अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित सूर्य ढकाल पुनः चुनावी मैदानमा

बाँके ,२२ माघ।
बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले अधुरा विकासका योजना पूरा गर्ने लक्ष्यसहित पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
२०४५ सालदेखि राजनीतिमा सक्रिय ढकालले लामो राजनीतिक अनुभव, संघर्ष र उतारचढावको यात्रासँगै जनताको भरोसाको प्रतिनिधि बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। उनका अनुसार अहिलेको निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई देशको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो।
ढकालले वर्तमान निर्वाचनले देशको शासन प्रणाली र सामाजिक रूपान्तरणसँग जोडिएका महत्वपूर्ण प्रश्नहरू उठाएको दाबी गरे। “देशको शासन सत्ता नेपाली नागरिकले नै सञ्चालन गर्ने कि विदेशी प्रभावमा चल्ने शक्तिहरूले ?” भन्ने प्रश्न उनले उठाए। साथै, समाजलाई शान्तिपूर्ण रूपमा परिवर्तन गर्ने कि हिंसा, लुटपाट र अराजकताको बाटो रोज्ने भन्ने विषय पनि निर्वाचनसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ।
एमालेका तर्फबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ढकालले पार्टीले बाँके क्षेत्र नम्बर–१ बाट सर्वसम्मत रूपमा उम्मेदवारी दिएको जानकारी दिए। अघिल्लो निर्वाचनमा आफूलाई मत दिएका धेरै मतदाताबाट पुनः उम्मेदवारी दिन आग्रह आएपछि चुनावी मैदानमा उत्रिएको उनले बताए।
निर्वाचित भएपछि सुरु गरिएका विकासका योजनाबारे उल्लेख गर्दै ढकालले हुलाकी राजमार्ग अन्तर्गतका अधुरा पुलहरूको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार गरिएको र क्षतिपूर्ति रकम वृद्धि गरिएको उनको दाबी छ।
त्यसैगरी, मध्यवर्ती क्षेत्रको पूर्वाधार विकासका लागि कानुनी सुधार गरिएको, बैजापुर औद्योगिक ग्राम स्थापना गरेर युवालाई रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गरिएको उनले बताए। साथै, तटबन्ध निर्माण, पुल निर्माण तथा विद्यालयका अधुरा भवन सम्पन्न गर्ने काम समेत अघि बढाइएको उनको भनाइ छ।
ढकालले आफ्नो कार्यकालमा बाँके र बर्दियाका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी बजेट ल्याउन सफल भएको दाबी गरे। “जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, संसदमा क्षेत्रका समस्या उठाउने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम गरेको छु,” उनले भने।
मतदातालाई सन्देश दिँदै उनले मतदानलाई नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै योग्य र जनताको पहुँचमा रहने प्रतिनिधिलाई मतदान गर्न आग्रह गरे।
लामो राजनीतिक अनुभव र संघर्षलाई आधार बनाउँदै पुनः चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्तिपूर्ण परिवर्तनको मार्गलाई सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।






