पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके,२२ माघ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिनुभएको छ।
इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै गएको उल्लेख गर्नुभयो । “अब प्रहरी कारबाहीमुखी मात्र नभई सेवा र सहयोगमुखी संस्थाका रूपमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो. “पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रमअन्तर्गत युनोप्सद्वारा निर्माण गरिएको उक्त भवन महिलासहित बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको हो । सेवाग्राहीले प्राप्त गर्ने सेवाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “यस केन्द्रमार्फत सेवाग्राहीले परामर्श, उजुरी दर्ता, अस्थायी आश्रय तथा आवश्यक कानुनी प्रक्रियासम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्, प्रहरीले पीडितको गोपनीयता, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सेवा दिनेछ ।”
उद्घाटन समारोहमा युनोप्सका अपरेसन को–अर्डिनेटर इन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने युनोप्सका इन्फ्रास्ट्रक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा युनोप्स नेपालका कन्ट्री म्यानेजर कोमल कार्की र बाँकेका प्रमुख जिल्ला अधिकारी विपीनकुमार तामाङले पनि मन्तव्य राख्नुभएको थियो ।
करिब २८७.२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त भवनको निर्माण लागत रु दुई करोड १४ लाख ७३ हजार १०७.६१ रहेको छ । भवन निर्माणसम्बन्धी सम्झौता २०८१ साउन १० गते सम्पन्न भएको हो भने निर्माण कार्य रोयल कन्स्ट्रक्सन, धनगढी (कैलाली) ले सम्पन्न गरेको हो ।
भवनको भुईँ तल्लामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालबालिका कक्ष, बैठक कक्ष र प्रशासन अभियोजन कक्ष रहेका छन् । पहिलो तल्लामा प्रमुख आवास, भान्सा तथा भोजन कक्ष, दुई वटा प्रहरी ब्यारेक र दुई वटा शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माण कार्यमा योगदान पुर्‍याउने व्यक्तित्वलाई समारोहमा प्रमुख अतिथिद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै कोहलपुर क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायिक पहुँच र सेवा प्रवाहमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।रासस

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

प्रदेश मन्त्रिपरिषद् बैठकः वन ऐन संशोधन विधेयक

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित सूर्य ढकाल

Leave a comment

Your email address will not be published. Required fields are marked *