बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडी,२२ माघ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो ।
पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो । “दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरुले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, हाताहातीको विवरण आएको छैन,” डिएसपी रायले भन्नुभयो ।
जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किदै गरेको बुझिएको छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । उद्धारमा खटिएका स्थानीयहरुका अनुसार ठुलै हाताहाती भएको छ । पूर्ण विवरण आउन बाँकी रहेको छ । स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।






