निर्वाचनको तयारी तीव्र : ६५४ कर्मचारी र ९७४ सुरक्षाकर्मी परिचालन गरिने

काली बहादुर परियार
जुम्ला ,२३ माघ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा व्यापक जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन सम्पन्न गर्न जिल्लाभर ६ सय ५४ जना कर्मचारी खटाइने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी तथा स्वयंसेवकसहितको टोली निर्वाचनमा परिचालन गरिनेछ ।
जिल्लाभर ११० वटा मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ ।
त्यस्तै, आवश्यकता अनुसार स्वयंसेवक पनि मतदान केन्द्रमै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।
निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ । जसमा महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना रहेका छन् ।
सुरक्षाका लागि भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी गरी कुल ९७४ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन जिल्लाका ८ वटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा जुम्लामा प्रशासनिक, सुरक्षा र जनचेतनाको तयारी तीव्र बन्दै गएको छ।






