सुर्खेतमा प्रिमियम विद्युतीय सवारी ‘iCAUR V23’ सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार

सुर्खेत,२३ माघ।
कर्णाली प्रदेशमा विद्युतीय सवारी साधनको विस्तारलाई थप गति दिने उद्देश्यसहित बहुप्रतिक्षित iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सुर्खेतमा सार्वजनिक गरिएको छ। कर्णाली प्रदेशका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि.ले बुधबार उक्त प्रिमियम विद्युतीय गाडी सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार कर्णालीको दुर्गम भूगोल र आधुनिक यातायात आवश्यकतालाई लक्षित गर्दै प्रिमियम स्तरको विद्युतीय सवारी उपलब्ध गराउने उद्देश्यले V23 सार्वजनिक गरिएको हो। यसलाई प्रदेशमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
गाडी सार्वजनिक कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष भद्र भण्डारी, स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि.का महा निर्देशक सैयद अनवर अली, निर्देशकहरू सोमराज थापा र रोशन सोब, एसपीजी अटोमोबाइल्स प्रा. लि.का प्रतिनिधिहरू, स्थानीय सञ्चारकर्मी तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“Born to Play” भन्ने अन्तर्राष्ट्रिय अवधारणामा डिजाइन गरिएको iCAUR V23 रेट्रो शैलीबाट प्रेरित पूर्ण विद्युतीय अफ–रोड एसयूभी हो। क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको संयोजनले यसलाई बजारमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ। नेपालमा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसलाई परम्परागत पेट्रोल गाडीको दिगो र स्टाइलिश विकल्पका रूपमा हेरिएको छ।

यस एसयूभीमा ५९.९३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। १०० किलोवाट क्षमताको मोटर रहेको यस गाडीले एक पटक पूर्ण चार्ज गर्दा ४०१ किलोमिटर (सीएलटीसी) सम्मको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ।
गाडीमा क्लासिक गोलो हेडलाइट र २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहितको ‘बक्सी’ डिजाइन राखिएको छ, जसले शहर तथा अफ–रोड दुवै सडकमा सहज सञ्चालनको क्षमता प्रदान गर्ने बताइएको छ। साथै १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास (एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम) जस्ता अत्याधुनिक सुरक्षा तथा प्रविधियुक्त सुविधा पनि समावेश गरिएको छ। पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको ट्रंक स्पेस उपलब्ध हुने भएकाले लामो यात्राका लागि समेत उपयुक्त मानिएको छ।
प्रिमियम लाइफस्टाइल सेगमेन्टलाई लक्षित गर्दै बजारमा ल्याइएको iCAUR V23 को डेलिभरी प्रि–बुकिङ गरेका ग्राहकहरूलाई तत्काल सुरु गरिने कम्पनीले जनाएको छ। ग्राहकहरूले एसपीजी अटोमोबाइल्सको आधिकारिक डिलर नेटवर्क स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि.मार्फत गाडी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

विद्युतीय सवारीप्रति बढ्दो आकर्षणबीच सुर्खेतमा नयाँ मोडल सार्वजनिक हुनु कर्णाली प्रदेशमा वातावरणमैत्री यातायात प्रवर्द्धनका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।






