कर्णाली प्रदेश सुर्खेत क्षेत्र नं. १ मा ठम्मर बहादुर बिष्टप्रति जनसमर्थन बढ्दो

सुर्खेत ,२० माघ।
कर्णाली प्रदेश सुर्खेत क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार ठम्मर बहादुर बिष्ट जनताले रुचाएको नेताको सूचीमा पर्न थालेका छन्। स्थानीय बासिन्दाका अनुसार बिष्टले विगतमा जनप्रतिनिधि भएर देखाएको कार्यसम्पादनकै कारण अहिले पनि आम नागरिकले उनलाई सकारात्मक रूपमा सम्झिरहेका छन्।
बिष्ट २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भई जनताको सेवामा सक्रिय रहेका थिए। हाल उनी नयाँ पार्टी उज्यालो नेपालका कर्णाली प्रदेश संयोजकसमेत हुन्। सांसद रहँदा उनले वर्षौंदेखि अघि बढ्न नसकेका विभिन्न फास्ट ट्र्याक र सडक योजनालाई गति दिएका थिए। दाप्चा–धारापानी फास्ट ट्र्याक, राकम–ठिग्नी, देउली सिर्पा– काफलकोट लगायत मेहेलकुना–बडाखोली सडकखण्डलाई पक्की सडकमा रूपान्तरण गरिएको स्थानीयले स्मरण गरेका छन्।
त्यसैगरी, आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रायः सबै माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरूमा भवन निर्माण तथा आवश्यक संरचना विस्तार, खानेपानी एवम् सिचाईको क्षेत्रमा उल्लेखनीय काम सम्पन्न भएको र सिम्ता तथा गुर्भाकोट क्षेत्रका अधिकांश स्थानमा खोला तथा नदि तटिय क्षेत्रमा तटबन्धन निर्माण जस्ता महत्वपूर्ण योगदान, मेहेलकुना अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गर्दै सेवा प्रवाहलाई आधुनिकीकरण गर्नुजस्ता कामहरू बिष्टको कार्यकालका उल्लेखनीय उपलब्धिका रूपमा जनताले मूल्यांकन गरिरहेका छन्।
गुर्भाकोट नगरपालिका भित्रका विभिन्न वडामा मात्र नभई कर्णाली प्रदेश क्षेत्र नं. १ भरि नै बिष्टको चर्चा चुलिएको देखिन्छ। यद्यपि, नयाँ पार्टीबाट उम्मेदवारी दिएका कारण चुनाव चिन्ह बुझ्न जनतालाई केही गाह्रो भएको चिन्ता स्थानीयले व्यक्त गरेका छन्। तर पनि उनी अनुभवी र काम गर्न सक्ने नेता भएको विश्वास आम मतदातामा रहेको बताइन्छ।
स्थानीयका अनुसार, पार्टीभन्दा माथि उठेर काम गर्ने नेतृत्वको खाँचो रहेको यस समयमा ठम्मर बहादुर बिष्टको विगतको कार्यसम्पादन नै उनको मुख्य परिचय बनेको छ।






