जुम्लामा हाई सिक्योरिटी मतगणना स्थल तयार : १० सिसी क्यामरा जडान

काली बहादुर परियार
जुम्ला ,२० फाल्गुन
फागुन २१ गते बिहिवार अर्थात भाेली हुने निर्वाचनलाई लक्षित गर्दै जुम्लामा यसपटक हाई सिक्योरिटी प्रवन्ध सहित मतगणना स्थल तयार गरिएको छ । विगतका निर्वाचन भन्दा फरक शैलीमा फलामे डण्डी जडित बलियो घेराबार, १० वटा सिसी क्यामरा र चौतर्फी निगरानी व्यवस्था सहित मतगणना स्थल निर्माण गरिएको हो ।
फागुन २१ गते हुने मतदान पछि सञ्चालन गरिने मतगणना लाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन विशेष तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
यसअघि २०७९ सालको निर्वाचनमा ग्यामिन तार जाली प्रयोग गरेर सामान्य घेराबार भित्र मतगणना गरिएको थियो भने त्यति बेला जम्मा ६ वटा मात्रै सिसी क्यामरा जडान गरिएका थिए । तर यसपटक सुरक्षा मापदण्डलाई थप कडा बनाउँदै संरचनात्मक सुधार गरिएको छ ।
सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाका अनुसार मतगणना स्थलमा ग्रिल उद्योगका दक्ष श्रमिक मार्फत फलामकै डण्डी वेल्डिङ गरी मजबुत घेराबार तयार गरिएको बताए । मतगणना स्थलको तयारी अन्तिम चरणमा पुगेको उनले भनाई छ ।
उनले भने, हामीले सुरक्षालाई उच्च प्राथमिकतामा राखेर घेराबार बलियो बनाएका छौँ । मतपेटिका राखिने स्थान देखि गणना टेबल र एजेण्ड बस्ने स्थान सम्मका सबै गतिविधि स्पष्ट देखिने गरी १० वटा सिसी क्यामरा जडान गरिएको तिमिल्सिनाकाे भनाइ छ ।
उनका अनुसार मतपेटिका भण्डारण कक्ष, गणना कक्ष र प्रवेश, निष्कासन बिन्दुमा विशेष निगरानी रहनेछ । सुरक्षाकर्मीको उपस्थिति, परिचयपत्र अनिवार्य जाँच तथा सीमित व्यक्तिलाई मात्र प्रवेश अनुमति जस्ता प्रावधान लागू गरिने तयारी रहेकाे छ ।
निर्वाचन कार्यालयले यसपटक पारदर्शिता र विश्वसनीयतामा कुनै प्रश्न नउठोस् भन्ने उद्देश्यले प्रविधि र संरचनात्मक सुरक्षामा जोड दिएको जनाएको छ । मतगणनाका क्रममा देखिन सक्ने सम्भावित विवाद, अनावश्यक भीडभाड र अवाञ्छित गतिविधि नियन्त्रण गर्न फलामे घेराबार प्रभावकारी हुने विश्वास गरिएको छ ।
यता जिल्लाभरिका ११० वटै मतदान केन्द्रको तयारी पनि पूरा भइसकेको छ । मतदान केन्द्र निर्माण, आवश्यक सामग्री व्यवस्थापन, स्वयंसेवक नियुक्ति, सर्वदलीय बैठक सम्पन्नलगायतका सबै पूर्वतयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताइएको छ । मतदानको दिन र त्यसपछिको मतगणना अवधिभर शान्ति–सुरक्षा चुस्त बनाइने तयारी छ ।
स्थानीय तहदेखि जिल्ला स्तर सम्म निर्वाचन प्रति चासो बढिरहेको अवस्थामा मतगणना स्थलको कडा सुरक्षाले मतदातामा विश्वास बढाउने अपेक्षा गरिएको छ । विगतका अनुभवबाट सिक्दै यसपटक प्रविधि र भौतिक संरचनाको संयोजनमार्फत जुम्लामा सुरक्षित र पारदर्शी मतगणनाको आधार तयार गरिएको निर्वाचन अधिकारीहरूको दाबी छ ।






