैंकको सपना,

Leave a comment

Your email address will not be published. Required fields are marked *