पूर्वाधार विकास र सेवा प्रवाहमा भेरीगंगाको लय

सुर्खेत, २१ पुस ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले आफ्ना तीन वर्षे कार्यप्रगति सार्वजनिक गरेको छ । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुख बनेका यज्ञप्रसाद ढकालले आफ्ना तीन वर्षे कार्यप्रगति सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख ढकालले आफु नगरपालिकाको नेतृत्वमा आएसँगै पूर्वाधार विकास र नीति, विधियूक्त भेरीगंगा बनाउने प्रयासलाई निरन्तरता दिएको दावी गरे । नगरपालिकालाई नीति, विधि, प्रविधियुक्त बनाउन ५५ भन्दा बढी नयाँ ऐन, नीति, निर्देशिका र कार्यविधि निर्माण भएको उनले बताए ।
यी कानुनहरु राजपत्रमा प्रकाशन भएर कार्यान्वयनको तहमा गएका छन् । कर्मचारीहलाई जनतासँग मुस्कानसहितको सेवा प्रदान गर्न काममा ढिलासुस्ती र झन्झटको अन्त्य गरि जनमैत्री प्रशासनको सुरुवात गरेको ढकालले बताए ।
उनका अनुसार सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । यस्तै, बढ्दो अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै नगरपालिका कार्यालय र बजार क्षेत्रमा सि सि क्यामरा जडान गरिएको छ ।
उनका अनुसार जटिल प्रकृतिका १० रोगहरु जस्तै, मुटु, मृगौला, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, हेडइन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, हिमोफिलिया र प्यारालाईसिसबाट पूर्ण असक्त नागरिकलाई मासिक दुई हजार रुपैयाँ उपचार तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउन सुरु गरिएको छ । यसबाट आर्थिकरुपमा विपन्न नागरिकले उपचार नपाई मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य भएका ढकालको भनाई छ ।
‘भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न भुमि आयोगसँगग समन्वय गरी जग्गा नापजाँच र प्रमाणिकरण कार्य भैरहेको छ,’ नगर प्रमुख ढकालले भने, ‘साबिक मैनतडाको कोटमाझखर्क लगायत क्षेत्रका जग्गाको पूर्जा वितरण भएको अवस्था छ ।’ उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको डिजिटल प्रोफाइलदेखि कृषि वन रणनीति, जलवायु अनुकूलन योजना, खाद्य अधिकार तथा पोषण रणनीतिसमेत निर्माण भएका छन् ।
उपप्रमुख स्वरोजगार कार्यक्रम तथा गरिवसँग नगरप्रमुख कार्यक्रहरु सञ्चालनमा छन् । यस्तै, वैदेशिक रोजगारीमा जान चाहने नगरवासीका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रबाट कार्यान्वयन हुने गरि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृती दिन सुरु गरिएको छ भने, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुलाई सहयोग गर्ने संयत्रको विकास भएको नगर प्रमुख ढकालले बताए ।
यस्ता छन् पूर्वाधार विकासतर्फका प्रगति
भेरीगंगा नगरपालिकाले तीन वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ सार्वजनिक भवन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका पूर्वाधारमा सीमित स्रोत र साधनका बीच जनअपेक्षा अनुरुप काम गरेको दावी गरेको छ ।
जसमा नगरपालिकाको प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । यस्तै, छिन्चु बजार चोकदेखि इलाका प्रहरी कार्यालयसम्म, नगरपालिका कार्यालय हाता क्षेत्र र फोहरमैला प्रशोधन केन्द्रको सडक कालोपत्रे सम्पन्न गरिएको छ । नगरपालिकाका प्रमुख बजारहरुमा सरसफाई अभियानको थालनी गरी फोहोरमैला व्यवस्थापन गर्न अभियान सञ्चालन भएको छ, भने फोहोरमैला प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला आँखा अस्पताल सुर्खेत र नगरपालिकाको संयुक्त सहकार्यमा नेपाल रेडक्रस सोसाइटी उपशाखा छिन्चुमा आँखा उपचार केन्द्र स्थापना भई नियमित रुपमा आँखा उपचार कार्य सन्चालन भइरहेको नगर प्रमुख ढकालले बताए । यस्तै, छिन्चुमा सुविधा सम्पन्न छिन्चु बसपार्क निर्माण कार्य जारी छ ।
शिक्षातर्फ हिमशिखर बहुमुखी क्याम्पस रामघाटको भौतिक संरचना तथा भवन निर्माण कार्य सम्पन्न गरी फर्निचरसमेत व्यवस्था गरिएको छ, भने कृषि क्याम्पस रामघाटको ल्याव भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै, मावि मोहटी, मावि भर्याङ, मावि हर्रे, मावि च्यूरीगैरा, मावि झिलमिले, मावि छिन्चु, मावि किड्नी, मावि काँसीपुर, मावि लालिगुराँस, आवि अमिलाचौर, आवि तोलीखोली, आवि बबई हात्तीखाल, आवि शान्तिपुर, प्रावि बाउनीचौर, प्रावि ठूलोजावी, प्रावि गेरुवानी, प्रावि गोठेरीको विद्यालय भवन निर्माण कार्य सम्पन्न भएका छन् ।
चालु आर्थिक वर्षमा मावि सनिमीर तथा आवि मुरलीखोलामा भवन निर्माण कार्य सुचारु भइरहेको नगरपालिकाले जनाएको छ । ‘स्वास्थ्य पूर्वाधारतर्फ वडा नम्बर १ को भरयाङ्ग, वडा नम्बर २ को मोहटी र माथिल्लो लेखपराजुल, वडा नम्बर ४ को हर्रेमा नयाँ स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धि गर्ने कार्य अघि बढेको छ,’ नगर प्रमुख ढकालले भने । जहरेमा आयुर्वेद औषधालयको भवन निर्माण कार्य सम्पन्न भइ सोही भवनवाट सेवा प्रवाह सुरु भएको छ ।
त्यस्तै, चार विद्यालयमा शौचालय बनेका छन् भने चालु आर्थिक वर्षमा थप तीन वटा शौचालय निर्माणधिन अवस्थामा छन् । उनका अनुसार नगरपालिका भित्र आउने सेवाग्राहीहरुका लागि फिल्टर मेसिन जडान गरी शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । माथिल्लो भर्याङ स्वास्थ्य भवन निर्माण सम्पन्न हुँदा मैनतडा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य जारी छ ।
सबै वडामा सडक विस्तार
सडक पूर्वाधारतर्फ भेरीगंगा नगरपालिकाका सबै वडामा सडक विस्तार भएका छन् । साथै अति दुर्गम क्षेत्र मनिरामकाँडामा समेत सडक विस्तार भएको छ । सार्वजनिक भवनतर्फ जहरेमा प्रहरी चौकी भवन, वडा नम्बर ३ र ७ को वड़ा कार्यालयका भवन निर्माण कार्य जारी छ ।
त्यस्तै, मैनतडामा दलित संग्रहालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । खानेपानीका पूर्वाधारतर्फ बसेरी खानेपानी योजना, मैनटार खानेपानी योजना, सानो ढुंगी खानेपानी योजना, सानोहर्रे खानेपानी योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
यस्तै, बर्लेनी खानेपानी योजना, घारीवन खानेपानी योजना, जहरे खानेपानी योजना, घवानेल टोल खानेपानी योजना, हात्तीमुडे खानेपानी योजना, काउले खानेपानी योजना, मदानीचौर खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।
चालु आर्थिक वर्षमा आठ खानेपानीका निर्माणधिन अवस्थामा छन्, भने केही योजना मर्मत भएका छन् । नगरका विभिन्न स्थानमा सिंचाइ कुलो निर्माण तथा डिपबोरिङ्गबाट समेत सिंचाइ व्यवस्थापन गरिएको छ । खेल पूर्वाधारतर्फ मैनतडा रंगशाला निर्माण कार्य सुरु भएको छ ।
नगर प्रमुख ढकालका अनुसार औद्योगिक ग्रामको योजना पनि अघि बढेको छ । त्यस्तै, पर्यटन पूर्वाधारतर्फ बराहडाँडा, गिद्ददेडाँडा, देउतीबज्यै, दुर्गा मन्दिर, रामजानकी मन्दिर र रामजानकी शहिद पार्कमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।






