जुम्लाका लागि शान्तिमहतकाे बाचा पत्र

गाेल्डेन बुढा

जुम्ला ,२२ माघ।
जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार छन् शान्तिलाल महत। देशको बदलिँदो राजनीतिक परिवेश, बढ्दो भ्रष्टाचार, कुशासन र वैदेशिक हस्तक्षेपको चुनौतीबीच जुम्लेली जनताको अधिकार र भविष्यका सवाल संसदसम्म पुर्‍याउने अठोटसहित उनी उम्मेदवार बनेका हुन्।उनलेे बिहीबार दिउँसो सदरमुकाममा पत्रकार सम्मेलनमार्फत यस्तो स्थानीय बाचा पत्र सार्वजनिक गरेका हुन्।महत आफूलाई “जनताको प्रतिनिधि मात्रै होइन, जुम्लाको न्यायोचित विकासका लागि पैरवी गर्ने पहरेदार” को रूपमा परिभाषित गर्छन्। मातृभूमि र जुम्लेली जनतालाई सिरमा राखेर राजनीति गर्ने प्रतिबद्धता उनको चुनावी अभिव्यक्तिको केन्द्रीय भाव हो।शान्तिलाल महतको राजनीतिक प्राथमिकतामा सबैभन्दा अगाडि छ। सडक र पहुँच। ‘१२ महिना खुला सडक, १२ महिना विकास’ उनको नारा मात्रै होइन, जुम्लाको यथार्थबाट जन्मिएको दृष्टि हो। कर्णाली राजमार्गलाई दुई लेनमा स्तरउन्नति गर्दै वर्षभरि सञ्चालन, जुम्लालाई चीनसँग जोड्ने अन्तर्राष्ट्रिय पहुँचको सडक, जुम्ला–डोल्पा–मुस्ताङ हुँदै काठमाडौँ जोड्ने पर्यटकीय मार्गजस्ता योजना उनको विकास सोचको मेरुदण्ड हुन्। उनका अनुसार सडक केवल यातायातको साधन होइन, शिक्षा, स्वास्थ्य, बजार र अवसरसँग जुम्लालाई जोड्ने मेरुदण्ड हो।

महतको प्रोफाइलमा अर्को बलियो पक्ष हो, स्वास्थ्य र शिक्षा। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केन्द्र बनाएर सिँजामा स्याटेलाइट अस्पताल स्थापना, टेलिमेडिसिन विस्तार र गाउँस्तरमै २४ घण्टा स्वास्थ्य सेवा उनको प्राथमिकता सूचीमा छन्। “उपचार अधिकार हो, उपकार होइन” भन्ने उनको धारणा कर्णालीको स्वास्थ्य असमानतामाथिको स्पष्ट राजनीतिक टिप्पणी हो। शिक्षामा उनले डिग्रीमुखी होइन, सीपमुखी प्रणालीको वकालत गरेका छन्। कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालयमा रूपान्तरण गर्ने, विद्यालय तहदेखि IT र AI शिक्षाको व्यवस्था गर्ने उनको सोच जुम्लालाई भविष्यसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।शान्तिलाल महतको राजनीतिक पहिचान पलायनविरुद्धको अडानसँग जोडिन्छ। “पलायन होइन, उत्पादन” भन्ने उनको नाराले जुम्लामै रोजगारी सिर्जना गर्ने लक्ष्य बोकेको छ। जलविद्युत्, कृषि, जडीबुटी, स्याउ, ओखर, पशुपालन, पर्यटन र स्थानीय उद्योगलाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उनको योजना छ। स्थानीय जलस्रोतबाट उत्पादन हुने विद्युत्मा स्थानीयलाई शेयर, ‘Make in Jumla’ नीति, एक गाउँपालिका एक चिस्यान केन्द्र जस्ता प्रस्तावले उनको आर्थिक सोच स्थानीय उत्पादन र स्वदेशी उपभोगतर्फ केन्द्रित देखिन्छ।जुम्लाको पहिचान बचाउँदै समृद्धि जोड्ने दृष्टि पनि महतको प्रोफाइलको महत्वपूर्ण पक्ष हो। सिँजा सभ्यता, चन्दननाथ मन्दिर, तातोपानी, गुठीचौर, रारा–फोक्सुण्डो मार्गलाई पर्यटनको आधार बनाउँदै संस्कृति र अर्थतन्त्रलाई सँगै लैजाने उनको योजना छ। कुसंस्कार र कुरीतिविरुद्ध सभ्य र समतामूलक समाज निर्माणको प्रतिबद्धता उनले राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्।यस्तै जेन्जि लक्षित एजेन्डा महतको प्रोफाइललाई फरक बनाउने अर्को पक्ष हो। डिजिटल जुम्ला, निःशुल्क इन्टरनेट, पारदर्शी शासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र निर्णय प्रक्रियामा युवाको प्रत्यक्ष सहभागितालाई उनले आफ्नो राजनीतिक पहिचानको आधार बनाएका छन्।शान्तिलाल महत प्रतिनिधिसभा निर्वाचनलाई व्यक्तिगत विजयभन्दा ठूलो अवसरका रूपमा लिन्छन्। उनका लागि यो चुनाव जुम्लाको आवाजलाई राष्ट्रिय राजनीतिमा बलियो बनाउने माध्यम हो। मतदान गरेर विजयी गराउन मतदातासँग गरेको उनको अपिल केवल मतको आग्रह होइन, जुम्लाको भविष्यका लागि साझेदारीको प्रस्ताव हो। जुम्लाको भूगोल, पीडा र सम्भावना बुझ्ने नेताका रूपमा आफूलाई स्थापित गर्न खोजिरहेका महतलाई मतदाताले कसरी मूल्याङ्कन गर्नेछन् ।भन्ने निर्णय आउदो फागुन २१ गतेले गर्नेछ।

जुम्लाका लागि शान्तिमहतकाे बाचा पत्र

प्रदेश मन्त्रिपरिषद् बैठकः वन ऐन संशोधन विधेयक

Leave a comment

Your email address will not be published. Required fields are marked *