बाँकेमा शान्तिपूर्ण मतदान : ३ बजेसम्म ५० प्रतिशत मत खस्यो, नयाँ पुस्तामा उत्साह तर केन्द्र कतैकतै सुनसान

बाँके ,२१ फाल्गुन ।
प्रतिनिधि सदस्य निर्वाचनअन्तर्गत बाँके जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज का अनुसार जिल्लाभरका मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान कार्य अघि बढिरहेको छ।
कार्यालयका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले अपराह्न ३ बजेसम्म करिब ५० प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाताको लाम देखिएको थियो र मतदान प्रक्रिया व्यवस्थित तथा सहज रूपमा सञ्चालन भइरहेको छ।

जिल्लाभर शान्तिपूर्ण वातावरण कायम रहेको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया निर्विघ्न रूपमा अगाडि बढिरहेको बताउनुभयो। निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी सक्रिय रूपमा परिचालित छन्।

मतदान केन्द्रहरूमा बिहानको समयमा उल्लेखनीय भीड देखिए पनि दिउँसो केही स्थानमा केन्द्रहरू तुलनात्मक रूपमा सुनसान देखिएका छन्। विशेषगरी नयाँ पुस्ताका मतदातामा उत्साह देखिए पनि अपेक्षाकृत कम उपस्थितिका कारण केही केन्द्र शान्तजस्तै देखिएका हुन्। युवादेखि ज्येष्ठ नागरिकसम्म मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
जिल्ला निर्वाचन कार्यालय बाँके का अनुसार मतदाताहरूले आफ्नो प्रतिनिधि छान्ने अवसरलाई लोकतान्त्रिक उत्सवका रूपमा लिँदै मतदान गरिरहेका छन्। बाँकी समयसम्म पनि विभिन्न मतदान केन्द्रमा मतदाताको आगमन जारी रहने अपेक्षा गरिएको छ।






